कहिलेसम्म घुम्ला कुमालेको चक्र ?

कुनैबेला नेपालगन्जमा एकाबिहानैको चियादेखि अबेररातीको दही राबडी सम्म खानका लागि प्रयोग हुने माटोका भाँडा क्रमशः लोप हुँदै अहिले फेरि आकर्षण बन्न थालेको छ । तर, आकर्षण अनुसारको उपलब्धतामा समस्या देखिएपछि यसबारे बुझ्दै जाँदा उत्तिकै चाखलाग्दा कथाव्यथा पनि भेटिएका छन् ।


परापूर्वकाल देखि एउटा पेशा निरन्तर चल्दै आइरहेको छ । त्यो पेशा हो माटोका भाँडाकँुडा बनाउने । यो माटोका भाडाबर्तन यस्तो चीज हो जुन खुशीको बेलामा पनि काम लाग्छन् र दुखको बेलामा पनि । खुशीको बेलामा दीप बाल्न चाहिने दियो माटाकै हुन्छन् भने मरेपछि अन्तिम संस्कार गर्न पनि माटोकै भाडो चाहिन्छ ।
विवाहको बेला चाहिने कलश होस् वा चार्डपर्वका बेला पुजाआजा गर्न चाहिने दियो । भुर्की, मट्का, कुज्जा, पाला आदि पनि माटाकै हुन्छन् । यसो भन्दा माटोका भाडा बिना हाम्रो हरेक धार्मिक सामाजिक कार्यहरु अधूरा मानिन्छन् । कसरी बन्छन्, होला यी भाँडा ? यो अत्याधुनिक फेसनका जमानामा पनि यो परम्परागत पेशा धान्न कति गाह्रो कति सजिलो हो ? कसरी घुमिरहेको होेला कुमालेको चक्र (चक्का) ?
नेपालगन्जमा यो पेशा मुस्लिम समुदायका कसगर र हिन्दु समुदायका कुम्हार (कुमाल)ले पुस्तैनी पेशाका रुपमा अंगाल्दै आएका छन् । तर बीचमा प्लास्टिकले स्थान लिइसकेपछि यो पेशा बिस्तारै हराउदैं गइरहेको छ । कुम्हारहरुको युवा पुस्ताले पनि यो पेशा छाडेर अन्य पेशा अंगालिसके भने १५० भन्दा बढी परिवारहरु रहेको नेपालगन्ज बजारमा बस्ने कसगरहरुका युवा पुस्ताले पनि यो पेशा छाडेर अन्य पेशा व्यवसाय तर्फ लागेका छन् । हाल कसगरका १५० परिवार मध्ये २० घरपरिवारमा मात्र यो पेशामा लागेका पाइएको छ ।
२५ वर्ष अघि सम्म व्यवसायिक आकर्षणमा रहेको कुमालेको पेशा निकै फस्टाएको पेशा थियो । ‘हाम्रो ठाउँमा विदेशी प्लाष्टिकका कमसल भाँडा आए,’ हाल यो पेशामा लागेकाहरु रोएर बस्नु परेको सुनाउँदै पेशाकर्मी भन्छन्, ‘माटोको भाडाहरु स्थान प्लास्टिकले लिइदियो ।’
उति बेला माटोका कुल्हडमा चिया पिउने, दहीका लागि माटोको कुज्झा, खीरका लागि मट्का, विभिन्न पुजापाठ र पर्वहरुमा घर सजाउन उज्यालोको लागि माटोकै दियो बालिन्थ्यो । मर्दा पर्दा, विवाह वर्तबन्ध हरेक शुभ कार्य माटोका भाडा हिन्दु मुस्लिम सबै समुदायका अपरिहार्य छ ।
उपभोक्ताका लागि प्लास्टिक सहज र सस्तो पर्यो तर यसले गर्दा धेरै समस्याहरु पनि उत्पन्न हुन थालेका छन् । माटोको उर्वराशक्ति घट्दै गइरहेको छ । प्लास्टिकले गर्दा नालाहरु जाम भइ नगरभरी जहांँतहीं सडकहरुमा पानी जम्न थालेको छ । गाई वस्तुले खानेकुरासंगै प्लास्टिक खाँदा उनीहरुलाई स्वास्थ्य समस्या हुनुका साथै मृत्युको कारण समेत बन्न थालेको छ । माटोको सामान प्रयोग हँुदा यसरी देखिएका समस्याहरु जस्ता कुनै समस्या थिएनन्् । प्रयोग भइसकेका भाँडाकुँडा फालिदा माटोमै मिसिने हुँदा नाला जाम हुने, उर्वराशक्ति घट्ने समस्या थिएन् त्यहि गाईवस्तुलाई पनि कुनै हानीनोक्सानी हुदैंन् थियो । अवस्था फेरियो ।
प्लास्टिकको प्रयोगले जति वातावरणलाई नोक्सानी पु¥यो उतिनै कुमालेको पेशालाई पनि धराशयी पा¥यो । अर्काेतिर यसका लागि चाहिने अति आवश्यक कुराहरु जस्तै माटो,काठ, दाउरा र बजार व्यवस्था नहुनु पनि हो । यो पेशालाई अझ अगाडि बढाउन के कस्ता समस्या छन् ? व्यवसायलाई कसरी संस्थागत गर्न सकिएला ? यसका चुनौतीहरु के के छन् ? किन यो कला नयाँ पुस्ताले अगाल्न चाहँदैनन् । किन नयाँ पुस्तामा यो कला र पेशा हस्तान्तरण गरिएन् ? यी र यस्तै जिज्ञासा बोकेर दैनिक नेपालगन्जको टीम माटोको भाडा बनाउनेहरुको घरदैलोमंै पुगियो ।
कुम्हार (कुम्हाल,कुमाले) वस्ती पुग्दा चर्काे गर्मीका कारण सबैको घरको बाहिर माटाका भाडाकुडाहरु बनाएर सजाएर राखिएका थिए । मानिसहरु घरभित्र आरामसँग बसिरहेका थिए, उनीहरुलालई थाह छ, सामान लिनेहरुको आगमन यदाकदा हुन्छ ।
संवाददाताले जान्न चाहेको कथा खुल्दै गयो । पहिला त जोकसैको जग्गाबाट माटो ल्याउन सकिन्थ्यो । जंगलबाट काठदाउरा ल्याउन पनि गा¥ह्रो थिएन । माटो र दाउरा सजिलोसँग पाएपछि बनाउन सजिलो हुन्थ्यो । अब धेरै कुरा फेरिएको छ, माटोको भाडाकुडाहरु बनाउन निकै खर्चिलो भएको छ । माटोदेखि दाउरा सबै किन्नुपर्छ । ११ सय रुपिया क्वीटल दाउरा देखि ६ हजार रुपया ट्राली माटो, त्यसपछि पनि चाहिने धानको भूस, गाईभैसीको गोबरबाट बनेको कण्डा चाहिन्छ सबै खरिद गर्नुपर्छ । ‘भन्दा माटोको भाँडो हो, खर्चिलो हुन थाल्यो,’ कम्मो कसगरले दैनिक नेपालगन्जसँग भनिन् ।
क्सगरटोलस्थित कुमाले बस्तीका सेमई प्रसाद कुम्हारले चलाउदैं गरेको चक्का १४ वर्ष पुरानो हो जुन सीमेन्टले बनेको । त्यतिबेला उनले पाँच सयमा खरिद गरेका थिए । ‘अब त निकै महँगो छ,’ सेमईले भने, ‘यसबाट तयार गरिने कुल्हड सयकडाको छ सय रुपियामात्रै ।’
भेटघाट गर्ने क्रममा माटोकै भाँडाकुँडाहरु बनाउने महिला कम्मो कसगरले यो कला आफ्नो ससुरासंग सिकेको बताइन् । ‘यो पेशामा मेहनत बढी छ, माटोको काम गर्दा आफैं माटो भइन्छ तब गएर कहीं केही भाडा तयार हुन्छन् ।’ काठदाउराको सहज आपूर्ति अभाव, माटोको उपलब्धता, भाडा बनाइसके पछि कांचो भाडाकुडाहरु राख्ने ठाउँ छैन् जसले गर्दा पानी पर्दा बनाएका भाडा पग्लिने क्षति । ‘ बल्लतल्ल यतिका जतन पछि तयार भएका भाडाहरु किन्ने ग्राहकले महंगो भनि किन्दैनन्,’ उनीहरुको दुखेसोछ, ‘अनि बनाइसकेपछि तयार भएका भाँडाकँुडाहरु फुट्ने डर हुन्छ तर स्टोर गरेर राख्ने ठाउँ छैन ।’
कसगरटोलमा अर्को एउटा सानो गल्लीभित्र पस्दा एक जना महिला हातमा तीन वटा थैला लिएर कतैं जान आंँटेकी जस्तो अवस्थामा भेटिइन् । नजिक पुग्दा उनको हातमा रहेको थैलामा माटोका सामान खुत्रुके थियो । सहनाज कसगर बजार गएर खुत्रुके बेच्दै गरेको ६ वर्षको अनुभव सुनाइन, ‘म आफै माटोका भाडाकुडाहरु र खेलौना आदि बनाउंछु । बडा मेहनत छ यो मैले मेरो बुवाआमाबाट सिकेकी थिएँ किनभने यो हाम्रो पुर्ख्यौली पेशा हो ।’
कसैको घरमा कामदार वा नोकर हुनु भन्दा यो पेशा जाति लाग्यो सहनाजलाई । यसमा कसैको दुर्व्यवहार लानतान सुन्नु र सहनु पर्दैन भन्छिन्, उनी । ‘सम्मानित पेशा हो यसैले नै मेरो घर चल्छ,’ सहनाजले सगर्व दैनिक नेपालगन्जसँग भनिन्, ‘तर समस्या त्यही छ जति मिहेनत गरेपनि तयार गरेको सामान बेच्ने बजार छैन ।’
तयारी भाँडाकँुडाहरु त्रिभुवन चोक लगेर बेच्न राख्दा कहिले नगरपालिकाले आएर सबै सामान लगिदिन्छ कहिले खुल्ला चौपायाले बेच्न राखेका भाँडाहरु किल्चेर फुटाल्दिन्छन् । ‘जसो तसो गरी भाँडा तयार गर्छौं तर बेच्न बजार र राख्ने स्टोर नहँुदा गाह्रो भइरहेको छ,’ छिटोछिटो कुराकानी सक्दै सहनाज माटाका सामान बोकेर नजिकको रिक्सामा चढिन् र त्रिभुवनचोक तिर लागिन् ।
केही पर एक जना वृद्धा चक्का घुमाउदैं थिए । उनी तिए, ६९ वर्षीय समई प्रसाद कुम्हार जो आफु सात वर्षको उमेर देखि यो पेशामा लागेको बताउँछन् । ‘म त सात वर्षको उमेर देखि यो पेशामा लागें किनभने बुवाआमा सानैमा बितेपछि दिदी भिनाजुसंग बस्दा केही त काम गर्नु पर्यो बाँच्नका लागि,’ तब देखि त्यही पेशामै रमाएको बताउने समई नयाँ पुस्ताले यो पेशा अंगाल्न नचाहेकामा दुखी छन् । ‘यसमा मिहनेत बढी छ लागत बढी छ तर आम्दानी कम छ,’ उनको बुझाइ छ, ‘आजका युवा पुस्ता पढेलेखेको छ उनीहरु आफ्नो दक्षता अन्य क्षेत्रमा विकास गर्दैछन् । त्यसकारण उनीहरु अहिले कोही इलेक्ट्रेशियन छन्, कोही बैंक कर्मचारी छन् , कोही मिस्त्री भएर भवन बनाउदैं कोही गाडी चलाउदैंछन् ।’
पेशाको पुस्तान्तरण खोजिरहेका समई प्लास्टिकको प्रयोग बढी हुना थालेदेखि माटोको भाँडा बनाउन बिस्तारै कमी हुदैं आइरहेको पेशालाई फस्टाउन सरकारले कच्चा माटो, काठ दाउरा र बजारको उचित व्यवस्थापन गरी यस पेशालाई ग्राहयता दिनु आवश्यकता देख्छन् । उनको कुरा पेशागत स्वार्थमात्रैमा छैन, किनभने एक त यसले प्लास्टिकको प्रयोगबाट हुने नकारात्मक असरलाई रोक्नेछ भने अर्को पीढीसम्म यो कलालाई परम्परागत रुपले अगाडि बनाउन उर्जा दिनेछ ।


विवाहको लगनको बेला, सोह्रश्राद्ध हुने बेला र चार्डपर्व जस्तै मुस्लिमहरुको ईदुलफित्रमा माटोको प्याला र कुन्डाको फातेहाको बेला माटोको बाटा र शबेबरातमा दियो बिक्री हुन्छ । हिन्दुहरुको अन्तिम संस्कार गर्न हांडी, पुजापाठ गर्दा भुर्की दियो र मुस्लिम हिन्दु दुबैको विवाहको लागि कलश मट्का दियो, र सुन्नतका लागि विवाहमा दाइजो स्वरूप दिने लगायतका सात थरीका माटाका भाडाहरु बढी बिक्री हुन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया