बर्दिया/भावुक योगी
(कोभिड१९) कोरोना भाइरसका कारण देशभरका पर्यटकिय क्षेत्र सुनसान छन् । कोरोनाकै कारण यतीबेला बर्दिया निकुञ्ज भित्र पनि पर्यटकिय गतिविधि ठप्प छ । बर्दिया निकुञ्ज क्षेत्र आसपास सुनसान छ । यही मौका छोपेर बर्दिया निकुञ्जमा वन्यजन्तु तस्करहरु सलबलाउन थालेका छन् ।
एक साता अघि बर्दिया निकुञ्ज भित्र तस्करले थापेको पासोमा पाटे बाघ परेपछि निकुञ्जमा वन्यजन्तु तस्कर सक्रिय रहेको पुष्टि भएको देखिन्छ । निकुञ्ज भित्रको लमकोहली फाँटा क्षेत्रमा तस्करले चित्तलका लागि थापेको पासोमा परेर मरेको अर्ध वयस्क पाटे बाघ फेला परेको थियो । पासोमा परेको बाघ फेला पर्दा बाघ सडिसकेको थियो ।
निकुञ्जका अनुसार मृत बाघ फेला परेको स्थान निकुञ्जको मुख्यालयबाट करिव १० किलोमिटर टाढा पर्छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको सुरक्षा पोष्ट झण्डै ३ किलोमिटरको दुरीमा पर्छ । बाघ पासोमा परेर सड्ने अवस्थासम्म पुग्दा निकुञ्ज प्रशासन र सेनाले थाहा नै पाएन । जब थाहा पाए तबसम्म बाघ सडेर गन्हाउने भइसकेको थियो ।
पासोमा परेर पाटे बाघ मरेपछि निकुञ्ज प्रशासन ठूलो क्षती भएको भन्दै चित्त दुखाई गरिरहेको छ । बाघलाई पासोमा पार्ने गिरोहको खोजी भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको सुरक्षार्थ निकुञ्ज भित्र नेपाली सेनाको ३५ र निकुञ्ज कर्मचारीको ३१ वटा सुरक्षा पोष्टहरु छन् ।
बाघलाई पासोमा पारेको घटनाले बर्दिया निकुञ्ज भित्र तस्करहरुको चहपलपहल बढेको तथ्य प्रष्ट भएको स्वयम संरक्षणकर्मीहरु बताउँछन् । पासोमा परि बाघ मरेको घटनाले निकुञ्ज सुरक्षामा थप चुनौती थपिएको निकुञ्ज प्रशासनले जनाएको छ । चैत्रमा लकडाउन भएदेखि निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता पनि बढाएको जनाएको छ ।
तस्करी रोक्न निकुञ्ज प्रशासनले अहिले सेना र निकुञ्जका कर्मचारी परिचालन गरि निकुञ्ज भित्र स्विप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङ जस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।
कोरोनाका कारण कामका लागि बाहिर गएका व्यक्ति पनि घर आएका छन् । तिनिहरु मध्ये केही व्यक्ति नराम्रो गतिविधीमा लागेको निकुञ्जको आशंका छ । वन्यजन्तुको चोरीशिकारको आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती थपिएको हुन सक्ने भएकाले त्यस्ता व्यक्तिहरुको निगरानी बढाएको निकुञ्जको भनाई छ ।
देशभर लकडाउन सुरु भयो त्यसयता वन र वन्यजन्तु तस्करीमा संलग्न झण्डै ७ सय जनाभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको निकुञ्ज जनाएको छ । पक्राउ परेकाहरु मध्ये १५० भन्दा बढीलाई विभिन्न कसुरमा मुद्दा चलाइएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।
वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयत्रलाई प्रभावकारी बनाएको र चोरीशिकार, निकुञ्ज छेवैँमा बनाइएका सिँचाइका संरचना र राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्नु वन्यजन्तु सुरक्षाका चुनौती रहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो । निकुञ्ज भित्र अति संवेदनशिल क्षेत्रमा क्यामेराहरु पनि जडान गरिएका छन् । निकुञ्जको क्षेत्र भित्र पर्ने राजमार्गमा पनि ठाउँठाउँमा क्यामेरा जडान गरेर वन्यजन्तु र तस्करहरुको निगरानी गरिरहेको निकुञ्जले जनाएको छ ।
वन तथा वन्यजन्तुको तस्करी रोक्न सेनाको गण र पोष्टहरुबाट नियमित रुपमा पट्रोलिङ (गस्ती) र स्विप अपरेशन हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । लकडाउनको बेला समुदायस्तरको काम रोकिएको र कार्यालयमा पनि काम धेरै नहुने भएकाले अधिकांश कर्मचारीलाई निकुञ्जको गस्तीमै परिचालन गरिएको बताइएको छ ।
निकुञ्जमा पर्यटक छैनन् । जंगल सफारी पनि बन्द छ । निकुञ्ज सुनसान भएकाले वन्यजन्तुहरु अरु बेलाको तुलनामा छ्याछ्याप्ती देखिन्छन् । यसैको मौका छोपेर तस्करहरु सलबलाउन थालेपछि निकुञ्जले सुरक्षामा पनि विशेष योजना बनाएर अघि बढेको निकुञ्जको भनाई छ । ‘वन र वन्यजन्तुको तस्करी रोक्न हामी निकै संवेदनशिल भएर लागेको छौँ । वन्यजन्तु जोगाउने सुरक्षा चुनौती त छ, यसलाई रोक्न विशेष योजनाका साथ निकुञ्ज प्रशासन अघि बढेको छ ।’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने ।








