नरैनापुर किन लुकाउँदैछ सूचना ?

बाँके नरैनापुर गाउँपालिकाले क्वारेन्टाइन ब्यवस्थापनको नाममा ब्यक्ति विशेषलाई २१ लाख ३५ हजार रुपैया भत्ता दिएपछि उत्पन्न विवादमा माँग गरिएको सूचना गाउँपालिकाले लुकाउँदै आएको छ ।

भत्ताको चौतर्फी विरोध भइरहँदा स्थानीय बासिन्दा समेत रहेका पत्रकार विनय दीक्षितले गाउँपालिकाबाट भत्ता र सो संग सम्बन्धित विषयमा सूचना माँग गरेका छन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र नेपालको संविधान २०७२ को धारा २७ बमोजिम प्रमाणित सूचनाका लागि उनले उजुरी दर्ता गरेका थिए ।

बमोजिमको म्याद १५ दिन भित्र सूचना उपलब्ध गराउनु पर्नेमा सो सम्बन्धी १७ दिन हुँदा समेत कुनै सूचना नदिइएको जानकारी दिँदै दीक्षितले भने, मुद्दा सम्मै पनि जान सकिन्छ, हाल सूचना अधिकारीलाई कारवाही माँग गर्दै कार्यालय प्रमु समक्ष पुनः ७ दिने उजुरी दर्ता गरिएको हो । राष्ट्रिय सूचना आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकार, प्रधानमन्त्रीको कार्यालय समेतलाई बोधार्थ गरि पेश गरिएको उजुरी निवेदनमा क्वारेन्टाइन ब्यवस्थापन समिति गठन गर्न बसेको बैठकको निर्णय र समिति पदाधिकारीहरुको नाम तथा ठेगाना र कुन सदस्य वा पदाधिकारीको जिम्मेवारी कुन क्वारेन्टाइनमा थियो भनि सूचना माँग गरिएको थियो । क्वारेन्टाइन ब्यवस्थापनमा भएको खर्च विवरण(हरेक क्वारेन्टाइन अनुसार र शीर्षक अनुसार खपत भएको सामाग्री र सुविधा) को दर रेट र बिल भरपाई, क्वारेन्टाइनमा बसेका ब्यक्तिहरुको नाम र ठेगाना तथा क्वारेन्टाइन विवरण, गाउँपालिका कार्यालयमा रहेका कर्मचारी, करार कर्मचारी वा अन्यको नाम र पद समेतको विवरण तथा करार कर्मचारी वा अन्य कर्मचारीको तलब सुविधा समेतको विवरण माँग गरिएकोमा सो उपलब्ध हुन सकेको दीक्षितले बताए । आ.व.२०७६।०७७ मा खर्च भएको विकास बजेट र कुन कार्यका लागि कति रकम खर्च भएको हो, उक्त कार्यको जिम्मेवार ब्यक्ति, गत तीन वर्षको लेखा परीक्षण प्रतिवेदन, क्वारेन्टाइन ब्यवस्थापन समितिको कुन पदाधिकारीलाई कति भत्ता रकम दिइएको हो, सो सम्बन्धी प्रमाणित विवरण माँग गरिएको निवेदन पत्रमा उल्लेख छ । गाउँपालिकामा संचालनमा रहेका सवारी साधन, ती कुन कुन साधनमा पछिल्लो ३ वर्ष भित्र इन्धनमा कति कति लागत खर्च आयो र मर्मत तथा सर्भिसमा लागेको रकमको विवरण लगायतको सूचना माँग गरिएको दीक्षितले बताएका छन् । गाउँपालिकाले २१ लाख ३५ हजार रुपैया क्वारेन्टाइन ब्यवस्थापन समितिका संयोजक बृजेन्द्र कुमार यादवको ब्यक्तिगत खातामा पेश्की दिएपछि उत्पन्न विवाद अझ बढ्दै गएको पाइएको छ । गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह हाल भारतको लखनउमा रहेको गाउँपालिका कार्यालयले जनाएको छ । उनी औषधी उपचारको सिलसिलामा भारत गएको र एक साता हुँदा समेत नफर्किएको कर्मचारीले जनाएका छन् । गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले आफुले माँग भएको सूचना बारे सरोकारवाला शाखालाई पत्राचार गरेको तर हाल सम्म कुनैपनि सूचना प्राप्त नभएका कारण दिन नसकिएको बताएका छन् । सूचना दिनका लागि आफु संग सूचना हुनु अनिवार्य विषय हो, सूचना अधिकारी मिश्र भन्छन्, विभिन्न शाखामा दर्जन बढि पत्र पेश गएको छ, तर सूचना हात परेको छैन । उनले भने, कारवाही ती शाखाका प्रमुखहरुलाई नै हुनु पर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया