बाँकेमा कोरोना भाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या १२ पुगेको छ । पछिल्लो ३६ घण्टामा ४८ जना कोरोना भाइरस संक्रमित थपिंदा थप एक संक्रमितको ज्यान गएको हो । जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, नेपालगन्ज – ३ का ५२ वर्षीय पुरुषको शुक्रवार एकाविहानै २ः२५ बजेतिर नेपालगन्ज मेडिकल बलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । (हेर्नुस् विवरण)

योसँगै बाँकेमा संक्रमित संख्या एक हजार ७५० जना पुगेकोमा एक हजार ३५६ जना निको भइ घर फर्किएका छन् भने १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित ३७४ जनामध्ये आज ५ जना डिस्चार्ज हुँदैछन् ।
यसैबीच, विहीवार पछिल्लो २४ घण्टामा नेपालमा १४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गर्दा १४९७ जनामा कोरोना संक्रमण भएको हो ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ६९ हजार ३०१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भई ४५७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५० हजार ४११ जना कोरोनामुक्त भएका छन् ।
कोरोना भाइरस संक्रमणका कारण हालसम्म नेपालमा ४ सय ५३ जनाको मृत्यु भएको मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ








