सिक्टाले सिंचाईः धान काट्दै किसान

नेपालगन्ज–१९ फुटाहा, बाँकेकी साहिबा नसरुल यस वर्ष असोजको पहिलो सातानै धान काट्ने तयारीमा थिइन्, झरीले रोक्यो । उनका छिमेकीले विहीवारनै धान काटेपनि पानी परेर काटेको धान भिजेपछि रोकियो । ‘अब दुई दिन राम्रो घाम लागेपछि धान काट्ने हो,’ शनिवार खेतमै भेटिएकी उनले भनिन् ।


नसरुल जस्तै बाँकेका विभिन्न गाउँका किसान यसपटक छिट्टै धान काट्ने तरखरमा छन् । आकासे पानीको भरमा दशकौंदेखि सास्ती भोगेका किसानहरुले यसपाली सिक्टाको पानीबाट नियमित सिंचाई पाएपछि समयमैं धान पाकेको हो । ‘धान राम्रो पनि फलेको छ,’ नसरुलले भनिन् ।


बाँकेका किसानको उत्पादन बढाएर भाग्य र भविष्य बदल्ने आशा गरिएको सिक्टा सिंचाई आयोजनाबाट यसपाली १६ हजार हेक्टरमा पानी उपलब्ध गराइएको हो । आयोजना प्रमुख लोक बहादुर थापाका अनुसार, ६५ प्रतिशत काम सकिइसक्दा यसवर्षदेखि धानखेतीलाई ब्याड राख्नेदेखिनै पानी उपलब्ध गराइएको हो ।


२०७० सालमैं सक्ने आयोजना बिक्रम सम्बत २०६२ सालदेखि सुरु भएको हो । १२ अर्ब ७० करोड लगानी अनुमानबाट सुरु भएको सिक्टामा १६ अर्ब खर्च हुँदा ६० प्रतिशत कार्यसफलतामा पुगेको छ । समय घर्किंदै जाने हो भने बाँकी ४० प्रतिशत काम सक्दा लगानी दोब्बर पुग्ने अनुमान छ । जबकी उपलब्धीका दृष्टिले अबको काम अझै महत्वपूर्ण छ ।


नेतृत्वमा दृढ इच्छाशक्ति भयो भने, जतिसुकै अप्ठ्यारो चिरेर सुखद परिणाम हासिल हुन समय लाग्दैन । नेपाल सरकारको एउटा निर्णयले अन्योलता चिरेपछि बाँकेका किसानको भाग्य र भविष्य ठानिएको राष्ट्रिय गौरबको आयोजना सिक्टा सिंचाई आयोजनाले त्यही सन्देश दिन सफल भएको हो ।

गत वैशाख ३ गते भेरी बबई डाइभर्सन आयोजनाको ब्रेक थ्रु गर्न आएका बेला प्रधानमन्त्री केपी शर्मा ओली, सिँचाइ मन्त्री वर्षमान पुनलगायत नेपाल सरकारका उच्च अधिकृतहरूले सिक्टा सिँचाइ आयोजना मूलनहरको हवाइ निरीक्षण गरे । त्यसपछिको एउटा टेलिभिजन कार्यक्रम ‘जनतासँग प्रधानमन्त्री’ मा प्रधानमन्त्री ओलीले गर्नु भएको प्रतिबद्धता कार्यान्वयनमा आएपछि सिक्टा नयाँ चरणमा प्रवेश गरेको हो । ‘सिक्टाका अधिकारी भन्छन्, प्रधानमन्त्रीको हवाई निरीक्षणले सिक्टालाई नयाँ ज्यान दियो ।’


