भन्सार नाकामै जाँचपास, बेरियर राख्दा विरोध !

नेपालगन्ज भन्सार कार्यालयले जमुनाह नाकामै चेकजाँच गरी जाँचपास गर्न सुरु गरेको छ । हालसम्म नाकामा यात्रु शाखा मात्रै रहेकोमा अब भन्सारमै जाँचपासको काम सुरु गर्न लागिएको हो । ‘जाँचपास शाखालाई पनि नाकामै लगिएको हो’, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने ।


राजश्व चुवाहट रोक्ने उद्देश्यले पनि नाकामा भन्सार लगिएपछि विरोध सुरु भएको छ । आवागमन गर्नेलाई अप्ठ्यरो हुने बहानामा भन्सारमा बेरियर नै बनाउन नदिने भन्दै अवरोध सुरु भएको भन्सार कार्यालयका कर्मचारीहरुले जानकारी दिएका छन् । उनीहरुले नाकाम बेरियर बनाए भत्काउने धम्की दिंदै केही व्यक्तिहरु भन्सारमा दबाब दिन पुगेको जानकारी दिएका छन् । ‘राजश्व चुवाहट रोकेर भन्सार राजश्व बढाउनका लागि साबिकको भन्सार नाकामा सार्दा प्रभावकारी हुने विश्वास छ’, भन्सार प्रमुख निरौलाले भने, ‘मुद्दा शाखा बाहेक अन्य सबै शाखा नाकामै सार्ने तयारीमा छौं ।’ भन्सारमा बनाउने भनिएको बेरियरको निर्माण दुई दिन ढिला सुरु भएको छ । भन्सार प्रमुख निरौला भन्छन्, ‘बेरियर नबनाउनका लागि दबाब आएको छ ।’


बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले भन्सार चोरी निकासी सैह्य नहुने बताएका छन् । ‘राज्यलाई नोक्सान हुने काम हुन नदिन प्रशासन सक्रियता पूर्वक लागेको छ’, उनले भने । भन्सारमा यात्रुलाई दुःख हुन्छ भन्ने बहानामा बेरियर बनाउन नदिएर तस्करलाई फाइदा पुर्याउन स्थानीय नेता नै सक्रिय रहेको उल्लेख गर्दै प्रजिअ कुरुम्वाङले भने, ‘प्रहरी सुरक्षामा बेरियर बनाउने काम सुरु भएको छ ।’ उनले बेरियरले भन्सार छल्ने तस्कर बाहेक अन्य कसैलाई अवरोध नहुने बताए । ‘नाकामै जाँचपास हुँदा भन्सार छलीको सम्भावना कम हुन्छ’, उनले भने, ‘त्यसैले यसको विरोध गर्नु तस्करलाई सघाउन खोज्नु हो ।’
नेपालन्ज भन्सार कार्यालयका प्रमुख निरौलाले बिस्तारै साविकको भन्सारको कामहरु नाकाबाटै गरिने बताएका छन् । ‘छरिएको भन्सारलाई एकत्रित गर्न खोजिएको हो’, उनले भने, ‘त्यसका लागि नाकामा थप पूर्वाधारहरु पनि बनाइने छ ।’

लक्ष्य भन्दा बढी राजश्व

नेपालगन्ज भन्सार कार्यालयले चालु आ.व.को दुई महिनामा निर्धारित लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ । गत आ.व.मा कोरोनाका कारण भएको लकडाउनका कारण राजश्व संकलन ह्वात्तै घटेको भन्सारले चालु आ.व.मा आर्थिक क्षेत्रहरु खुल्दै गएपछि आयात, निर्यातमा भएको वृद्धि लक्ष्य भन्दा बढी राजश्व संकलन गर्न सफल भएको हो ।


कोरोना भाइरस महामारी संक्रमण रोकथामका लागि जारी बन्दाबन्दीका कारण गत आर्थिक वर्षमा राजश्व घाटा व्यहोरेको नेपालगन्ज भन्सार कार्यालयले चालु आवको साउन र भदौ महिनामा भने लक्ष्यभन्दा अधिक राजश्व सङ्कलन गरेको भन्सार प्रमुख शान्तिराम निरौलाले जानकारी दिएका छन् । उनले चालु आवको पहिलो महिनामा नेपालगन्ज भन्सार कार्यालयले रु एक अर्ब ६८ करोड राजश्व संकलन गरेको जानकारी दिएका छन् । जुन लक्ष्य भन्दा ५६ प्रतिशत बढी राजश्व संकलन भएको हो ।


भन्सार प्रमुख निरौलाका अनुसार, साउन महिनामा रु ९४ करोड ७५ लाख छ हजार राजश्व उठाउने लक्ष्य राखिएको थियो । जसमा लक्ष्यभन्दा रु ७३ करोड २५ लाख बढी राजश्व संकलन भएको हो । भदौ महिनामा राजश्व संकलन लक्ष्य रु एक अर्ब छ करोड रहेकामा लक्ष्यभन्दा अधिक रु एक अर्ब ४६ करोड राजश्व सङ्कलन भएको छ । बन्दाबन्दीका कारण अवैधरूपमा सामान भित्रिने कार्य बन्द भई सबैजसो सामग्री भन्सार हुँदै आएकोले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख भन्सार अधिकृत निरौलाको भनाइ छ । कोरोना महामारीका कारण नेपाल–भारत जमुनाह सीमा नाका बन्द रहे पनि नेपालगञ्ज भन्सार कार्यालयले दैनिकरूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिँदै निरौलाले भने, ‘पछिल्लो समय उद्योग तथा कलकारखाना सञ्चालनमा आएपछि कच्चा पदार्थ ल्याउने क्रम ह्वात्तै बढेकाले उत्साहजनकरूपमा राजश्व सङ्कलन भएको हो ।’


नेपालगन्ज भन्सार हुँदै औद्योगिक कच्चा पदार्थका साथै खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरेका छन् । अहिले नेपालगन्ज नाकाबाट फलफूल तथा तरकारीजन्य पदार्थ र मानिसको आवागमनमा भने कडाई गरिएको निरौलाले जानकारी दिएका छन् । नेपालगन्ज भन्सार कार्यालयबाट गत आव २०७६÷७७ मा रु साढे तीन अर्ब राजश्व घाटा भएको थियो । रु १५ अर्ब ४३ करोड ७५ लाख लक्ष्य रहेकामा रु ११ अर्ब ७७ करोड आठ लाख मात्र राजश्व सङ्कलन हुँदा रु तीन अर्ब ६६ लाख राजश्व घाटा भएको हो ।


कोरोना भाइरस महामारीका कारण लामो समयसम्म बन्दाबन्दी भएपछि भन्सारको राजश्व असुलीमा कमी आएको प्रमुख भन्सार अधिकृत निरौलाले जानकारी दिएका छन् । उनका अनुसार गत आवमा कुल लक्ष्यको करिब ७६ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको थियो । राजश्व सङ्कलन हुने मुख्य समयमा कोरोना भाइरसका कारण बन्दाबन्दी हुँदा त्यसको प्रत्यक्ष प्रभाव राजश्व असुलीमा परेको थियो ।


‘नेपालगन्ज भन्सारको राजश्वको मुख्य स्रोत पेट्रोलियम पदार्थ हो, लकडाउनका कारण सवारी साधन ठप्प हुँदा पेट्रोलियम पदार्थ आयात कमी भई राजश्व असुलीमा असर परेको हो’, प्रमुख भन्सार अधिकृत निरौलाले भने, ‘लकडाउनका कारण चैत, वैशाख र जेठमा राजश्व असुलीको लक्ष्य नपुगेका कारण राजश्व घाटा हुन पुगेको हो ।’


भन्सार प्रमुख निरौलाले चुवाहट नियन्त्रणका लागि साविकको भन्सार समेत नाकामै सार्न थालिएको बताएका छन् । उनले विगत दुई सातादेखि जाँचपासको काम नाकाबाटै गर्न थालिएको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया