प्रदेश सरकार, मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गरिएको छ । मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसीले दिएको जानकारी अनुसार, विभिन्न ७ बूँदे निर्णय सार्वजनिक गरिएको हो ।
१) रेसुङगा नगरपालिका,गुल्मी र हाकिञ्ज परिषद, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिश पठाउने ।
२) त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्ने सम्बन्धमा सम्बन्धित गाउँपालिकाबाट प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउन स्वीकृति प्रदान गर्ने ।
३) असोज ३ गते संविधान दिवसका दिन घोषणा गरिने पदक सिफारिश स्वीकृत गर्ने । पदक प्राप्त गर्नेहरुको नाम असोज ३ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गर्ने छ ।
४) आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने । प्रदेश मामिला सूचना केन्द्रका लागि मन्त्रालय र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरिएको हो ।
५) शब बाहन खरिदका लागि ६ वटा पालिकालाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट १५ लाख रुपैंयाका दरले ९० लाख रुपैंया उपलब्ध गराउने । रकम पाउने पालिकामा प्यूठान नगरपालिका,गुलरिया नगरपालिका,सिस्ने गाउँपालिका,रोल्पा नगरपालिका,सन्धिखर्क नगरपालिका,रामग्राम नगरपालिका रहेका छन् ।
६) जिल्ला स्तरीय ६ वटा अस्पतालहरुलाई ५० शैयामा स्तरोन्नती गर्ने । ती अस्पतालमा रुकुमपूर्व, रोल्पा,कपिलवस्तु,अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवा रहेका छन् । तीमध्ये भीम भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जना र अर्घाखाँची,रुकुमपूर्व, रोल्पा, अर्घाखाँची र पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गर्ने ।
७) नेपाल स्वास्थ्य सेवा अन्तर्गत एघारौं तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने ।








