
मित्रलाल सापकोटा
भनिन्छ कुनै आस्तिकको भगवानबाट जब आस्था विश्वास टुट्छ त्यतिखेर त्यो भन्दा नास्तिक मान्छे नै संसारमा अरु हुँदैन । त्यस्तै नेपाली कम्यूनिष्टहरुको पनि समाजको तल्लो तब्कालाई समाजमा बाँच्न न्यूनतम आधार बनाउने भन्ने कम्यूनिष्टहरुका कार्यकर्ताहरुको आस्था र विश्वास जुन थियो त्यसको आजसम्म आइपुगदा त्यो आस्था र विश्वास पुरै भत्केको छ । कहिँ कतै पनि यो कुरामा आस्था र विश्वास राख्ने आधार अब रहेको देखिँदैैन । नेकपा भन्ने पार्टी बनेपछि बिक्रम सम्बत २००६ साल यताका डेढ दशक जति मात्रै एउटा किसिमको आस्था रहेको यिनीहरुको इतिहास रहेको छ । २०२२ साल यताका पछिल्ला पाँच दशक भन्दा बढि समय यिनीहरुले पार्टीको नेता को बन्ने र कसले पार्टीको कमान समालेर हाली मुहाली गर्ने भन्ने मै बितेको इतिहासका बीच अहिलेको नेकपा बनेपछि सम्म पनि यसैको सेरोफेरोमा कम्यूनिष्टहरुको यात्रा निरन्तर जारी रहेको छ ।
कुनै समय नब्बेको दशक लगत्तै पछि नेपाली कम्यूनिष्टहरुको मातृपितृसंस्था (कलकत्ते कम्यूनिष्ट) माक्र्सवादी कम्यूनिष्ट पार्टीले आफ्नै दस्तावेजमा स्वीकार गरेको थियो कि उनीहरु यतिसम्म स्खलित भएका छन् कि अब उनीहरुमा अवसरवाद, गुटबन्दी, जोडतोड र व्यत्तिवाद, जातिवाद र आफ्नो पद र कैरियरवादको चरम अवस्था आएको छ भनेर । यो साहस उनीहरुले खुलेरै गरे कि आफुमा भएको गलत प्रवृतिको र यस्तै रही रहेमा इण्डियाका कम्यूनिष्टहरुको दूर्दशा नराम्रो हुने घोषणा नै गरे । यो कुरा उनीहरुको सत्य साबित भयो । ३३ बर्ष पश्चिबंगाल राज्य सहित तीनवटा राज्यमा शासन गरेकाहरु ज्योति बसु र बुद्धदेव भट्टाचार्यको बंगालको शासनपछि निमिट्यान्न हुनेगरि नै बडारिए । कुनै समय इण्डियाको संसदमा सरकार बनाउने र भत्काउने हैसियत राख्ने कम्यूनिष्टहरुको जम्मा जम्मी बीऊ भनेको केरलामा रहेको छ त्यो पनि आउने निर्वाचन पछि के हुने हो थाह छैन । त्यहाँको कम्यूनिष्टका ठूला ठूला महारथी मानिने नेताहरुको चुनावमा जमानत नै जफत भएका खबर पनि आएकै हुन ।
यहाँ नेपाली कम्यूनिष्टहरुको प्रसंगमा इण्डियन कम्यूनिष्टहरुको दशा र दिशा उल्लेख गर्नुको मूख्य कारण भनेको आज नेकपा बिल्कुल काटीकुती त्यहि बाटोमा छ । उसैपनि नेकपाको पाँचौं महाधिवेशन (२०४९ माघ १४–२०) ले पारित गरेको जनताको बहुदलीय जनबाद भनेको नै भारतीय कम्यूनिष्टहरुको संसदीय व्यवस्थामा रजगज गर्ने चरित्रको नेपाली रुपान्तरण मात्रै हो । तर यसलाई ल्याएर निकै कसैले गर्नै नसक्ने काम गरेको भनेर जसरी विगत झण्डै तीन दशक देखि खोकिँदै छ यसको कुनै तुक छ जस्तो लाग्दैन । कम्यूनिष्टहरु सिद्धान्तः तानाशाही प्रवृतिका नै हुन्छन् । यिनीहरुको स्कूलिङ नै अरु कसैको सिद्धान्त या विचार आफ्नो सिद्धान्तसँग मेल नखाएमा या उनीहरुको कुरामा सहमत नभएमा त्यस्ता