सृष्टिकर्ताले पृथ्वी बनाइ त्यसलाई पहाड नदी झरना विभिन्न जनावर चराचुरुंगीबाट सजाइ यसको सौन्दर्यता बढाए । यो सौन्दर्यताबाट आनंद लिन सर्वश्रेष्ठ प्राणी भनेर मानवलाई पठाए । जुन मानवले धरतीमा आइ यसलाई विधिवत चलाउन आफ्नो कबीला ,गिरोह र समुहबाट आफ्नो लागि जोडीवाल (जीवनसाथी) खोजी आफ्नो वंश र जीवन अगाडि बढाउदैं लगे जसका आधारमा कायम गरिएका नातालाई वैधानिक नाता भनियो , जसलाई वैवाहिक नाता पनि भनियो । तर एकाइसौं शताब्दीमा यसलाई यति जटिल बनाईयो कि मानिसले विवाह भन्दा अनैतिक सम्बन्धलाई बढी सहज ठान्न थालेछन् । कानून र धर्मले सामान्य तरिकाले मश्जिद, मन्दिर गुरुद्वारा र चर्चमा गर भन्ने विवाहलाई मान मर्यादा,आधुनिक देखावटीपनकुछ नाममा लेनदेनको व्यापार बनाइयो ।
विवाह समारोहमा गरिने तामझाम हेर्दा अहिले समाज कुन दिशा तर्फ जादैंछ भनी सहजै अनुमान गर्न सकिन्छ । देशमा यतिका कानून र कानूनी व्यवस्था हुदांहुदैं अहिले समाजमा विकृति विसंगति र अपराध बढ्दो क्रममा छ । ती अपराध र विकृतिहरु बढ्नु पछाडि विभिन्न कारणहरु छन् । हामी तिनै कारणहरु र ती कारणहरुलाई हटाउन गर्न सक्ने पहल बारे पनि चर्चा गर्नेछौं जसमा आज दाईजोप्रथालाई मुख्य शीर्षकको रुपमा प्रस्तुत गरिएको छ।
हुन त तराईमा अधिकांश मुस्लिम ,मधेशी र थारु समुदायको बसोबास र बाहुल्यता रहेको छ । जसको फलस्वरूप एक अर्को समुदाय बीच धेरै सामाजिक मुल्यमान्यताहरु साझा र एकरुपता छन् । हामीले हेर्ने हो तराईमा अहिले विवाह गर्दा बेहुला पक्षले यतिका माग र शर्त राख्दिने गरेकाछन् कि गरीब परिवारका छोरीको विवाह गर्नु आकाशे तारा भइदिएछ । केटा जति पढे लेखेको हुन्छ उसको घरवालाको भाव त्यतिनै आकाशीयको हुन्छ । अझ केटा कुनै राम्रो कम्पनी वा सरकारी जागिरे वा ठुलो व्यापारी भइदियो त उसको परिवारको शर्त र माग अझ बढी हुनेगर्छन् ।
आज हामीले समाजमा विद्यमान रीतिरिवाजका नाममा भोग्न बाध्य समस्याहरुका बारे पनि चर्चा परिचर्चा गर्नेछौं । हुन त महिलाको स्थान हरेक धर्ममा उच्च छ तथापि अरु समुदायको देखासिकी गरेर मुस्लिम र मधेशी समुदायले ती मुल्यमान्यता र नीतिनियमहरु छाड्दै गइरहेका छन् । महिलाहरु अवस्था र समस्या नेपालका सबै समुदायमा समान नै छ।
मुस्लिम र मधेशी समुदायकामा हाल छोरीलाई बोझको रूप लिन थालेछन् किन भने छोरी अर्काको घर जाने जात हो । बिना दाईजो छोरीका लागि राम्रो घरमा राम्रो वरसँग विवाह गर्नु फलामे चना चपाउने सरह भएछ । यसको कारण यो छ कि विवाह गर्दा राम्रो घर र वर पाउन केटा पक्षको माग अनुसारको मोटो रकम र लाखौं करोडौंको दाईजो दिनुपर्छ । दाईजो मात्र नभइ जन्तीमा आउँदा लाग्ने गाडी भाडा प्लेनभाडा ,अनि आवश्यकता भन्दा बढी चार पाँच सय जन्तीमा आएकाहरुलाई महंगो महँगो उपहार दिनुपर्छ , सलामी र सम्धी मिलनमा माग अनुसार ब्रान्डेड मोटर बाइक, चारपाग्रें चल्लो गाडी , सुनको मोटो सिकरी ,सुनको औंठी जस्ता महँगा उपहार बेहुला र उसका आफन्तलाई केटी पक्षले दिनु पर्ने चलन भइसेकछ। साथै खानपानका लागि महंगो होटेलमा नानाथरीका व्यंजनको व्यवस्था समेत केटीपक्षले गर्नुपर्छ । हुन त छोरीको विवाह गर्दा यी खर्च व्यहोर्ने छोरीपक्षकै दायित्व हो भनी कुनै धार्मिक किताबमा लेखिएको छैन् । तर पनि आज समुदाय भित्र यो कुप्रथाले आफ्नो हांगाहरु फिजाउदैं गइरहकोछ ।
यो कस्तो चलन हो जहां घर बेहुलाको त्यसमा दैनिक उपभोगका आवश्यक सामान भर्ने बेहुली पक्षले । बाईक र चारपांग्रे गाडीमा कुदने रहर बेहुलाको तर त्यो रहर पुरा गर्न बाईक र गाडी किनेर दिनु पर्ने बेहुली पक्षले । जन्तीमा आएका ५००/६०० जना पाहुना बेहुला पक्षका तिनको सत्कार गर्न उच्च स्तरीय होटेल सर्विसको व्यवस्था गर्नु पर्ने बेहुली पक्षले । सुनको सिकरी र औंठी लाउने बेहुला र उसका आफन्तले किनेर दिनुपर्ने बेहुली पक्षले । अझ् कतिले त घर समेत माग गर्छन् र आफ्नो छोरीको घर बसाल्न अभिभावक नै बेघर हुनु पर्ने अवस्था समेत आउंछ ।
तराईमा बाहुल्यता रहेको मुस्लिम समुदायको कुरा गर्ने हो भने हुन त दाईजोप्रथा इस्लाममा छैन् तर अरु समुदायको देखासिकी मुस्लिम समुदायभित्र पनि यो प्रथा चरम सीमामा छ । दाईजोका कारण दिनहुं महिलाहरु घरेलुहिंसाबाट प्रताड़ित हुन्छिन् । दाईजोप्रथा कै कारण घर धितो राखेर वा बेचेर छोरीलाई दाईजो दिइसकेपछि ऋण चुक्ता गर्न नसकेका कारण कैयौं छोरीका अभिभावक घरबार बिहीन हुनु पर्ने अवस्था छ । जाईजो कै कारण आज मुस्लिम समुदायमा हजारौं छोरीहरु उमेर पुगेर पनि विवाह हुन सकिरहेको छैन् उनीहरु अविवाहित वृद्धा बन्नुपर्ने अवस्था सृजना भइसकेको छ ।
विवाहकै बेलामा महिलाको सुरक्षाको लागि गरेको महरको कुरा गरौं भने यो इस्लामले महिलालाई दिएको हक हो । जुन कि निकाहको बेला महिलाको स्वामित्व हुने गरी दिनका लागि तय गरी उपलब्ध गराउनुपर्छ यदि महिलालाई त्यो रकम दिएन् भने अल्लाहको तर्फ फर्किदां पकड हुनेछ। जसमा मोअज्जल र गैर-मोअज्जल अर्थात निकाह पछि तुरुन्त दिने र पछि दिने गरी राखिन्छ । हुन् यो एकथरी महिलालाई मजबूत बनाउन महिलाको एकाधिकार हुने सम्पति वा रकम हो । जसमा मात्र महिलाको अधिकार रहने भनी इस्लामले भनेछ । अनि महरको रकम चुक्ता नगरुन्जेल पतिलाई पत्नीमाथि कुनै हक हुदैंन् उसले पत्नीलाई छुन पनि सक्दैन् । तर व्यवहारमा के छ भने महरे मोअज्जल एक दमै थोरै राखेर आफुलाई महिलाप्रति बहुत ठुलो र उदार हृदय भएको भनी समाजमा देखाउन गैर-मोअज्जल बढी रकम राख्छन् । त्यो रकम जति नि धेरै तय गरिए पनि महिलाको हातमा कहिले आउदैंन् र महर न दिए मरेपछि पकड हुन्छ त्यसकारण पछि पकड न होस् भनेर अधिकांश पतिले पत्नीबाट माफ गराइ हाल्छन् । यदि कहीं कतै कोही उदारता देखाउदैं मानिसहरुको भीडमा दिए पनि पछि पत्नीलाई आफ्नो समस्याहरु देखाएर रोइकराइ गरी फिर्ता लिएर अरु काममा लगाइ हाल्छन् । भने कति पतिले त्यही महरबाट आफ्नो इच्छा अनुसार पत्नीलाई गरगहना बनाउन लगाउंछन् । यद्यपि महरे हकमा मात्र महिलाको अधिकार र स्वामित्व रहने भनी इस्लाम भन्छ तर व्यवहारमा फरक छ ।
यसै गरी मधेशी समुदाय भित्र तिलकप्रथा छ केटाकेटीलाई हेर्नु पुर्व नै तय गरिन्छ कि तिलकमा के कति लिने वा के कति दिने भनी । विवाह गराउनेहरुले बताएका घरमा छोरीको विवाहको प्रस्ताव लिएर बेहुली पक्ष जान्छन् । अनि सब भन्दा पहिला यति दिन चाहन्छु भन्छन् केटापक्षले भन्छन् कि छोराले यति पढेछ उसको यस्तो नोकरी पेशा छ यस कारण यति सम्म दिनेवाला कहां मात्र गर्नेछौं । हुदांहुदैं बीचको रकम तय हुन्छ अनि त्यसपछि केटा हेरिन्छ र केटी हेरिन्छ । केटा केटी हेरिसकेपछि तिलक रकम बुझाईन्छ । तर तिलक रकम जति हजार वा जति लाख तय हुन्छ त्यो त नगद दिनुपर्छ नै यसको साथै माथि उल्लेख गरिएको कुरा पनि पुरा गर्नुपर्छ जस्तै तिलक रकम बाहेक घर भरिने गरी सरसामान, नाता कुटुम्बका लागि उपहार, बेहुलाका लागि बाईक वा कार , जन्तीमा आउने पाहुनाहरुको उच्च स्तरीय ठुलो होटेलमा स्वागत सत्कार आदि पनि गर्नुपर्छ ।
यसो कारण खोतल्दै जाने हो भने बालविवाह हुनुको पछाडि दाईजोप्रथा नै मूल कारण रहेकोछ । छोरी ठूली भइ भने राम्रो घर र वर सितीमिती पाईदैंन् भन्ने सोचका साथै उसका लागि समय अनुसारको आधुनिक महंगा सरसामान दाईजो स्वरूप दिनु पर्नेहुन्छ । अर्को कुरा राज्यले शिक्षा नीति दरो बनाएछैन् जसले गर्दा पनि दाईजोप्रथा र बालविवाह लाई बढावा मिलेछ । यदि राज्यले बालविवाह र दाईजोप्रथा रोक्न चाहन्छ भने अब बालविवाह र दाईजो सम्बन्धी कानून बनाउनुको सट्टा शिक्षा नीति दरो बनाउनुपर्छ र शिक्षा सबैका लागि अनिवार्य गर्नुका साथै शिक्षाको सम्पूर्ण खर्च व्यहोर्ने जिम्मेवारी राज्यले लिनुपर्छ । जब यस्तो शिक्षा नीति बनाईन्छ कि उच्च शिक्षा नदिलाउने अभिभावकलाई कारबाही गरिनेछ र उच्च शिक्षा हासिल नगरे सम्म विवाह गर्न पाईनेछैन् । तब अभिभावकले कारबाहीको डरले भएनि छोरा र छोरी दुबैलाई पढाउनेछन् । अनि दुबै समिनथेर।न रुपले शिक्षित भइसके पनि बेहुला किनबेच गर्ने कुरै रहदैंन् । रह्यो कुरा बालविवाहको त्यो त बालबालिका शिक्षित भए आफै बुझ्नेछन् र बालविवाह स्वतः रोकिने छ । जुनकि एउटा सामान्य परिवारका लागि गाह्रै हो यस कारण अधिकांश बालविवाह गरिन्छ । जसको फलस्वरूप बाल मृत्यु मातृ मृत्यु जस्तो अवस्थाको सामनागर्नुका साथै विभिन्न खाले प्रजनन समस्याबाट ग्रसित हुन पुगीरहेछिन् ।
यसका साथै हेर्ने हो भने एक त अधिकांश महिलाहरुलाई खानदानको इज्जत जोगाउने नांउमा अभिभावकले रोजेको केटासंग विवाह गर्न बाध्य बनाईन्छ । एकातिर जहां दाईजोको लोभीहरुलाई उनीहरुका माग अनुसार अघाउने गरी दाईजो दिईन्छ जसले गर्दा तिनीहरुलाई लाग्छ हामी बेहुला पक्षले जे गरे नि हुने रहेछ हाम्रा मागहरु मुखबाट निस्किन साथ पुरा गरेछन् किन भने यिनीहरुले छोरीलाई बोझ ठानेर विवाह गरी पठाईदिएछन् । उनीहरुको आंट झन् बढ्दै जान्छ जसको फलस्वरूप विवाहको केही दिनमै घरेलुहिंसाको क्रम सुरुहुन्छ । विवाहको दिन केही गाह्रो साह्रो पर्यो भने हामी छदैंछौं यो घरको ढोका पछि पनि तिम्रो लागि खुल्ला रहनेछ भन्नुको सट्टा छोरीलाई इमोशनल ब्लॉक मेल गरी माइतकाले यो भनेर हिंसा सहन बाध्य बनाउन्छन् कि विवाह पछि छोरीको असली घर उसको पतिको घर हो । जहां दुल्ही भएर रातो सुहागको जोडामा जान्छिन् र त्यहांबाट मरेपछि सेतो कात्रो ओढेर मात्र निस्किन्छिन्, हाम्रो कुल घरानको इज्जत आज देखि तिम्रो हातमा छ । तिमीले हाम्रो शिर सधैं ठाडो पार्न सक्ने गरी जे जस्तो भए पनि सहेर बस्नु एकदिन सबै ठीक भइहाल्छ ।
यिनै कारणले आज एकाइसौं शताब्दीमा आइसके पनि आफ्नो जीवन सहज बनाउनुका साथै जीवनसाथीसंग मिलेर आफ्नो वंशलाई अगाडि बढाउन सामाजिक रितिरिवाज अनुसार गरिने विवाहलाई मानमर्यादाका नाममा जटिल ठान्न थालेका छन् ।