निषेधाज्ञा हट्यो, ‘आफ्नो सुरक्षा आफैं गरौं’

कोरोना भाइरस संक्रमणको संवेदनशीलतालाई प्रसार गर्दै विस्तार रोक्न साप्ताहिक रुपमा शुक्रवार र शनिवार लगाइँदै आएको निषेधाज्ञा हटाइएको छ । अबदेखि साताका सबै दिन मापदण्डको पालना गरेर पेशा व्यवसाय र आवागमन गर्न पाइने छ ।

असोज १ गते नेपालगन्जको चहलपहल


‘बांँकेमा शुक्रबार र शनिबारको निषेधाज्ञा हटाउने निर्णय भएको छ, कोरोना अझै तपाई हाम्रो वरिपरि हुन सक्दछ, तसर्थ आ–आफ्नो सुरक्षा आफै गरौं,’ बुधबार बसेको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा गरिएको निर्णयमा हस्ताक्षर गरेपछि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले भने । नगर प्रमुख डा. राणाको सचिवालय पेजमार्फत स्पट शब्दमा चेतावनी दिंदै भनेका छन्,’ अनावश्यक बाहिर ननिस्कौ, संक्रमणको मापदण्ड पुरा गरौं,’ डा. राणाले सुरक्षित रहन र सुरक्षित रहन अभिप्रेरित गर्न आव्हान पनि गरेका छन् ।
सातामा दुई दिनको कडा निषेधाज्ञाले संक्रमणको विस्तारलाई कम गर्ने विश्वासका साथ ‘साइकल चेन’ तोड्न प्रभावकारी हुने आशा गरिरहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ विदामा छन् । बाँकेमा प्रत्येक साता शुक्रवार र शनिवार लगाइदै आएको निषेधाज्ञा हटाइएपछि विदामैं रहेका उनले जोखिममैं रहेको हुँदा स्वास्थ्य सम्बन्धि मापदण्डको पालना गर्न’ आव्हान गरेका छन् । विदामा बस्नुअघि उनले यसबारे सार्वजनिक रुपमै राय लिन खाजेका थिए, जसको सबैतिरबाट निषेधाज्ञा हटाउन माग आएको थियो ।
बुधवार निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा बसेको बैठकमा निषेधाज्ञा हटाइरहँदा मापदण्ड पालनामा थप कडाइ गर्ने र त्यसको अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले भदौ १२ गते गरेको निर्णय उल्टाउँदै निषेधाज्ञा हटाउने निर्णय गरेको हो । नेपालगन्ज उद्योग वाणिज्य संघले औपचारिक रुपमैं निषेधाज्ञा हटाउन माग गरेको थियो भने सामाजिक सञ्जालमा सातामा दुई दिनको निषेधाज्ञाले संक्रमण रोक्न खासै सहयोग नपुग्ने दावी सहित सातै दिन बजार खोल्न माग गरिएका थिए ।
सरकारलेमात्रै होइन, चिकित्सकहरुले संक्रमण विस्तार झनै बढ्दै गएकाले सतर्कता बढाउन अपील गरिरहेका छन् । सार्वजनिक यातायात, आन्तरिक विमान समेत सञ्चालनमा आउने निश्चित भएपछि सतर्कता अझै बढाउन अपील गरिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया