बेपत्ताका सवालमा ध्यानाकर्षण

बिभिन्न कार्यक्रमको आयोजना गरि बाँकेमा बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयो


अधिकारकर्मीहरुको सहकार्यमा पीडितहरुले बेपत्ता आफन्तबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । बाँकेमा बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बेपत्ता पारिएका ब्यक्तिहरुको सम्झना सहित विभिन्न कार्यक्रम गरेका उनीहरुले आइतवार सरकारको ध्यानाकर्षण गराएका हुन् ।
ब्यानर, प्लेकार्ड प्रदर्शनी सहित माग सम्बोधनका लागी संघीय सरकार र स्थानीय सरकारलाई ज्ञापनपत्र दिंदै आफ्ना अवस्थाबारे ध्यानाकर्षण गराएका थिए ।
बेपत्ता पारिएकाहरुको सार्वजनिककरण र पीडितको सत्य, न्याय र परिपुरणको अधिकार सुनिश्चितताका लागी टिजे संजाल बाँके र अधिकारकर्मीहरुले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग मार्फत संघीय सरकारलाई र जिल्ला समन्वय समितिका प्रमुख अजय कुमार श्रीवास्तव मार्फत बाँकेका स्थानीय तहलाई बेपत्ता लगायतका द्धन्द्ध पीडितको सवाल सम्बोधनको माग राख्दै ज्ञापन पत्र बुझाइएको अधिकारकर्मी बसन्त गौतमले जानकारी दिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि पर्यवेक्षकको रुपमा उपस्थिति रहेको थियो ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग आइतवारनै ज्ञापन पत्र सरकारलाई पठाई दिने र बेपत्ताहरुको सार्वजनिकरण र न्यायका लागी आफ्नो सहयोग र समर्थन रहने बताए ।
त्यस्तै, ज्ञापन पत्र बुझदै जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले द्धन्द्ध पीडितको सवालमा आफु गम्भीर भएको र आगामी भाद्र २१ बस्ने सबै स्थानीय तहका पदाधिकारीहरुको बैठकमा यस बिषयमा छलफल चलाउने प्रतिवद्धता जनाए ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा टिजे संजाल बाँके संयोजक चन्द्रकला उप्रेती, महिला कानून र बिकास मञ्चका क्षेत्रीय संयोजक सुनील कुमार श्रेष्ठ, अधिकारकर्मी बसन्त गौतम, इन्सेककी सरस्वती मल्ल, मानव अधिकार एलाइन्सका प्रभात कुमार ठकुरी, गैर सरकारी सस्था महासंघका बाँके अध्यक्ष नमस्कार शाह लगायतको सहभागिता रहेको थियो ।
बिगत सशस्त्र द्धन्द्ध सकिएको १४ बर्ष ब्यतित भैसक्दा समेत द्धन्द्धका क्रममा बेपत्ता पारिएकाहरुको स्थिति सार्वजनिक हुन सकेको छैन । बर्षौ देखि न्यायको पखाईमा रहेका पीडितहरु आफन्तको लास र सासको अवस्थाको बारेमा थाहा पाउन नसक्दा आशा र निराशाको दोषाधमा रहेका छन् । आज आउलान भोली आउलान भन्दै न्यायको प्रतिक्षामा रहेकाहरु बेपत्ता आफन्तहरु न्यायको प्रतिक्षामा छन् ।
बेपत्ता पारिएकाहरुको सम्झना गर्ने र पीडितहरुको न्यायका लागी वकालत गर्ने उद्देश्यका साथ ३० अगष्टका दिन वेपत्ता बिरुद्धको दिवस मनाइन्छ । यस अवसरमा वेपत्ताको अवस्था सार्वजनिक गर्न र पीडितको लागी सरकार जिम्मेवार बन्नु पर्नेमा अधिकारकर्मी र पीडितले जोड दिएका छन् ।
बाँकेमा बेपत्ता बिरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा बेपत्ता पारिएका ब्यक्तिहरुको सम्झना र न्यायका लागी वकालतका लागी रक्तदान, ब्यानर, प्लेकार्ड प्रदर्शनी, माग सम्बोधनका लागी संघीय सरकार र स्थानीय सरकारलाई ज्ञापनपत्र दिने कार्यक्रम सम्पन्न भएको हो ।
आयोजकका अनुसार, वेपत्ता पारिएका ब्यक्तिहरुको सम्झनामा बाँकेमा बेपत्ता परिवार, द्धन्द्ध पीडित, अधिकारकर्मी सहित जम्मा १८ जनाले रक्तदान गरेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया