कस्ले किन पायो विभूषण ?

सरकारले संविधान दिवसको अवसर पारेर विभिन्न व्यक्ति तथा संस्थाहरुलाई मान–पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ ।


केन्द्र तथा प्रदेश सरकारले विभिन्न व्यक्तित्वहरुलाई उक्त सम्मानको घोषणा गरेका हो । कोरोना महामारीका बेला अहोरात्र खटिने स्वास्थ्यकर्मीदेखि समाजमा विभिन्न योगदान दिने व्यक्तित्वहरुलाई सरकारले पदक तथा विभूषण प्रदान गर्न लागेको जनाएको छ ।
संविधान दिवसको अवसरमा संघीय सरकार र प्रदेश सरकारले शनिवार विभिन्न मान पदवी र पदक पाउनेहरुको नाम घोषणा गरेको थियो । पदक पाउनेहरुमा कोरोना महामारीमा अग्रभागमा रहेर काम गरेकाहरु उल्लेख्य छन् । दुवै तहका सरकारले चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रभागमा खटेकाहरुलाई विभूषणको घोषणा गरेको छ ।
मन्त्रीपरिषद्को सिफारिसमा संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभूषण प्रदान गरेकी हुन् । नेपालगन्जस्थित भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा र स्वास्थ्य कार्यालय, बाँकेका जनस्वास्थ्य अधिकृत नरेशबाबु श्रेष्ठलाई प्रबल जनसेवाश्री (चतुर्थ) प्रदान गरिएको छ । कोरोना महामारीदेखिनै डा. थापाले उपचार र व्यवस्थापनको कमाण्ड गर्दै आएका छन् भने फिल्डमा खटिएका श्रेष्ठ कोरोना फोकल पर्सनका रुपमा अहोरात्र खटिएका छन् ।
त्यस्तै जनसेवाश्री (पञ्चम)बाट समाजसेवी जयकेश सिंह, र राधेश्याम थारु विभूषित भएका छन् । नेपालगन्ज उपमहानगरपालिका–३, सिंह जग्गादाता हुन् भने थारु कोष तथा लेखा नियन्त्रण कार्यालय, बाँकेका कार्यालय सहयोगी ।
प्रदेश सरकारले पनि कतिपय कोरोनाको महामारीमा फ्रन्टलाइनहरुलाई पदक दिने घोषणा गरेको छ । भेरी अस्पताल बाँकेमा कार्यरत बसुन्धरा ज्ञवाली गौतम प्रदेश सेवा समर्पण पदक (ख) ले विभूषित हुने भएकी छन् । कोरोना महामारीमा खजुरास्थित आइसोलेसनमा गौतमले पुर्याएको योगदानलाई प्रदेश सरकारले सम्मानित गर्न लागेको हो । प्रदेश सेवा समर्पण पदक (क) बाट लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्ट डा. राजेन्द्र प्रसाद खनाल, प्रदेश सेवा समर्पण पदक ख बाट भिम अस्पतालका डा. सुमित प्रजापति, गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. उत्तम पच्या पनि विभूषित हुँदैछन् ।
प्रदेश ५ सरकारले पूर्वमन्त्रीदेखि गजलकारलाई समेत पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ । प्रदेश ५ सरकारले ११ विधामा ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने क्रममा उनीहरुलाई समेत सम्मान गर्ने भएको हो ।
बाँकेका वरिष्ठ कलाकार श्यामानन्द सिंह, पुराना राजनीतिज्ञ रोमहर्ष धिताल, नीलसागरकी अध्यक्ष सरीता खनाल, अगुवा कृषक पुरमल बस्नेत, प्रहरी कार्यालय बाँकेका डिल बहादुर सिंजाली मगर, सिद्धार्थ ग्रुप अफ हस्पिटालिटी लगायतलाई पदक सम्मानले विभूषित गरिन लागेको छ । दङ्गीशरण बलिहाङ्ग पदक पदक ‘ख’ बाँकेका श्यामानन्द सिंह, धिताललाई श्री पदक ‘ख’, समाजसेवा श्री पदक ‘ग’बाट बाँकेकी सरीता खनाल र उजीर सिंह दीप पदक ‘ग’ बाट प्रहरी कर्मचारी मगरलाई विभूषित गरिंदैछ ।
प्रदेश सरकारले शनिबार घोषणा गरेका पदक प्रदेश स्थापना दिवसका अवसरमा फागुन ३ गते प्रदान गर्नेछ । प्रदेश सरकारले दिने सबैभन्दा उच्चस्तरको पदक बुद्ध शान्ति पदकबाट पाल्पाका आचार्य भिक्षु अमृतानन्द महास्थवीरलाई मरणोपरान्त प्रदान गर्ने भएको छ ।
बौद्ध धर्मको माध्यमबाट राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा शान्ति स्थापनार्थ विशिष्ट योगदान गरेको भन्दै उनलाई पदक दिने निर्णय गरिएको हो । उनले म्यानमार सरकारबाट महानायक पदवी समेत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया