असल संस्कारको आवश्यकता

अहिले हरेक क्षेत्रमा बेथिती छ, कामको प्रकृति र व्यापकता हेरी भनसुन, चाकडी, कोसेली, आर्थिक लेनदेन नभई कुनैकाम हुँदैन। शुरुवातमा मालपोत र नापी जस्ता भिडभाड हुने ठाउँमा यो बेथितीले प्रशय पायो बिस्तारै यातायात, प्रशासन लगायत तिर फैलिदै अहिले हरेक क्षेत्रमा जरा गाडीसकेको छ। हुनसक्छ कुनैबेला हामीबाटै यसलाई  मल-जल भयो होला, आज आँफै यसैबाट पीडित भएका छौँ । 

पृष्ठभूमि

एक व्यक्तिबाट शुरु हुने सांख्यीक बृद्दिबाट नै चरणबद्द रुपमा परिवार, समाज र देश निर्माण हुँदै जाने हो। कुनैपनी परिवार, समाज र देश जस्तो व्यक्तिहरु बाट बनेको छ त्यस्तै प्रकृतिको हुन्छ। व्यक्तिको सोँच र आचरण परिवार, समाज हुँदै देशव्यापी हुँदै जान्छ। सोँचले नै समग्रमा कस्तो बातावरण सिर्जना गर्ने हो त्यसमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ। 

सकारात्मक सोंचले जो कोहिको आचरणमा पनि सकारात्मकता ल्याउछ। हरेक व्यक्तिको सोंच र आचरण सकारात्मक हुनु  सभ्य र सुन्दर परिवार, समाज र देश निर्माणको आधार हो।

विडम्बना ! हामीले कल्पना गरे भन्दा बिपरित छ हाम्रो परिवेश र समग्र देशको अवस्था! हरेक क्षेत्रमा बेथिती छ, कुशासन को जगजगी छ, बिना लाभ कसैको कुनै काम गरिदैन। स-साना काम पनि भनसुन-सिफारिस या लेनदेन बिना हुँदैनन। कुशासन को यही घिनलाग्दो उपस्थितिले हरेक दृष्‍टिकोणले बिकासको अग्रपंतीमा हुनुपर्ने हाम्रो देश पुछारतिर अलमल्लिरहेको छ। 

जबसम्म हरेक क्षेत्रबाट कुशासन जरैदेखी निमिट्यान्न हुँदैन तबसम्म दिगो र सबल समृद्दि प्राप्ती हुँदैन, देश विकासपथ मा अगाडी बढनै सक्दैन। यसमा सबैको सामुहिक योगदान जरुरी छ, व्यक्तिगत रुपमा सबै इमान्दार हुनै पर्छ। तसर्थ समुन्नत समाज निर्माणका खातिर जिम्मेवार बनौ, आजै देखी सुशासन खोजौं यसका बारेमा कुरा गर्ने शुरु गरौँ। 

समस्या:

हामी यस्तो समाजका हिस्सा हौँ जहाँ सदियौं सम्म फरक-फरक कालखण्डमा फरक-फरक वंशवाद बाट शासित भयौं। हरेक वंशका केही मुल्य-मान्यता केही फरक रहे होलान तर सबैले राम-राज्य कै दुहाई दिएर शासन गरे। शासक र शासित को बिचमा देवता र भक्त जस्तो सम्बन्ध स्थापित गरियो। शासकको  एक-एक आदेशलाई धर्मसँग जोडीयो, आदेश को आदर-अनादर लाई पुण्य-पाप को रुपमा हेरिन्थ्यो। कालान्तरमा शासकहरु देवताबाट मालिक मा झरे शासितहरु नोकर मा परिणत हुँदै गए, देवत्व बिस्तारै दासत्व मा परिणत हुँदै गयो। 

आज सदियौं पछी पनि हामीमा दासत्वको धङ्धङी कायमै छ, जमाना   कहाँ बाट कहाँ पुग्यो तर पनि शासक र शासित बिचको खाडल उस्तै छ। शासक देवता या मालिक हो भन्ने मानसिकता बाट हामी ग्रसित छौँ। शासकको चाकडी लाई हामी कर्तव्य या धर्मको नाम दिन्छौं। हामीले किम्वदन्तीहरुमा सुनेको या प्राचिन पुस्तकमा पढने गरेको राम-राज्य को सुशासन क्रमश अहिलेको कुशासन मा परिणत हुनुमा मुख्यत त्यही दास मानसिकता नै जिम्मेवार हो जस्तो लाग्छ। 

कोसेली को पोकोले हुन्छ कि? अरुका कुरा लाएर हुन्छ कि?  चाकडी  का बिविध प्रक्रिया अपनाइ अरुभन्दा आफु नजिक हुने कोशिश ले नै सुशासन भित्र बेथिती लाई मल-जल गर्छ जुन बिस्तारै कुशासन तिर उन्मुख हुन्छ। यसको जिम्मेवार तपाईं हामी नै हौँ। 

अहिले हरेक क्षेत्रमा बेथिती छ, कामको प्रकृति र व्यापकता हेरी भनसुन, चाकडी, कोसेली, आर्थिक लेनदेन नभई कुनैकाम हुँदैन। शुरुवातमा मालपोत र नापी जस्ता भिडभाड हुने ठाउँमा यो बेथितीले प्रशय पायो बिस्तारै यातायात, प्रशासन लगायत तिर फैलिदै अहिले हरेक क्षेत्रमा जरा गाडीसकेको छ। हुनसक्छ कुनैबेला हामीबाटै यसलाई  मल-जल भयो होला, आज आँफै यसैबाट पीडित भएका छौँ। 

यसमा एउटा प्रसँग जोडन चाहन्छु- देश अहिले महामारीको चपेटामा छ। हाम्रो जस्तो गरिव देशलाई आर्थिक समस्या हुनु स्वाभाविक हो, सिमित स्रोत-साधनले सबै व्यबस्थापन गर्नु चुनौतिपूर्ण छ। राज्यले सबै क्षेत्रलाई समान नजरले हेर्नुपर्छ, सबैको समस्या सम्बोधन गर्नुपर्छ। 

पहिलो प्राथमिकता रोग र भोक ले पाउनुपर्छ। सन्क्रमणमा परेका हरुको उचित स्याहार को व्यबस्थापन र महामारीका कारण भोकै बस्नु परेका अती बिपन्न हरुलाई दुईछाक खाना को प्रबन्ध गर्नु अहिलेको प्रमुख आवश्यकता हो। 

तर ! यहाँ त उल्टो पो हुँदैछ! एकातिर अव्यबस्थित क्वारेन्टाइन, सन्क्रमित पहिचानको भद्रगोल प्रणाली, जाँच किटको प्राय अभाव, महामारी  कै कारण रोजगारी गुमाएका हरुलाई भोकको चिन्ता छ, उनिहरु लक्षित कुनै ठोस योजना आएको छैन भने अर्कोतिर भएका साधन वितरणमा अपारदर्शी व्यबस्था र आवश्यक र अपुग साधनको जोहो गर्नेतिर देखिएको उदासिनता र लापरवाही अत्यन्त निन्दनिय छ। आवश्यक सामाग्री खरिद गर्दा रकम अभाव भएको हवाला दिइन्छ तर विलासि गाडीहरु सहजै किनिन्छन। पहुँचवालाको आवश्यकता बिनापनि शंका निवारण कै लागि भएपनी सहजै जाँच हुन्छ तर एउटा सामान्य व्यक्तीले निशुल्क पि सि आर परिक्षण बिना भनसुन सहजै गराउनै मुश्किल छ। 

यस्तो तल्लोस्तरको बेथितीले देश र समाज कुन दिशा तिर अगाडि बढछ? विश्व माझ हाम्रो छवि कस्तो होला? न्युनतम मानविय मानक को पालनामा यस्तो भद्रगोल? यिनै र यस्तै खाले प्रश्नले मन बिचलित  बनाउछ। सरकार र राज्यको शासनप्रणाली लाई चोर औंला देखाउने ईच्छा हुन्छ। 

समाधान:

बेथिती र कुशासन यस्ता दिर्घरोग हुन जसबाट देश र समाज बेस्सरी  थलिन्छन। सहि र समयमै उपचार नभए बर्बादी निश्चित हुन्छ। नागरिकस्तर बाटै बेथिती र् कुशासन बिरुद्द पहलकदमी हुन जरुरी छ। सुशासन प्राप्तीमा नागरिकको भूमिका के हुनुपर्छ? हरेकको व्यक्तिगत योगदान के हुनसक्छ? सबल र चिर-स्थाइ सुशासन स्थापित कसरी गर्ने? भन्ने बारेमा गम्भिर सोच्ने मात्र होइन अब केही गर्नेबेला भईसक्यो अब पनि नगरे कहिले गर्ने? भावी सन्तति लाई कस्तो देश-समाज हस्तान्तरण गर्ने ?

देशमा व्याप्त कुशासनलाई जरैदेखी उखेलेर फाल्न हरेक नागरिकको दृढ इच्छाशक्ति र ईमानदार पहल आवश्यक छ। हरेक किसिमका बेथिती र कुशासन विरुद्द शुन्य सहनशिलता को मापदण्ड अपनाइ  हरेक वडास्तर मा खबरदारी समुह मार्फत नियमित र सशक्त अभियान जरुरी छ। 

त्यस्ता कुकृत्यमा संलग्न  हरेकलाई सामाजिक रुपमै बहिस्कार गर्ने परिपाटीको थालनी गर्नुपर्छ। उनिहरु सँग आउ-जाउ, उठबस, लेनदेन, बिहेबारी लगायत (हुक्का-पानी) बन्दगरी सामाजिक अपराधबोध हुनेगरी नैतिकता को पाठ पढाउनै पर्छ। 

एक किसिमको लज्जा, आत्मग्लानी, घोर अपराधबोध हुने वातावरण सिर्जना गर्नैपर्छ। जसबाट जो कोहीपनि  त्यसतो घृणित कार्यमा संलग्न हुनुअघी दश चोटि सोच्न वाध्य हुन। 

त्यसैगरी आफ्ना सन्ततिहरु लाई उपरोक्त घृणितकार्य विरुद्द सानैदेखी लाग्न उत्प्रेरित गर्नुपर्छ। आफुले नगर्ने र अरुले गरेको पटक्कै नसहने शिक्षा दिनुपर्छ। 

नयाँ पुस्तामा यस किसिमको संस्कारको विकास हुने बित्तिकै बेथिती र कुशासन ईतिहास बन्न बेर लाग्दै लाग्दैन। हामी सबै ईमानदार भएर आ-आफ्नो ठाउँबाट फलदायी योगदान दियौं भने हामीले कल्पना गरेको जस्तो सुशासन हाम्रो पालामा सम्भव छ। सुशासन पछी अनुभव गर्न सकिने समृद्दि पनि हाम्रै पालामा सम्भव छ। 

प्रतिक्रिया

प्रतिक्रिया