अब भेरीमैं कोरोना उपचार

आइसियु र भेन्टिलेटर सहितको कोरोना अस्पताल बनाउन थालिएको हो । यो तयार भएसँगै खजुरामा कोरोना उपचार बन्द गरि क्यान्सरका बिरामीको नियमित उपचार सुचारु हुनेछ ।

कोरोना कहरले च्यापेको ५ महिनापछि कोभिड १९ अर्थात कोरोना भाइरसका बिरामीको उपचारका लागि सुविधा सम्पन्न अस्पताल बनाउन लागिएको छ । सरकारले कोरोना उपचारका लागि लेभल २ को स्तरमा राखेको भेरी अस्पतालमैं कोरोना अस्पताल बनाउने प्रक्रिया अगाडी बढाइएको हो ।
मुलुकमा एक्कासी कोरोना कहरको संन्त्रास फैलिएपछि भेरीकै कमाण्डमा सरकारले खजुरास्थित क्यान्सर अस्पतालमा आइसोलेसन अस्पताल तयार गरेको थियो । करीब ५० बेडको आइसोलेसनलाई निरन्तर सञ्चालन गरिरहँदा क्यान्सरका बिरामीको उपचारमा बाधा पुगेको भन्दै आपत्ति जनाइएपछि सरकारले भेरीमैं कोरोना अस्पताल बनाउन लागेको हो ।
एकसय बेडसम्मको योजना बनाइएको छ, भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले कोरोना अस्पतालमा कम्तिमा १० थान भेन्टिलेटर सहित आइसियु समेतको प्रस्ताव गरिएको जानकारी दिंदै भने, सरकारसँग भेन्टिलेटरका लागि प्रस्ताव पठाइसकेका छौं । सरकारले उच्च प्राथमिकतामा राखेर माग अनुसारका उपकरण उपलब्ध गराउनेमा आफु विश्वस्त रहेको डा. थापाको भनाइ छ ।
भेरी अस्पताल पश्चिम नेपालकै आश लाग्दो अस्पताल भएकाले जटिल प्रकारका विरामी उपचारका लागि आइसियु र भेन्टिलेटरको पर्याप्त उपलब्धता छैन । त्यसबीच कोरोना उपचारको समेत व्यवस्था भेरीमैं गरिंदा प्रस्ताव अनुसारका उपकरणका लागि दबाब आवश्यक देखिएको सम्बद्ध चिकित्सकहरुको भनाइ छ । तत्काल १० थान भेन्टिलेटर अपरिहार्य छ, चिकित्सकहरु भन्छन्, अहिले अस्पतालमा रहेका ५ वटा भेन्टिलेटर र आइसियु विभिन्न जटिल प्रकारका उपचारमा नियमित उपयोग भइरहेका हुन्छन् ।
सरकारले कोरोनाका लागि खजुरामा आइसोलेसन अस्पताल बनाएपनि त्यसको सम्पूर्ण कमाण्ड भेरीलाई सुम्पिएको थियो । ५ महिनादेखि कोरोना उपचारको कमाण्ड सम्हालिरहेका डा. थापाले क्यान्सर अस्पतालमा लामो समयसम्म कोरोनाको उपचार चलाइरहँदा समस्या देखिने भएकाले भेरीमैं आइसोलेसन वार्ड तयार गर्न लागिएको बताए । सरकारकै योजनामा काम अगाडी बढाइएको हो, डा. थापाले काम अगाडी बढिसकेको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, हरेक बेडमा अक्सिजनको पाइप पुग्ने गरि सुविधाजनक आइसोलेसन तयार गरिंदैछ ।
अहिलेपनि भेरीमा ४ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । खजुरामा ३२ जना उपचारार्थ छन् । डा. थापाका अनुसार, अब बन्दै गरेको कोरोेना अस्पतालमा गम्भीर प्रकृतिका विरामीमात्र भर्ना गरिनेछ । कोरोना संक्रमितहरु अस्पताल तथा आइसोलेसन केन्द्रमा राखिंदै आएकोमा एकसातायता सामान्य अवस्थाका संक्रमितलाई घरमैं समेत बस्ने स्वीकृति दिइन थालेको छ । बाँकेमा सेल्फ पेइंग आइसोलेसनका रुपमा सुविधा सम्पन्न होटलको समेत व्यवस्थापन गरिएको छ । गम्भीर प्रकृतिका बिरामीहरुलाई मात्र अक्सिजन सहितको अस्पतालको व्यवस्था गर्न लागिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार, मुलुकभर ९४२ वटा भेन्टिलेटर र ४९२ वटा आइसियु उपलब्ध छन् । ती मध्ये आधाबढी राजधानी काठमाडौंमा मात्र उपलब्ध छ । शुक्रवारमात्रै ४ जना कोरोनाका संक्रमित विरामीलाई आइसियुमा राखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया