बाँकेको नरैनापुर स्थित इलाका प्रहरी कार्यालय भगवानपुरले दुई जनालाई दुई थान पेस्तोल सहित मंगलबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज, प्रहरी निरीक्षक बसन्त गौतमले सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा सलिम नाउ र इब्राइम बेहनालाई नरैनापुर–५ सरवराजपुरवाबाट पक्राउ गरेको हो । उनीहरु मनिकापुर र बसुदेवपुरका बासिन्दा हुन् ।
उनीहरुबाट पेस्तोलमा लाग्ने दुई थान गोली समेत हात परेको छ । प्रहरी निरीक्षक गौतमले अवैध रुपमा राखिएको पेस्तोलबाट के, कस्ता आपराधिक घटना घटाउन खोजिएको थियो भन्ने जानकारी दिएका छन् । कानूनी प्रमाणीकरण बाहेक राखिएको हतियार अवैधानिक सहर हुने कानूनी प्रावधान विपरीत बाँकेमा पटक पटक अवैध हतियार बरामद हुँदै आएको छ । खुल्ला सिमाना, असुरक्षाको अवस्था र वन जंगलमा भइरहेकोको चोरी शिकारीले बाँकेमा अवैध हतियारको अवस्था भयावह रहेको देखाएको हो ।
भारतबाट भित्रिने यस्ता अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियार सुरक्षा चुनौती बन्दै गएको पाइएको छ । विभिन्न स्थानमा भएको आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पनि कटुवा पेस्तोलको प्रयोग बढ्दो छ ।