आन्तरिक राजस्व कार्यालय लगायतका सार्वजनिक कार्यालयहरुले सेवा सुचारु गरेका छन् । निषेधाज्ञाका कारण रोकिएका सार्वजनिक सेवा तथा कोरोना संक्रमणले थलिएका विभिन्न कार्यालयहरुले सेवा सुचारु गरेका हुन् ।
सेवाप्रदायक आफ्ना कर्मचारीहरुमा एक्कासी कोरोना संक्रमण देखिएपछि बन्द गरिएका तीनवटा सरकारी कार्यालयले आइतबारबाट आफ्ना सेवा पुनः सुचारु गरेका हुन् ।

नप्रतिनिधि र कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई सातादेखि सिल गरिएको नेपालगन्ज उप–महानगरपालिका कार्यालय पनि आइतबारदेखि सञ्चालनमा ल्याइएको छ । नेपालगन्ज उप–महानगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर उप–महानगरपालिकाबाट प्रदान गरिने सेवा सुविधा सुचारु गरिएको जनाएको छ ।
उपमहानगरका सम्पूर्ण २३ वटै वडा कार्यालयहरू पनि आइतबारदेखि नै सुचारु गरिएको र कोरोनाविरुद्ध उच्च सावधानीअपनाउँदै मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
“श्रावणको अन्तिम दिन भएकाले चाप बढ्छ कि भनेर हामीले पूर्वतयारी पनि सोही बमोजिम गरेका थियांै तर चाप सामान्य नै रह्यो,” आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रकाश पौडेलले दैनिक नेपालगन्जसँग भने ।
“अन्तशुल्क नविकरण र खरिद बिक्री खाताको लागि म्याद समेत थप गरिएका कारण सोमबार देखि भिड कम हुने हाम्रो अनुमान हो ।” प्रमुख कर अधिकृत पौडेलले भने –“तर हाम्रो पूर्वतयारी र सतर्कताको व्यवस्था गरेका छांै । ”
तोकिएको बारहरु अनुसार सेवा प्रदान गर्ने सुचना जारी गरिएका कारणपनि सेवा लिन आउने सेवाग्राहीको चाप कम भएको यातायात व्यवस्था कार्यालय, नेपालगन्जका साहयक स्तर पाँचौका प्रेम बहादुर वलीले दैनिक नेपालगन्जलाई जानकारी दिए ।
मोटरसाइकल, स्कुटर मोपेड जस्ता २ पाङ्ग्रे सवारी साधन कर बुझ्ने र ब्लुबुक नविकरण गर्ने कार्य आइतबार, सोमबार, मंगलबार र बुधबार गरी हप्तामा ४ दिनमात्रै र अटोरिक्सा, कार, जीप, बस, ट्याक्टर र ठूला मेशिनरी उपकरणको निम्ती बिहीबार र शुक्रबारका निम्ती तोकिएको वलीले बताए ।
“सवारी चालक अनुमतिपत्र नविकरण, स्मार्ट कार्ड वितरण, सवारी बाटो इजाजत दिने र जाँचपासको काम नियमित रुपमा हुनेछ ,” – सहायक स्तर पाँचौ वलीले भने “मोटरसाइकल, स्कुटर मोपेड जस्ता २ पाङ्ग्रे सवारी साधनको नामसारी गर्ने काम अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको छ ।”
सेवाग्राहीले कार्यालयमा प्रवेश गर्ना साथ साबुन पानीले हातधुने, सेनिटाइजर लगायनुका साथै ज्वरो नाप्ने व्यवस्था समेत मिलाइएको यातायात व्यवस्था कार्यालयका वलीले जानकारी दिए ।
कर्मचारीमा सङ्क्रमण देखिएको उच्च अदालत पहिले नै सञ्चालनमा आइसकेको छ ।
जिल्ला अदालत बाँकेले आइतवार सरोकारवालाबीच बैठक गरि सेवा सुचारुको निर्णय गरेको छ । उच्च अदालत बारका अध्यक्ष विकास आचार्यका अनुसार, बार र बेन्चको बैठक गरि सेवा सुचारु गर्ने निणर्यय गरिएको हो ।

यसैबीच, लकडाउनका बेला पनि निकै सक्रिय देखिएको वाणिज्य कार्यालय बन्द भएको छ । कार्यालयका कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि साउन २४ गतेबाट अनिश्चित कालका लागि कार्यालयमा सेवा प्रवाह रोकिएको हो । अर्काे सूचना जारी नगिरिंदासम्म सेवा रोकिएको वाणिज्य कार्यालयले जनाएको छ ।
४२ जना प्रहरीलाई सङ्क्रमण देखिएपछि बन्द रहेको वडा प्रहरी कार्यालय नेपालगन्ज पनि अझै बन्द नै रहेको छ ।