असमती राख्नेहरुको जुनसुकै उपायबाट भएपनि हुर्मत लिनै पर्ने भन्ने रहेको हुन्छ । यहि सद्धान्तमा हुर्के बढेका र शिक्षित भएकाहरुलाई भाकपा र माकपा इण्डियन कम्यूनिष्ट पार्टीले त्यहाँको परिवेशमा प्रयोग गर्दै आएको कुरालाई यहाँ जनताको बहुदलीय जनबाद भन्ने दस्तावेजमा समावेस गरिँदा नौलो निकै नौलो भएको मात्रै हो । जबजको मुख्य बिशेषता भनेको नै कम्यूनिष्टहरु निर्वाचनको माध्यमबाट संसद छिर्छन, पार्टीभित्रका सबै कमिटीहरुमा पनि देखावटी नै भएपनि निर्वाचन अबलम्बन गर्छन भन्ने नै हो जुन कुरा इण्डियाका कम्यूनिष्टहरुले नेपालका कम्यूनिष्टहरुले भन्दा दशकौं पहिलादेखि प्रचलनमा ल्याएर संसदमा छिरेका थिए ।
जबज लेख्ने मुख्य व्यक्तिको असामयिक निधनले यसको कार्यान्वयन अधुरो रहेको बाहनामा आजसम्म पनि त्यहि कुरालाई राजनीतिको गरीखाने बाटो बनाएको कुरा छर्लङ्ग रहेको छ तथापियसतर्फको मार्गमा नेकपाका धेरैले जान चाहेका छैनन् । हुन त उनीहरु अब संसदीय अभ्यासभन्दा बाहिर बाँच्नै सक्दैनन् भन्ने कुरा बन्दुक बोकेर आतंक नै मचाएर हजारौं मान्छेको प्राण छिनेर लाखौंलाई बेघर र बेसहारा बनाएर उकछत्र स्टालीन शैलीको शासनको परिकल्पना गरेकाहरु समेत त्यहि संसदभित्र नछिरेसम्म दीर्घकालीन रुपमा टिकीरहन र बिकीरहन नसकिने रहेछ भन्ने स्वीकर गरेर आइसकेपछि जबजको महान उपलब्धि मान्नेहरुको पनि नेकपामा कमी छैन । त्यसैले पनि जबजलाई एकथरीले वेद कुरान र बाइबल जसरी व्याख्या गर्ने गर्छन ।
खासमा त्यो जबज भन्ने दस्तावेजले कम्यूनिष्टहरुको चरित्रमा आधारभूत रुपमा भरेको कुरा भनेको मात्रै दलाल पूँजिवादको शिक्षा नै हो । यसमा समाजका निमूखाहरु, देशभित्रका लगानीकर्ताहरु, सिँङ्गो समाजको एउटा कर्मशील वर्गका लागि रोजगारीको सृजना गर्नेहरु र राज्यलाई राजश्वको अभिनिर्माण गर्नेहरुका लागि खासै कुनै कार्यक्रम त्यसमा रहेकोे छैन ।
जबजको विषय प्रवेश मै राष्ट्रिय पूँजीको बिकास नगरी आत्मनिर्भर औधोगिक राष्ट्रिय अर्थतन्त्रको बिकास संभव हुँदैन भनिएको छ । तथापि जबज कै आर्थिक बुँदामा देशको अर्थतन्त्रको मोडेल मिश्रित भन्ने बाहेक कुनै ठोस लाइन नै छैन । कृषिको कार्यक्रममा जमीनमाथि सामन्ती भूस्वामित्वको अन्त्यको कुरा गरिएता पनि हाल नेकपाका अधिकांश नेताहरु या त जमिन्दार छन् या उनीहरु कतिपय जमीनको खण्डीकरण गरेर घडेरीको व्यापार गर्ने दलाल छन् । सुकुम्बासी समस्याको अन्त्यको कुरा पनि केहि हुकुमबासीहरुलाई नै जग्गा वितरणमा गएर सधैं टुगिंन्छ । यहाँ पनि जबजको बहस नेकपाको चरित्रमा गएर र्नै टुङ्गिन्छ भन्दा पनि हुन्छ ।
जबजको उद्योगको बुँदा हेर्यो भने यसैको विषय प्रवेशलाई नै उपहास गरेको छ । नेपालमा नीजि क्षेत्र वा राष्ट्रिय पूँजीपति वर्ग, राष्ट्रिय पूजीपतिवर्गले स्थापना गरेका उद्योगहरु र समाजमा सानो लगानीबाट रोजगारी सृजने प्रतिष्ठानहरुलाई कुनै महत्व दिइएको छैन । आज त्यस्ता सबै कार्य सरकारले नै गर्ने नीति बोकेको जबजका अनुयायीहरुको नेकपाको चरित्रमाकतै पनि तारतम्यता देखिँदैन । जबज भनेको यति होल्डिङ्ग, ओम्नीको सुरक्षा गर्ने नदीनालाको दोहन कार्यकर्ताहरुबाट गराउने या देशका ठूला संस्थानहरु नै नीजिकरण गर्ने हो किन नभन्ने ?व्यापारको क्षेत्रमा साना व्यापारीहरुको संरक्षणको कुरा जबजमा भएता पनि यसको बाहक नेकपामा त्यो चरित्र नै छैन । आज नेपालमा यदि कोही सुकिलामुकिला छन् अलि सम्पन्न छन् भने ती अन्य पार्टीमा भेटिँदैनन् ती भटिने भनेको नेकपा भन्ने पार्टी मै हो । यो दस्तावेज जबजमा ९३ ठाउँमा प्रयोग गरिएको क्रान्ति र क्रान्तिकारी शब्द र यसको कार्यक्रमले ल्याएको परिवर्तनबाट नेकपाका कार्यकर्ताहरुको आर्थिक हैसियतमा परिवर्तन भएको होइन । न त यो झलनाथको नौलो जनवादले ल्याएको हो न प्रचण्डको प्रचण्डपथ या २१ औं शताब्दीको जनवादले ल्याएको परिवर्तन हो । किन कि ती कार्यक्रमहरु त जनता झुक्याउने, संसारलाई हामी सिद्धान्तको लाइनमा रहेर चलेका छौं भनेर देखाउने पोथ्रा मात्रै हुन । नेकपाका नेता कार्यकर्ताकोयी कुनै पनि वादसँग कतै चरित्र र्नै मिल्दैन ।
जबजले आन्तरिक अन्तरविरोधीका रुपमा किटान गरेको नेपाली काँग्रेसका कार्यकर्ताको हैसियत भन्दा धेरै माथि आजको मितिमा नेकपाका कार्यकर्ताहरुको आर्थिक हैसियत रहेकोछ । प्रजातान्त्रिक उपलब्धिको विरोधीको रुपमा प्रस्तुत गरिएको नेपाली काँग्रेसका कारण भन्दा नेकपा कै चरित्रका कारण प्राप्त गरिएका भनिएका उपलब्धिहरु धरापमा हिजो पनि परेका थिए भने आज पनि नेकपाको वर्तमान चरित्रले त्यहि देखाइरहेको छ ।
अहिले फेरि नेकपामा अर्को पटक फेरि उहि पुरानो भ्रमजाल (जनताको बहुदलीय जनबाद) कोखतीउपती शुरु भएको छ । तीन दशक पहिला गरिएको बहस र कार्यपत्रले आजसम्म गरिखाएको बाटोमा नयाँ बहज ल्याउन खोजिएको छ । तर त्यो कार्यक्रमले नेपाल र नेपालीलाई के दियो, नेपालीको जीवनमा के कति परिवर्तन आयो भन्ने बारेमा समिक्षा नै गर्न खोजिएको छैन । जबजको मुख्य सिद्धान्तको रुपमा रहेको बहुदल र निर्वाचन कै कारण अतिवादी फासिष्टहरु हत्या र हिंसाबाट नै सबै शक्ति हासिल गर्न सकिन्छ भन्ने मार्गका माओवादी लगायतकाहरु र चुनावबाट नै सबै लिन सकिन्छ भन्नेहरु एउटै भाँडोमा अटाएको कुरा यहाँ कुनै बहसको बिषय बन्दैन । कार्यकर्ताहरुको चर्चाको बिषय बन्दैन किन ? के फेरिपनि अर्को भ्रम छरेर आफ्नो चरित्रलाई यथास्थितीमा राख्दै जबजले नै बनाएको नेकपाको चरित्र भन्ने स्थापित गराउने प्रयत्न त होइन ?जनबादबाट आतंकबाद, फासीबाद, धनबाद हुँदै डनबादसम्मको चरित्र आजको नेकपाको हो कि वास्तविक रुपमा नै जनताको बहुदलीय जनबादको बहस जरुरी नै छ ?








