जोखिममा कारागार

क्षमता भन्दा दोब्बर राखिंदा कोरोना संक्रमणको जोखिम

वसन्त गौतम
३५० जनाको क्षमता भएको बाँके कारगारमा हाल ७७३ जना कैदीबन्दी राखिंदा जोखिम देखिएको छ । महिला कैदीबन्दीलाई श्रावण २७ गते बर्दिया र दैलेख स्थानान्तरण गरिए पछि बाँके कारागारमा हाल महिला कैदीबन्दी छैनन् । नयाँ आएका महिला कैदीबन्दीलाई बर्दिया पठाउने गरिएको छ । भाद्र २ गते कर्तब्य ज्यान मुद्धामा आएकी एक महिलालाई पनि बर्दिया कारागार पठाइएको जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए ।
३०० पुरुष र ५० महिला गरि जम्मा ३५० क्षमताको बाँके कारागारमा २०७७ भाद्र २ गतेसम्म ७७३ जना पुरुष कैदीबन्दी रहेका छन् । महिला राख्ने कारागारको थुनाकेन्द्रमा श्रावण २७ गते पछि आएका नयाँ २६ जना पुरुष कैदीबन्दीलाई राखिएको छ । कोरोना संक्रमणको जोखिमबाट बचाउन नयाँ आएका कैदीबन्दीलाई खाली गराइएको महिला थुना केन्द्रमा राखिएको जेलर श्रेष्ठले जानकारी दिए ।
यसरी हेर्दा ३०० जना पुरुष कैदीबन्दी राख्ने क्षमता भएको बाँके कारागारमा दोब्बर भन्दा दोब्वर बढी कैदीबन्दी छन् । पुरुष थुनाकेन्द्रमा ७४७ जना कैदीबन्दी छन् भने महिला तर्फ भने ५० जनाको क्षमता भएकोमा महिला कैदीबन्दीलाई दैलेख र बर्दिया स्थानान्तरण गरिए पछि आएका २६ जना पुरुष कैदीबन्दीलाई राखिएकोले क्षमता अनुसार नै रहेका छन् ।
पीडित कैदीबन्दीका अनुसार, क्षमता भन्दा दोब्बर बढी भएका कारण पुरुष कैदीबन्दीलाई निकै समस्या परेको छ । उनीहरु कोचाकोचको अवस्थामा बस्नु परेको, एकै कोठामा बढी भएका कारण पालैपालो सुत्नु पर्ने अवस्था रहेको बताउँछन् ।
यसै गरि कोठा भित्र नअटाएर बाहिर पाल लगाएर बस्नु पर्ने र बर्षातमा निकै कष्टकर जीवन ब्यतित गर्नु पर्ने अवस्था रहेको देखिन्छ । पटक पटक यस बिषयमा अदालत र सरकारी तवरबाट अनुगमन भई सुधारका लागी सिफारिस भए पनि कार्यान्वयन हुन नसक्दा कैदीबन्दीले कारागारमा आधारभुत आवश्यकता सम्म पुरा हुन सकेको छैन ।
सिमित साँघुरा कोठामा घेरै जना बस्नु पर्ने, सिमित शौचालय, बस्नमा कठिनाई प्रमुख समस्या हुन । ठाउँ नहुदा कतिपय थुनुवाहरु बाहिर नल्कीको धारा मुनी समेत बस्नु पर्ने अवस्था छ ।

सात जना कोरोना संक्रमित पुरुष कैदीबन्दी मंगलबार कोरोना भाइरसलाई जितेर पुनः कारागार फिर्ता भएका छन् । पीसीआर परिक्षणका क्रममा बाँके कारागारका ७ जना थुनुवालाई कोरोना संक्रमण देखिए पछि बाँकेको खजुरामा रहेको कृषि तालिम केन्द्रमा राखिएको थियो ।
१४ दिन पछि पुनः पीसीआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिए पछि कारागारमा फिर्ता ल्याइएको जेलर देवेन्द्र श्रेष्ठले जानकारी दिए । उनीहरुलाई पहिले राखिएकै स्थानमा राखिएको जेलर श्रेष्ठले बताए । खजुरा स्थित कृषि तालिम केन्द्रको बनाइएको आइसोलेसन केन्द्रमा अझै १ जना महिला बन्दी आइसोलेसनमा रहेको जेलर देवेन्द्र श्रेष्ठले बताए । कोरोना संक्रमित देखिए पछि उनलाई श्रावण २७ गते आइसोलेसनमा लगिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया