नेपालगन्ज, कोहलपुर र खजुराको चर्चा गर्ने हो भने प्रत्येक महिना टिप्पर, ट्रक, ट्यान्कर, ट्याक्टर र जिपमोटर र कारले मात्र होइन मोटरसाइकलबाट पनि थुप्रै साइकल यात्रुहरुको मृत्युको आंकडा भेट्न सकिन्छ । यसको अर्थ नेपालगन्ज र यसको आसपासका सडक सुरक्षित छैनन् । अर्थात, नेपालगन्ज शहर अझै साइकल मैत्री छैन ।

सतिश निरौला
दोस्रो बिश्वयुद्द पछि नै नेदरल्यान्डमा साइकलको क्रेज बढेको मानिन्छ । पेट्रोलियम पदार्थमा लागेको नाकाबन्दी र सवारी साधनबाट भएको प्रदुषणले आजित भएको नेदरल्यान्डले बैकल्पिक सवारी साधनको रूपमा साइकललाई रोजेर चमत्कारिक रूपमा आफुलाइ अहिले साइकलको देशका रूपमा उभ्याएको छ ।
नेदरल्यान्डमा सन् १९७१ मा सवारी साधन कार, मोटर र मोटरसाइकल दुर्घटनाबाट करिबकरिब ३ सय मानिसको मृत्यु भयो झन्डै ४ सय ५० बालबालिकाले ज्यान गुमाए त्यसपछि त्यहाँ विभिन्न सामाजिक अभियान शुरु भयो र बालबालिकाको हत्या बन्द गर भन्दै मानिसहरू सडकमा उत्रिए जसले नेदरल्यान्ड लाई साइकल मैत्री देश बनाउन मद्धत गर्यो ।
नेदरल्यान्डमा आज मानिसको संख्या भन्दा बढी साइकलको संख्या भएको देश भनेर चिनिन्छ । त्यहाँका प्रधानमन्त्रीको फोटो समय समयमा सामाजिक सञ्जालहरुमा साइकल कुदाएरै राजदरबार पुगेको हेर्न पाइन्छ । थुप्रै सडकहरु साइकलका लागि बिशेष प्रकारले बनाइएका छन् ।
माथी केहि चर्चा नेदरल्यान्ड को गरिएपनि हामी आफ्नै सेरोफेरो नेपालगन्ज र यसको आसपास कै शहर र गाउँको चर्चा गरौं । नेपालगन्ज , कोहलपुर र खजुराको चर्चा गर्ने हो भने प्रत्येक महिना टिप्पर, ट्रक, ट्यान्कर, ट्याक्टर र जिपमोटर र कारले मात्र होइन मोटरसाइकलबाट पनि थुप्रै साइकल यात्रुहरुको मृत्युको आंकडा भेट्न सकिन्छ । यसको अर्थ नेपालगन्ज र यसको आसपासका सडक सुरक्षित छैनन् । अर्थात, नेपालगन्ज शहर अझै साइकल मैत्री छैन ।

नेपालगन्ज अर्थात बाँके जिल्ला पनि नेपालमा बढी साइकलको प्रयोग हुने जिल्ला मध्य कै हो । ५० को दशक सम्मको अवस्था हेर्ने हो भने बाँके ( नेपालगन्ज ) को प्रमुख सवारी साधनका रूपमा साइकल नै थियो, कार्यालय आवतजावत गर्ने कर्मचारी हुन् वा स्कुल क्याम्पस जाने बिद्यार्थी सबैको एउटै सवारी साधन थियो साइकल । नगन्य मात्रामा देखिन्थे निजी कारहरु र मोटरसाइकल अति सम्पन्नका घरका साधन थियो मोटरसाइकल । साधारण परिवारका लागि त एउटा साइकल हुनुपनि ठुलो कुरा थियो तर परिस्थिति फेरिदै गयो ऊ बेला मानिस सङ्ग भएको जग्गा जमिन को खासै मुल्य थिएन । १ बिघा जग्गा बेच्दा पनि जेनतेन गाह्रो पर्थ्यो मोटरसाइकल चढ्न । मानिसहरु वैदेशिक रोजगार मा पनि कमै जाने गर्दथे त्यसैले मानिसहरू सङ्ग नगद पैसाको अभाव नै थियो । तर, बिस्तारै परिस्थिति र अवस्था फेरिएसङ्गै शहरमा मात्र होइन गाउँमा पनि साइकल पातलिंदै गयो ।
गाउँघरमा समेत घर घरमा स्कुटी , मोटरसाइकलले भरिदै गए तर हाम्रो देशको अवस्थालाई हेर्ने हो भने हामी इन्धन डिजेल, पेट्रोल र मट्टीतेलमा परनिर्भर नै छौं । बार्षिक रूपमा ठुलो रकम इन्धन खपत बापत बाहिरिने गर्छ अनि यसले हाम्रो वातावरण र पर्यावरणलाई समेत दिनहुँ क्षति पुर्याइरहेको छ भने सङ्ग सङ्गै मानवीय क्षति पनि बढिरहेको छ ।
बिलासी सवारी साधनका प्रयोगले हृदयघात, सुगर जस्ता रोगको सिकार हर घरमा मानिसहरू भैरहेका छन् । मानिसलाई बिलासी सवारी साधनले रोगी र अल्छी बनाउदै लगिरहेको छ । अहिले त निजी मात्र होइन सरकारी अड्डाहरुमा त झन् महँगो महँगो गाडी मोटर चढ्ने होड नै बढेको छ । जनताको सेवाका लागि चुनिएका पालिकाहरुका जनप्रतिनिधिमा पनि सवारीसाधन प्रतिको मोह बढी नै देखिंदै आएको छ ।
नेपालमा बार्षिक रूपमा अरबौ अरब रुपैयाँ सरकारी कोषबाट सवारी साधन खरिद, मर्मत र इन्धनको नाममा खर्च हुने गरेको छ । जनप्रतिनिधि हरुले मात्रै पनि बिलासी जिवन शैली त्यागेर आउने हो भने राज्यको अरबौ रुपैयाँ त जोगिन्छ नै आम नागरिकलाई समेत यसले सकारात्मक प्रभाव र सन्देश प्रवाह गर्न सक्छ । नेपालमा कम्युनिस्ट पार्टी को मेजरिटीको सरकार हुँदा नेताहरूले साधारण र स्वस्थ्यकर जीवनशैली अपनाउनु पर्छ भन्ने अपेक्षा हुनु स्वाभाविक हो ।
यसको अर्थ देशका प्रधानमन्त्री, मन्त्री, माननीय, मेयर आदि जनप्रतिनिधि दिनभरी हिंडेर वा साइकल चढेरै जनता को काम गरुन् र शासन सत्ता सन्चालन गरुन् भन्न खोजेको होइन । २० लाखको कार चढेर पनि पालिकाको काम गर्न सकिने ठाउँमा करोडौंका गाडीहरू खरिद हुनु चाहिँ अलि बेठीक नै हो । त्यसविरुद्ध जनता जाग्नुपर्छ । सरकारका उच्च पदस्थ प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिवहरु लगायतले महिनामा ४ दिन मात्र मोटर गाडी नचड्ने र वातावरण मैत्री बन्ने हो भने पनि आम मानिसहरुमा सकारात्मक सन्देश प्रवाह हुनेछ र आर्थिक रूपमा र वातावरणीय रूपमा पनि फाइदा पुग्ने छ ।

सतिश निरौला
नेपालगन्ज र आसपासमा दिनहुुँ जसो हुने सवारी दुर्घटना रोक्न साइकल लेनको निर्माण किन नगर्ने ? साइकलमा यात्रा गर्नेहरुले अकालमा मृत्यु ग्रहण कहिलेसम्म गर्नुपर्ने ? साइकल चढ्नेहरुले कहिले आफ्नो सुरक्षित लेनमा साइकलमा हिड्न पाउने ? यो महत्वपूर्ण बिषय र प्रश्न हो । नेपालगन्ज, कोहलपुर र खजुरामा गरि तत्काल ६०र७० किलोमीटर मात्र भएपनि साइकल मैत्री सडक बनाउने हो भने थुप्रै सवारी दुर्घटनाबाट हुने मृत्यु जोगाउन सकिन्छ ।
हाम्रो चेतना कहिले फेरिएला नेदरल्यान्ड का प्रधानमन्त्री साइकलमा मै राजदरबार जानेआउने गरे जसरी हाम्रा देशका पालिका प्रमुख र प्रधानमन्त्री र मन्त्री गण कहिले जालान साइकलमै आफ्नो अड्डा ?