नेपाल सरकार मन्त्रिपरिषदको वैशाख १२ गतेको बैठकले आयोजनाको क्षतिग्रस्त खण्ड मर्मत तथा सुधार गर्ने निर्णय गरेको जानकारी तत्कालिन प्रवक्ता गोकुल बास्कोटाले दिंदा कार्यान्वयनको अविश्वास गर्नेहरु कम थिएनन् । त्यतिबेला ९ महिनादेखि अलपत्र अवस्थामा रहेको मूलनहरको मर्मत तथा सुधारको काम सुरु हुने कुरामा धेरै अविश्वास गरिएका थिए । तर, त्यसो भएन, जनतासँग प्रधानमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयनमा आउँदा अहिले बाँकेका किसानमा उत्साहको सञ्चार भएको छ ।

यो खुशी, आयोजना सुरु गरेको झण्डै १५ वर्षपछि सम्भव भएको हो । बाँकेका डुडुवा, जानकी र कोहलपुरक्षेत्रको १६ हजार हेक्टर जमिनमा सिक्टाको पानीले यसवर्ष पहिलो पटक ब्याड राख्नेदेखि धान रोप्न सिंचाई सुविधा उपलब्ध भयो । बाँकेको ५७ हजार हेक्टर खेती योग्य जमिन मध्ये ५२ हजार हेक्टरमा नियमित कृषि उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांकले भन्छ । तर, आकाशे पानीका भरमा हुने उत्पादन व्यवसायिक हुन त सकेको छैन नै निर्भाहमूखिपनि हुन सकिरहेको छैैन । किसानहरु भन्छ्न, सिक्टाबाट यसरीनै पानी पाइयो भने दोब्बर उत्पादन निश्चित छ ।’ कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले नियमित सिचाईंले कम्तिमा २५ प्रतिशतदेखि तीन गुनासम्म उत्पादन बढ्ने बताए ।


५० क्यूमेक्स क्षमताको मूल नहरमा यतिबेला पनि ४ क्यूमेक्स पानी बगिरहेको छ । यसबाट कतिपय किसानले आवश्यकताका आधारमा मूल नहरबाटै प्रविधिको प्रयोग गरि तरकारी खेतीमा सिंचाईं सुविधा लिइरहेको देख्न सकिन्छ । सिक्टाको पानीबाट धानखेती गरेका पूर्वी मूल नहरको सिधनिया शाखा, डुडुवा र जानकीका किसानहरु अहिलेसम्मनै छिटो असोजको दोस्रो साता धान भित्र्याउने तरखरमा देखिन्छन् ।


बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सिँचाइ आयोजना शुरु गरिएको हो । अगैयाबाट (दायाँतर्फ) कोहलपुर नगरपालिका र नेपालगन्ज उपनगरपालिकालगायत साविक ३४ गाविस र (बायाँतर्फ बिनौना, बैजापुर, फत्तेपुर, गङ्गापुर, मटेहिया, नरैनापुर, कटकुईया, कालाफाँटा र लक्ष्मणपुर गरी नौ साविकका गाविस अर्थात् राप्ती सोनारी र नरैेनापुर गाउँपालिका पर्छन् ।

एक तथ्यांक अनुसार, सिँचाइ सुविधा नपुग्दा बाँकेवासीको सरदर प्रतिव्यक्ति आम्दानी रु एक हजार ४९२ छ । जमीनमा नियमित सिँचाइ पुग्दा प्रतिव्यक्ति आम्दानी दोब्बर अर्थात् रु दुई हजार ५६५ पुग्नुका साथै बाँझो जमीन पुनःप्रयोगमा समेत आउँने सम्बद्धहरुको दावी छ । अहिलेपनि बाँकेका ४६ हजार ७१५ घरधुरीका चार लाख ४९ हजार ५८८ जनसंख्याको जीवनको आधार कृषि हो । जिल्लाको ५७ हजार खेती योग्य जमिन मध्ये ५२ हजार हेक्टरमा नियमित कृषि उत्पादन भइरहेको भएपनि किसानलाई लगानी अनुसारको प्रतिफल छैन ।


आर्थिक वर्ष २०७६ ÷०७७ सम्ममा २५ अर्ब २ करोडको लागतमा आयोजना पुरा गर्ने लक्ष्य राखिएको थियो । तरपनि, हाल सम्म ब्यारेज तथा पश्चिम क्षेत्रको मुल नहर निर्माणको काम सम्पन्न गरि करिब २१ सय हेक्टर सिचाई सुबिधा पुर्याउने सिधनिया शाखाको काम सकिएको छ । आयोजना प्रमुख थापाका अनुसार, त्यही शाखाबाट १६ हजार हेक्टरमा सिंचाई सुविधा उपलब्ध गराइसकिएको हो ।

राज्यको आफ्नै लगानीमा शुरु भएको सिक्टा सिंचाईं आयोजनामा राज्यले चाह्यो भने आउने वर्षनै ठुलो उपलब्धी दिनसक्ने देखिन्छ । २०७५ साउन ७ गते चंगाई खोला नजिकै भत्किएको मूलनहरको मर्मत संहारलाई लिएर उत्पन्न अन्योललाई चिरेर अगाडी बढेजस्तै शाखा नहर निर्माणलाई तिब्रता दिने र आयोजना छिट्टै सक्नेतर्फ सरकारको ध्यान पुग्नुपर्छ । ‘शाखा नहरहरु निर्माण गरेर छिटो भन्दा छिटो किसानको खेतबारीमा सिचाई सुबिधा पुर्याउने तर्फ आयोजनाले ध्यान दिन जरुरी छ,’ अगुवा किसानहरु भन्छन् ।


सिक्टा सिंचाइ आयोजना जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम डाँगीले नहर निर्माणमा देखिएका सबैखाले अन्योलता अन्त्य गरी सिक्टाको नहरबाट खेतबारीमा सिँचाइ गरी खाद्यान्न उत्पादन बृद्धि गर्ने बाँके बासीको वर्षौँदेखिको चाहना छिटो भन्दा छिटो पुरा हुनु पर्ने बताए ।
सिक्टा बनेपछि पहिलो चरणमा बाँकेको करिब ३४ र दोस्रो चरणमा ९ हजार गरेर करिब ४३ हजार हेक्टर क्षेत्रमा वर्षभरि नै भरपर्दाे सिँचाइ सुविधा पुग्ने योजनामा उल्लेख छ । सम्बद्ध विज्ञहरुका अनुसार, उत्पादन र उत्पादकत्वमा करिब २ गुणा वृद्धि भइ एकैसाथ ४६ हजार ७ सय १५ घरपरिवारका करिब ४ लाख ५० हजार सदस्य प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । सिंचाइ उपलब्धता भएमा सुक्खा र खडेरीको अन्त्य भइ उत्पादन र उत्पादकत्व वृद्धि हुने जस्ले किसानको आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

आयोजनाले करिब ४५ किलोमिटर मूल नहर निर्माण गरिसके पनि शाखा नहर निर्माण नहुँदा बाँकेका किसानहरूले सिँचाइ सुविधा पाउँन सकेका छैनन् । अहिलेपनि राप्तीको अगैयास्थित राप्ती नदिको पानी मूल नहर हुँदै ४५ किलोमिटर पश्चिम पानी जेठी नालाबाट बगिरहेको छ । यो पानी छिटोभन्दा छिटो किसानका खेतमा पुग्न सकोस् । आकासे पानीका भरमा रहेका लाखौं किसानले सिंचाइ उपलब्धताबाट सुक्खा र खडेरीको अन्त्य भइ उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकुन् । जस्ले बाँकेका किसानमा आर्थिक समृद्धिको ढोका खोल्ने सरकारको योजना सफल हुन सकोस् । ‘आगामी वर्षसम्म शाखा नहरहरु निर्माण गरि किसानका खेतमा पानी पु¥याउन हामी प्रतिबद्ध छौं,’ आयोजना प्रमुख थापाले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया