नेपालगन्ज ‘टुरिज्म हब’को बाटोमा

पर्यटन बोर्डको कार्यालय आउँदै, ‘न्याथम’को शाखा स्वीकृत



संघीय संरचनाले पछाडी पारेको अनुभूत गरिएको नेपालगन्जलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न आवश्यक पूर्वाधारमा गतिला सम्भावना देखिएका छन् ।
दर्जन बढी स्तरिय तारे होटलले नेपालगन्जलाई ‘टुरिज्म हब’ का लागि पूर्वाधारको बाटो खोलेको नेपालगन्जमा शैक्षिक तथा नितीगत प्रवद्र्धनका निकायलाई नेपालगन्ज ल्याउने पहलले उक्त सम्भावना देखाएको हो ।
‘नेपाल पर्यटन बोर्डको प्रदेश स्तरिय कार्यालय नेपालगन्ज राख्न हालैमात्र नेपालगन्ज उपमहानगरपालिकासँग एमओयु भएको छ,’ पर्यटकीय क्षेत्रमा क्रियाशील संस्था, नाटा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘शुरुवातका दृष्टिले यो ठुलो सम्भावनाको ढोका खोलिएको हो ।’ पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीसँग नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले सम्झौता गरेका हुन् । ‘सम्भवतः अर्काेसातासम्म उनीहरु आइसक्छन् होला,’ डा. राणाले पर्यटन बोर्डसँगको सम्झौतापछि भने ।
‘हामी पर्यटनसँग जोडिएका कार्यालयहरु जति सकिन्छ नेपालगन्ज आउन् भन्ने चाहन्छौं,’ नगर प्रमुख डा. राणाले दैनिक नेपालगन्जसँग भने, ‘त्यसै शिलशिलामा पर्यटन बोर्डको युनिलाई नेपालगन्जमा कार्यालय राख्न भवन उपलब्ध गराउन सहयोगको सम्झौता गरिएको हो ।’ डा. राणाका अनुसार, भोलि कार्यालय आएर राम्रो काम हुँदै गएपछि आवश्यक भवनका लागि जग्गा उपलब्ध गराउन पनि नेपालगन्ज उपमहानगरपालिका प्रतिबद्ध छ ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले नेपालगन्जका रहने बोर्डको युनिटले पश्चिम क्षेत्रका पर्यटकीय सम्भावनालाई एकीकृत गर्ने बताए । ‘त्यसका लागि नेपालगन्जमा बोर्डको स्थायी संरचना बनाइहाल्ने सोंच हो,’ डा. रेग्मीले दैनिक नेपालगन्जसंग भने, ‘स्थानीय सरकारका तर्फबाट मेयरसा’बले सहकार्यको पहल लिनुभएकाले हामी सफल हुन्छौं भन्नेमा विश्वास पलाएको छ ।’ त्यसका लागि नाटा बाँकेले निरन्तर समन्वयात्मक भूमिका खेलिरहेको अध्यक्ष सिग्देलले जानकारी दिए ।

नेपालगन्जमा ‘न्याथम’
नेपाल होटल तथा पर्यटन प्रतिष्ठान (न्याथम)को शाखा नेपालगन्जमा विस्तार हुने भएको छ । न्याथमको यसैसाता बसेको संचालक समितिको बैठकबाट नेपालगन्ज, बर्दिबास र बिर्तामोडमा बिएचएम, बिटिएम पढाउने गरी शाखा बिस्तार गर्ने निर्णय भएको हो ।
न्थाथमले होटल म्यानेजमेन्ट र टुरिज्म म्यानेजमेन्टका दक्ष जनशक्ति उत्पादनका लागि नेपालगन्जमा उच्च शिक्षाका कक्षा सञ्चालन गर्नेछ । तत्काल त्यसका लागि आवश्यक पूर्वाधार नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध गराएको छ । ‘हो, हामीले पर्यटनसँग जोडिएको शिक्षा भएकाले तत्कालका लागि आवश्यक भवन उपलब्ध गराएका छौं,’ नेपालगन्जका नगर प्रमुख डा. धवल शम्शेर राणाले भने । उनका अनुसार, न्याथमले यसै शैक्षिक सत्रदेखि आफ्ना गतिविधिलाई नेपालगन्जमा सञ्चालनमा ल्याउन छ । त्यसका लागि रामलिला मैदान नजिकैको तत्कालिन नारी विकासको भवनको माथिल्लो तला न्याथमलाई उपलब्ध गराइएको हो ।
नेपाल होटल तथा पर्यटन प्रतिष्ठान (न्याथम)को शाखा विस्तारका लागि बनेका सम्भाव्यता अध्ययन समितिले बुटवल, दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीको अध्ययनपछि दिएको सुझावका आधारमा यो निर्णय लिएको नाटा नेपालगन्जका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए । ‘नाटाका केन्द्रीय अध्यक्ष अच्यूत गरागाईं नेतृत्वको सम्भाव्यता अध्ययन टोलीको सुझावका आधारमा नेपालगन्जमा न्याथम आउने निर्णय भएको हो,’ सिग्देलले दैनिक नेपालगन्जसँग भने ।
अहिलेपनि होटलका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नेपालगन्जमा तालिम केन्द्रहरु खुलिरहेका छन् । तर, उच्च शिक्षाको सुनिश्चितताले नेपालगन्जलाई विकासको सम्भावनामा थप टेवा पुग्ने विश्वास सरोकारवालाहरुको छ ।

प्रतिक्रिया

प्रतिक्रिया