नेपालगन्जमा जनप्रतिनिधिलाई कोरोना संक्रमण पुष्टि भएको छ । निरन्तर खोकी लाग्यो, ज्वरो देखिएपछि चेक गराउँदा कोरोना भाइरस संक्रमण पुष्टि भयो, नेपालगन्ज उपमहानगरपालिकाका वडाध्यक्षले नेपालगन्जन्यूजसँग भने, अरु समस्या देखिएको छैन ।
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिसहित ५४ जनाको स्वाब संकलन गरिएकोमा एक जना वडाध्यक्षसहित दुई जनामा सोमवार संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
बाँके जिल्ला अदालत कोरोना संक्रमणको हटस्पट देखिएको छ । भेरी अस्पतालमा हिजो गरिएको चेकजाँचमा १२ जनामा थप संक्रमण पुष्टि हँुदा अदालतका मात्रै पाँच जना छन् । भेरी अस्पतालका अनुसार, नयाँ संक्रमण भएकोमा आर्मी अस्पताल राँझाका एक जना चिकित्सक सहित ३ जना, अदालतका ५ जना, खजुराका १ जना लगायत छन् ।
कारोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको आशंका गर्दै भिड नियन्त्रणका लागि बाँके जिल्लामा हिजोबाट निषेधित क्षेत्र जारी गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले संक्रमण समुदायस्तरमा फैलिएको अवस्था देखिएको औल्याउँदै निषेधाज्ञाको पालना गर्न आव्हान गरेका छन् । स्थानीय प्रशासनले हटस्पट पहिचान गरि सिल गर्ने योजना बनाइएको छ । त्यसका लागि सम्बद्धहरुसँग छलफल भइरहेको बताइएको छ ।