बाँकेमा कोरोनाः यस्तो छ, संक्रमण अवस्था

पछिल्लो २४ घण्टामा थप ६३ मा संक्रमण, नेपालगन्ज उपमहानगरपालिका बाँकेका सबै स्थानीय तह मध्ये सबैभन्दा बढी संक्रमित

कोरोना भाइरस संक्रमणमा बाँकेको पछिल्लो अवस्था । (ग्राफिक्सः हिमाल गैरे/दैनिक नेपालगन्ज)


नेपालगन्ज उपमहानगरपालिका बाँकेका सबै स्थानीय तह मध्ये सबैभन्दा बढी संक्रमित रहेको पाइएको छ । बजारक्षेत्र समेत रहेको नेपालगन्जमा बन्दाबन्दीको अन्त्य संगै मापदण्डको प्रभावकारी पालनाका अभाव रहेकाले नेपालगन्जमा संक्रमितको संख्या बढेको पाइएको हो ।
स्वास्थ्य कार्यालय बाँकेले सोमबार साँझ सार्वजनिक गरेको पीसीआर रिर्पोटमा ३८ जना पुरुष सहित जम्मा ६३ संक्रमित थपिएका छन् । सो संगै नेपालगन्जमा ७ सय ७५ कुल संक्रमित संख्या रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालगन्ज पछि कोहलपुर नगरपालिकामा २ सय ५ संक्रमित व्यक्ति रहेका छन् भने तुलनात्मक रुपमा जिल्लाको डुडुवा गाउँपालिकामा सबैभन्दा कम संक्रमण रहेको छ । डुडुवामा ३६ जना मात्र संक्रमित व्यक्ति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसैगरी नरैनापुरका १ सय २२, खजुराका १ सय १२, राप्ती सोनारीका ७९, जानकीका ६५ र बैजनाथका ५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन । यसै संग बाँकेमा कोरोना संक्रमणको संख्या १ हजार ६ सय ६२ पुगेको उनले जानकारी दिए ।
यस अवधीमा संक्रमित हुने २ सय १६ जना विभिन्न सरकारी कार्यालयका कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी एंव विभिन्न गैर सरकारी संस्थाका व्यक्ति रहेको छन् ।
सोमबारमात्रै ६ जना निको भई घर फर्किएका छन् भने १ हजार २ सय ५० जना निको भैसकेका छन् । ४ सय १ जना उपचारार्थ विभिन्न आइसोलेसनमा छन् । बाँके जिल्लामा हाल सम्म ११ जना कोरोना संक्रमण समेतका कारण मृत्यु भैसकेका छन् ।

संक्रमण दर बढ्दै गएको भए पनि प्रति सय जनामा संक्रमितको मृत्यु हुने दर जम्मा ०.६६ प्रतिशत रहेको छ भने बिरामीको निको हुने दर ७५.२१ प्रतिशत रहेको छ । बाँके जिल्लामा यस रोगको प्रकोप दर ०.२८ प्रतिशत रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया