नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २०५९ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या एक लाख नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, हालसम्म १ लाख ६७६ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ६०० जनाको मृत्यु भएको छ भने ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १६८० जना संक्रमणमुक्त भएका छन् । देशभर २७ हजार ५३ संक्रिय संक्रमित छन् ।
यसैबीच, नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीकी ८५ वर्षीया महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा बिहीबार राति ९ बजे कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई श्वासप्रश्वास सम्बन्धी समस्यासँगै कोरोनाको संक्रमण थियो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । दैनिक संक्रमण बढ्दो छ ।