तयार हुँदै सार्वजनिक बसः आज पुजा भोलिदेखि यात्रा

आज विहीवार विश्वकर्मा बाबाको पुजा गर्ने दिन । विश्वकर्मा बाबा फलामका देवता मानिन्छन्, यातायात व्यवसायीहरु निकै महत्वपूर्ण पर्वका रुपमा यो दिनलाई मान्दै आएका छन् ।
छ महिनादेखि थन्किएका बसहरुमा सरसफाइदेखि चेकजाँच शुरु गरेका सार्वजनिक यातायातका सञ्चालकहरु आज आफ्ना साधन सञ्चालनमा ल्याउनुअघि पुजाआजा गर्दैछन् ।

‘बिहानभर बसपार्कमा पुजाआजा हुन्छ,’ भेरी बस व्यवसायी प्रालिका अध्यक्ष समेत रहेका यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय पदाधिकारी डेकनाथ गौतमले खुशी हुँदै भने, ‘पुरै बसपार्कलाई डिसइन्फेक्सन गर्न नेपालगन्ज उपमहानगरपालिकासँग अनुरोध गरिएको छ ।’
सरकारले सवारी साधनमा ५० प्रतिशतमात्रै यात्रुहरु राख्न पाइने गरि असोज १ गतेबाटनै यातायात सञ्चालन गर्न इजाजत दिएपछि व्यवसायीहरु पहिलो दिन ‘क्यु फ्री’ मा छन् । अर्थात, यात्रु पाएमा जहाँपनि जान सक्ने छुट उनीहरुलाई सम्बद्ध संस्थाले दिन्छ । कोरोनाको अवस्था रहँदासम्म तोकिएको भाडादरमा अधिकतम ५० प्रतिशतसम्म सवारी साधनका सञ्चालकहरुले लिन पाउने व्यवस्था पनि सरकारले गरेको छ । तर, त्यसका लागि ‘भौतिक दुरी कायम हुने गरी एक पंक्तिको सीटमा एकजनामात्रै यात्रु राख्नुपर्ने छ । सीटबाहेक यात्रुहरु राख्न पाइने छैन ।’
सबै यात्रुहरुले मास्क अनिवार्यरुपमा लगाउनुपर्नेछ । यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र अनिवार्यरुपमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने कडाइ गरिएको यातायात सञ्चालनमा सरकारले ‘चालक र सहचालकले मास्क, भाइजर र पञ्जाहरु लगाउनुपर्ने तथा सवारी साधनलाई दैनिकरुपमा डिसइन्फेक्सन गरिरहनुपर्ने अनिवार्य गरेको छ ।
भौतिक पूर्वाधार र यातायात मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप मापदण्डहरु बनाउन सक्ने र ती मापदण्डहरुको अनिवार्यरुपमा पालना गर्नु सवारी चालकहरु र यात्रुहरुको कर्तव्य हुने सरकारले स्पष्ट भनेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया