दुई दिनको सन्नाटाले रोकिएला संक्रमण ?

कोरोनाविरुद्धको लडाईंमा अग्रपंतिमा लडिरहेका चिकित्सक र नेतृत्व सम्हालेर जनस्वास्थ्यको व्यवस्थापन गरिरहेका प्रशासकहरुको संयुक्त छलफलबाट रणनीति किन नबनाउने ?


आज आइतवार बिहानैदेखि नेपालगन्ज बजारमा चहलपहल छ । मानौं दुई दिनको विदापछि सबै काममा फर्किएका छौं । अधिकांमा स्वास्थ्य सतर्कता पनि देखिन्छ । अटो सञ्चालक, ठेला पसल र साइकलमा तरकारी बेच्नेहरुमा अझै मास्कदेखि भौतिक दूरीसम्मको सचेतना पुगेको देखिंदैन । बजार खोल्दा मापदण्ड पालना भएनभएको अनुगमनमा प्रभावकारिता आवश्यक छ ।

भेरी अस्पतालका एक जना विशेषज्ञ चिकित्सकले सामाजिक सञ्जालमा लेख्छन्, ‘नेपालगन्जमा अचेल सप्ताहन्तमा दुई दिन चरो मुसो चल्न नदिने कडा खालको लकडाउन कार्यान्वयन भइरहेको छ । यसको प्ररणा चाहि भारतीय सहरहरुबाट रे ।’
ती चिकित्सकले भनेजस्तै रह्यो, शुक्रवार र शनिवारको नेपालगन्ज । अर्थात्, चरोमुसो चल्न नदिने खालकै । तर, कसैले रोकेको भन्दा पनि मानिसहरु घर भित्रै बसेको देखियो । यसअघि सेना प्रहरीले लठ्ठी लगाएर भगाउनु परेका दृष्य कम्तिमा यो दुई दिन देखिएन । कोहलपुर, खजुरा लगायतका ठाउँमा जत्तिको प्रहरी सक्रियता पनि नेपालगन्जमा देखिएन । सन्नाटा भने यहीं थियो ।
बाँके प्रशासनले हरेक साता शुक्रवार र शनिवार जिल्लाव्यापी निषेधाज्ञा जारी गर्ने म्यान्डेड बाँके कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको गतसाता भदौ १२ गते लिएको थियो । हिड्डुलमा समेत रोक लगाउने गरि सातामा दुई दिनका लागि जारी गरिएको निषेधाज्ञाको पहिलो प्रयोगमा यो साता सफल होइन, पूर्ण सफल देखियो । प्रहरी कडाइ विना पनि सडकमा मानिसहरुको चाप निकै कम देखियो । बाँके कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले संक्रमण तिब्र विस्तार ‘ब्रेक गर्न’ यो निर्णय गरेको जनाउँदै आएको छ ।
‘यसले ‘ट्रान्समिसन साइकल’ मा कसरी प्रभाव पार्छ मैले चाहि बुझ्न सकिन,’ ति चिकित्सकले सामाजिक सञ्जालमैं प्रश्न उठाएका छन् । ‘म्यारिजमा खेल जस्तो पनि हुने पेले जस्तो पनि हुने कदम कोरोनामा पनि,’ भन्दै व्यंगवाण चलाएका उनी भन्छन्, ‘रोग नियन्त्रणका लागि केही गरेजस्तो देखाउने काममात्र भो । ’
यसअघि दैनिक नेपालगन्जले गरेको एउटा संवादमा भेरीकै कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले निषेधाज्ञालाई ‘आपतकालिन अस्त्र’ भनेका थिए । आफैं कोरोना संक्रमणमा परेका डा. पाण्डे निको भएर सम्भवतः आज आइतवारदेखि सेवामा फर्किंदैछन् । कोरोना फोकल पर्सन डा. संकेत रिसाल सहित भेरीका ६ जना चिकित्सक लगालग संक्रमणमा परेपछि अर्का डाक्टर बद्री चापागाईंले ढिलोचाँडो सबैजना संक्रमणको चपेटोमा आउने प्रक्षेपण गरेका थिए ।
दैनिक नेपालगन्जसँगको संवादमैं भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले ‘संक्रमितको क्लोज कन्टक्टमा नआएसम्म संक्रमण हँुदैन’ भनेका थिए । भेरीमा कोभिड वार्डका लागि अहोरात्र खटिएका पूर्व अस्पताल प्रमुख डा. श्यामसुन्दर यादवले दलहरुलाई निर्वाचनमा मत माग्दाजस्तै राजनीतिक दलहरु घरदैलोमा गएर स्वास्थ सतर्कताबारे सचेत गराउनुपर्न बताउँछन् ।
वास्तवमा कोरोनाविरुद्धको लडाईंमा अग्रपंतिमा लडिरहेका चिकित्सक र नेतृत्व सम्हालेर जनस्वास्थ्यको व्यवस्थापन गरिरहेका तपाईंहरु संयुक्त छलफलबाट रणनीति किन नबनाउने ? दैनिक नेपालगन्जले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको संयोजन गरिरहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङलाई सोध्यो । ‘हामी बेलाबेलामा बसिरहेका छौं,’ प्रजिअ कुरुम्वाङले संवाददाताको जिज्ञासा शान्त पार्दै भने, ‘डाक्टर सा’बहरुका पनि मत भिन्नाभिन्दै छन् ।’ उनका अनुसार, कसैले कडा लकडाउन गर्ने सुझाव दिन्छन्, कोही भने अब लकडाउन गरेर कुनै अर्थ नरहेको बताउँछन् ।

निषेधाज्ञाको अघिल्लो दिन विहीवार नेपालगन्जको चहलपहल


अनि कुन बाटो लिने ? सामाजिक सञ्जालमा भडास् पोख्ने तिनै चिकित्सक सुझाव दिंदै लेख्छन्, ‘अब हामी आफैसँग पर्याप्त अनुभव भैसक्यो, हामी आफ्नो तथ्यांक विश्लेषण नगर्ने तर अरुले जे ग¥यो त्यही अनुशरण गर्दैछौं ।’ सामाजिक सञ्जालमा लोकप्रीय उनको धारणामा तमाम प्रतिक्रिया मध्ये एक जना लेख्छन्, ‘सिडियो सा’ब ट्रायल गर्दै हुनुहुन्छ ।’
‘सिडियो सा’ब ट्रायलनै गर्दै हो त ? प्रजिअ कुरुम्वाङले दैनिक नेपालगन्जसँग बडो नम्रभावमा भने, ‘ बाँके कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले सरोकारवालाहरुसँगको राय सुझावका आधारमा यी निर्णयहरु लिइएका हुन् ।’ उनका अनुसार, अब के गर्ने भन्ने निर्णय अब बस्ने जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले गर्नेछ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रवार देखि शनिवारसम्म जारी गरेको निषेधाज्ञा निर्वाध सकिएको छ । बाँके कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले गतसाता भदौ १२ गते हरेक हप्ताको शुक्रबार देखि शनिबार जिल्लाभरी कायम रहने गरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
प्रजिअ कुरुम्वाङले जोखिमको अवस्था हेरेर निर्णय फेरबदल गरिने बताउँछन् । शुक्रवार र शनिवार निषेधाज्ञा जारी गरिने बाँकेमा अरु ५ दिन सवारी साधनमा जोरविजोर देखि पेशा व्यवसाय सञ्चालनका लागि मापदण्ड बनाइएका छन् । ‘मापदण्ड पालना भएनभएको प्रभावकारी अनुगमन गरिनेछन्,’ प्रजिअ कुरुम्वाङ भन्छन्, ‘अटेरी गर्नेलाई कारबाही गरिएका छन् ।’

शुक्रवार र शनिवारको निषेधाज्ञामा नेपालगन्ज पुरै सुनसान देखियो


अघिल्लो दुई दिनमै सय पुगेको बाँके जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ । शनिबार ४ महिलासहित ११ जनामा कोरोना संक्रमण पुष्टि बाँकेमा संक्रमितहरुको संख्या एक हजार दुई सय १० पुगेको हो ।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, शनिवार नेपालगन्जका ५, सुर्खेतका २, जिल्ला प्रहरी कार्यालय, कोहलपुर, सुर्खेत, बर्दिया र कालिकोट ठेगानाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसबीच कोरोना निको भएर डिस्चार्ज हुने ८ सय १७, आइसोलेसनमा ३ सय ८७ जनाको उपचार भइरहेको छ । जिल्लामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । फोकल पर्सन श्रेष्ठका अनुसार, आज आइतवार विभिन्न आइसोलेसनबाट ८ जना निको भएर डिस्चार्ज गरिंदैछन् ।

शुक्रवार निषेधाज्ञा पहिलो दिन नेपालगन्जको अवस्था

प्रतिक्रिया

प्रतिक्रिया