आजबाट न्यायिक सेवा सुचारु गर्दै अदालत

वसन्त गौतम
बाँके जिल्ला अदालतले आजबाट आफुले प्रदान गर्ने सबै सेवा सुचारु गर्ने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को जोखिम बढ्दै गएको अवस्थालाई ध्यानमा राख्दै अदालतबाट प्रवाह गरिने सेवाहरुलाई संकुचन गरेको थियो ।
शुक्रवार बसेको बार बेन्चको बैठकको निर्णय अनुसार अदालतको थप सेवाहरु सूचारु गरिएको थियो । कोरोना भाइरस (कोभिड १९ को जोखिम नियन्त्रण गर्ने समयावधी अनुमान गर्न नसकिने अवस्था तथा छिटो छरितो न्याय सम्पादनको मर्मलाई आत्मासाथ गर्दै जोखिम नियन्त्रण गर्न अपनाउनु पर्ने आवश्यक सुरक्षा सम्बन्धी सुरक्षाका निर्धारित मापदण्डहरुलाई आम सेवाग्रही, कानून व्यावसायी तथा कर्मचारीहरुले अपनाउँदै यस अदालतबाट प्रवाह गरिने सम्पुर्ण सेवाहरुलाई नियमित रुपमा प्रवाह गर्ने निर्णय गरेको थियो ।
नेपाल सरकार तथा मन्त्रिपरिषदको निर्णयानुसार आन्तरिक तथा बाह्य जिल्लाका सम्पुर्ण यातायातका साधनहरु असोज १ गतेबाट सूचारु भई सकेको र यस जिल्लामा जिल्ला प्रशासन तथा स्थानीय पालिकाबाट जारी भएका निषेधाज्ञा समेत पुर्ण रुपमा समाप्त भईसकेकोले सम्मानित सर्वोच्च अदालतको गत जेष्ठ १५ गतेको बृहत इजलासबाट बन्दाबन्दीको अवधीमा हदम्याद, म्याद, तारेख सम्बन्धमा जारी भएको आदेशको व्यवस्था बमोजिम २०७७ असोज १ गते देखि लागु हुने गरी बाटोको म्याद बाहेक ३० दिन भित्र अदालतमा उपस्थित हुन सम्पुर्ण सेवाग्राहीलाई सुचना मार्फत अदालतले आग्रह गरेको छ ।
बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश खडानन्द तिवारीको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ बाट संक्रमित भई आइसोलेसनमा बसी स्वास्थ लाभ गरि रहनु भएका ३ जना कानून व्यवसायीको शिघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको थियो । बार बेन्च बैठकमा न्यायाधीशहरु पूर्णप्रसाद वास्तोला, धनिस्वर पौडेल, दुर्गा बहादुर भुषाल, राम प्रसाद वस्याल, दिलीपराज पन्त, मनकुमारी जि.एम.वि.क., जिल्ला न्यायाधिवक्ता याम बहादुर बानिया, बरिष्ठ अधिवक्ता भोला सिंह हमाल, नेपाल बार एसोसियसनका उपाध्यक्ष सुनिल श्रेष्ठ, उच्च अदालत बार एकाईका अध्यक्ष विकास आचार्य, जिल्ला अदालत बार एकाईका अध्यक्ष मो. अयुव सिद्धिकी लगायतको सहभागिता रहेको अदालतका श्रेस्तेदार तिर्थराज भट्टले जानकारी दिए ।
यस्तै भाद्र १० गते उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका एक अधिकृतलाई कोरोना संक्रमण देखिए पछि संकुचन भएको सेवा गत भाद्र ३१ गते बसेको बार बेन्चको बैठकले आइतवार देखि लागु हुने गरि सेवा बिस्तार गर्ने निर्णय गरेको उच्च अदालत नेपालगन्जले गरेको छ ।
एक अधिकृतलाई कोरोना संक्रमण देखिए पछि भाद्र १० गते देखि उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले असोज २ गतेसम्म अत्यावश्यकीय सेवा बाहेका अन्य सबै काम कारवाही बन्द गरेको गर्दै सेवा संकुचन गरेकोमा गत भाद्र ३१ गते बसेको बार बेन्चको बैठकले सिमित सेवा बिस्तार गर्ने निर्णय गरेको जनाएको छ ।
असोज २ गतेसम्म मुद्दाको नियमित दर्ता र सुनुवाई स्थगित गरिएकोमा आगामी असोज ४ गते देखि लागु हुने गरि सबै प्रकृतीका रिट निवेदनहरु, पुनरावेदन, निवेदनको दर्ता, रिट निवेदन तथा अन्य निवेदनहरुको प्रारम्भिक सुनुवाई, अन्तरिम आदेश सम्बन्धी छलफल, थुनुवा तथा नेपाल सरकारका तर्फबाट पर्न आएका पुनरावेदनको सुनुवाई, मुलुकि फौजदारी कार्यबिधि संहिता २०७४ को दफा ७३ तथा मुलुकि देवानी कार्यबिधि संहिता २०७४ को दफा १५७ बमोजिम निवेदन प्रतिवेदनको दर्ता र सुनुवाई गर्ने, मुद्धा फिर्ता तथा मिलापत्र सम्बन्धी कारवाही र सुनुवाई निर्णय भएको अदालतका शाखा अधिकृत तिर्थराज आचार्यद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
यसै गरि अदालतद्धारा जारी सुचनामा बैंकिङ्ग कसुर तथा राजश्व चुहावट सम्बन्धी मुद्धामा पक्राउ पुर्जिको अनुमति दिने, जरुरी पक्राउ पूर्जीको समर्थन गर्ने, कल डिटेल्सको अनुमति दिने, म्याद थप गर्ने, अभियोग पत्रको दर्ता र थुनछेकको आदेश गर्ने कार्य गरिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया