नाका सिलः कसरी आउँछ ब्राउन सुगर ?

भारतसँग नेपाली नाका यतिबेला ६ महिनादेखि सिल छ । कोरोना कहर सुरु भएदेखि औपचारिक नाकाबाट अत्यावश्यक बाहेकका आवागमन निषेध छ । तर, हरेक दिनजसो नेपाल प्रहरीले ब्राउन सुगरदेखि अबैध तस्करीका मालसामान बरामद गरिरहेको छ ।
बाँके प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खडकाले सीमावर्ती क्षेत्रबाट भइरहेको अबैध क्रियाकलाप रोक्न प्रहरी सक्रिय रहेको बताए ।
शुक्रवार मात्रै ठूलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित बाँकेमा ३ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ सुनारमण्डी बस्ने ४६ वर्षीय साविर अली सिद्दिकी, भट्टी टोल बस्ने ३० वर्षीय सोनु खान र इन्तियाज शेष ५ ग्राम ५ सय मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।
प्रहरीका प्रवक्ता खडकाले गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई शुक्रवार ५४ वटा पुडियामा राखेको लागुऔषधसहित पक्राउ गरेको बताए । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।
शुक्रवारनै यस्तै भन्सार छली भारतबाट ल्याइएको विभिन्न कम्पनीका २५ थान मोवाइल सेट बाँके प्रहरीले बरामद गरेको छ । नेपालगन्जको धम्बोझी चोकमा बेवारिसे अवस्थामा फेला परेको करीब ५ लाख ५ हजार मूल्य बराबरको उक्त मोवाइल सेट आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक खडकाले जानकारी दिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले नाका सिल भइरहँदा पनि अबैध तस्करी नरोकिएको बताए । मोवाइल तस्करी बीचमा केही कम भएपनि फेरि तस्करहरु सक्रिय पाइएको बताए । नेपालमै सहज आपूर्ति नहुँदा पनि तस्करीलाई प्रोत्साहन मिलेको महासचिव ओलीको टिप्पणी थियो ।

प्रतिक्रिया

प्रतिक्रिया