पछिल्ला केहि दिन देखि नेपाल र इण्डियामा सर्वाधिक चर्चाको बिषय बनेको छ राम जन्मभूमि । यो भन्दा पनि चर्चाका व्यक्ति र बिषय बनेका छन् नेपालका प्रधानमन्त्री के पी शर्मा ओली र उनको रामजन्मभूमि अयोध्याका बिषयमा दिएको प्रवचन । चौधौं शदाब्दी देखि नै विवादमा रहेको रामजन्मभूमि इण्डियाको फैजावाद जिल्लामा रहे्को अयोध्या जसलाई त्यहाँको सनातनि हिन्दूहरुद्धारा त्रेता युगिन भगवान विश्णुअवतार श्री रामको जन्मभूमि भन्ने दावा गर्छन् त्यसको बारेमा किटानी नगरिकनै निकै कुटनैतिक तर कडा रुपमा नेपालका प्रधानमन्त्री ओलीले रामायणको नेपाली अनुवादक भानुभक्त आचार्यको जन्म जयन्तीको अवसर पारेर भगवान श्री रामको जन्मस्थानको बारेमा दिएको अभिव्यक्तिबाट सिँगो इण्डियादेखि विश्वमा धेरै नै मिडियाबाजी मात्रै भएको रचर्चा पाएको छ । यसलाई हिन्दी फिल्मको भाषामा भन्ने हो भने यो कथा रातारात अकस्मात नै सुपरहीट भएको छ ।
इण्डियाले ५ अगस्त २०१९ का दिन आफ्नो संसदमा एउटा विद्येयक प्रस्तुत गर्दै आफ्नो संविधानको धारा ३७० लाई संशोधन गर्यो र यससँग सम्बन्धित उपधारा ३५ए को खारेज गरी जम्मूकश्मीरको विशेषाधिकारको अन्त गर्दै यसलाई दुइवटा राज्यमा बिभाजन गरेपछि नोभेम्बरको महिनामा नेपालको परापूर्वकाल देखि नै कायम रहेको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा बिक्रम सम्बत २०३१ यता नेपालको नक्शाबाट गायब भएको तथ्यको फाइदा उठाउँदै आफ्नो राजनीतिक नक्शामा समेट्न पुग्यो । यस प्रकरणले नेपाली जनताको सम्प्रभूता नेपालका सडकहरुमा इण्डियाको बिरुद्ध फेरि एकपटक पोखियो । यो चर्चामा ओलीले सामेल हुन खोजेनन् र नेपालको भूमिको बिषयमा नक्शा त जस्ले छापेपनि हुन्छ भन्ने जस्ता अनर्गल कुरा गर्दै हिँडे । नेपाली जनताको सम्प्रभूता ओलीको गफमा थामिएर बस्नेवाला जस्तो कमजोर पनि थिएन । त्यसैले यसका बिरुद्ध निकै दवाब सृजना भयो र अन्ततोगत्वा ओली नक्शा अरुले होइन यहि जनताले पत्याएर सत्तासीन बनाएको सरकारले नै छाप्न पर्ने रहेछ भन्नेमा पुगे । यसमा उनी निकै दबावमा त्यतिखेर पुगे जब उनलाई आफ्नै पार्टीभित्रबाट भागबण्डाको आधारमा सत्ताबाट हटाउने खेल चल्न थाल्यो । यस्तो बेलामा यो नक्शा आफैले छाप्दा एउटा तीरले तीन तीन शिकार गर्ने बाटो देखियो ।
एकातिर आफ्नो नाकाबन्दीका बेला बनेको राष्ट्रवादी छवि अझ तिखारिएर जाने, अर्कोतिर नक्शाबाट गायब भएको भूभाग पुन नक्शामा जोडेको जसलिएर आफ्नो कुर्सीका पहरेदार नेपाली जनतालाई बनाउन मिल्ने भने यो सिँगो प्रकरणबाट आफ्ना बिरोधीहरुलाई ठाउँको ठाउँ थचक्क पार्न सकिने । यी तीन फाइदा देखेका राजनीतिका चतुर खेलाडी ओलीले नेपालको नक्शामा छुटेको भूभाग जोडेर एकाएक अर्कोपटक राष्ट्रवादी भएको पगरी मात्र गुथेनन् वर्तमान नेपालको वर्तमान राजनीतिका एकछत्र खेलाडीको रुपमा उदाय ।
हुन त यसअघि पनि प्रधानमन्त्री के पी ओली नेपालले संविधान जारी गरिसकेपछि नेपालमाथि लगाएको इण्डियन नाकाबन्दीका बेला इण्डियासँग तत्कालै वार्ता गर्न तयार नबनेका कारण चर्चामा आएका थिए । शायद त्यो बेला नै हुनुपर्छ कुनै नेपालको प्रधानमन्त्रीको नाम र यहाँको प्रधानमन्त्रीलाई धेरै इण्डियनहरुले चिन्ने मौका पाएका थिए । हुन त २०४६ सालताका प्रधानमन्त्री रहेका स्वर्गीय मरिचमान सिँहलाई अहिलेको जस्तो सञ्चारको पहँुच नभएको र नेपालको शासनसत्तामा प्रधानमन्त्री भन्दा राजा कै बढि भूमिका रहेका कारण उनलाई त्यति इण्डियनहरुले चिनेनन् तर प्रधानमन्त्री ओली यो मालिमामा निकै अगाडी रहे । उनलाई राम्रैसँग चिन्ने मौका इण्डियनहरुलाई मिल्यो । यो नक्शा प्रकरण अर्को मौका थियो हरेक इण्डियनका लागि नेपालका प्रधानमन्त्रीको चर्चाको बिषय बनेको । यसलाई लिएर इण्डियन मिडियाहरु तिलमिलाए । उनीहरुले एउटा सार्वभौम राष्ट्र आफ्नो परम्परागत छिमेकी नेपालका प्रधानमन्त्रीको ओहोदाको पनि कुनै मानराख्न मनासिब ठानेनन् । नेपालका प्रधानमन्त्रीलाई अनेकौं लाञ्छना लगाउँदै उसको शास्त्रिय शत्रु देश चीनको पपेट बनेको जस्ता अति नै घृणित बयानबाजी गर्दै नेपालको अर्को छिमेकी राष्ट्र चीनका राजदूतसँग जोडेर कथाहरु पस्किन थालेपछि ती मिडियाहरुलाई नेपालमा प्रतिबन्ध नै लगाउनु पर्यो । यो अर्को प्रकरण थियो इण्डियनहरुका लागि जसबाट नेपालका प्रधानमन्त्री इण्डियनहरुमा निकै चर्चित बन्नका लागि ।
प्रधानमन्त्री ओलीलाई आफ्नै पार्टीभित्रबाट पुरै एक्लाउने खेल चलिरहेकै बेला यता स्थायी समिती बैठक, केद्रिय समिती बैठकहरु लम्बित हुँदै थिए भने ओलीलाई नेपालको इतिहासका बारेमा अनुसन्धान गर्नुपर्ने आवश्यकताको बारेमा नेपालका विद्दत वर्गले सुझाइरहेका बेला भानुभक्तको जन्म दिन पारेर गरिएको एउटा कार्यक्रममा भगवान राम नै नेपाली भएको र उनी नेपालको अयोध्यापुरीमा जन्मेको भन्ने भनाइ राखिदिँदा इण्डियाको लागि भिरबाट खसे जत्तिको हुनु स्वभाविक नै थियो । त्यहाँका मिडियाका लागि यो भन्दा ठूलो मुद्दा नै अर्को बन्ने कुरै भएन नेपालका प्रधानमन्त्रीको बिरोधका लागि । यहाँ आइपुग्दा नेपाल नचिन्ने र नेपालका प्रधानमन्त्री नचिन्ने शायदै कुनै इण्डियन बचे होलान् । ओलीको चर्चाको ढोल त इण्डियामा आज पर्यन्त पनि बजिरहेको छ ।
नेपालको ऐतिहासिकतालाई हेर्ने हो भने प्रधानमन्त्री ओलीको यहाँसम्मको चर्चाले केहि कुराको गोरेटो अवश्य पनि कोरेको छ भन्ने मलाई लागेको छ । यसलाई सबैले आ आफ्नै पाराले बुझ्ने गरेका छन् । केहि नेपाली बुद्धिबिलासकहरु ओलीलाई एउटा उदण्ड शासकको रुपमा स्थापित गराउन पुरै शक्ति लगाइ रहेका छन् । यसो गर्दा उनीहरुले आफु नेपाली भएको सम्म पनि बिर्सेर इण्डिया कै जनता, त्यसकै नूनपानी खाएको र उतैबाट नै पालिएको निर्लज्ज देखाउन पनि पछि परेका छैनन् । उनीहरुको व्यवहार यतिसम्म छताछुल्ल भएको छ कि हिजो उनीहरुले गरेका भनिएका इण्डियन भक्तिभावका कथाहरु शंका नभएर यर्थाथमा परिणत भएका छन् । यो मामिलामा ओलीले अर्को फड्को हानेर उनी हिजोका जस्ता दिल्ली भक्तिमा लम्पसार पर्ने प्रधानमन्त्री होइनन् र उनी एउटा सार्वभौम राष्ट्रका सम्प्रभू जनताबाट निर्वाचित प्रधानमन्त्री हुन भन्ने स्थापित गराउन खोजेका छन् ।
उनको पछिल्लो रामायणको बालकाण्डले आस्थाको जमिनमा कति आघात पुर्यायो या पुर्याएन भन्ने कुरा यहाँ चर्चाको कुनै बिषय नै होइन । न त यहाँ भगवान श्री राम को जन्म कहाँ भएको थियो ? उनी नेपाली थिए कि इण्डियन भन्ने पनि यहाँ कुनै प्रश्न होइन । भगवान त भगावान नै हुन । उनी कहाँ जन्मे या जन्मेनन् त्यस कुराले भगवान श्री राम मा आस्था राख्नेहरुका लागि कुनै अर्थ राख्दैन । तर हामी मौलिकतामा गर्व गर्नेहरु, रैथानेपनको अभियानमा लागेकाहरु, आफ्नो जरो र किलो नेपाल हो र नेपाली शासन सत्ताको निर्णायक शक्ति भनेको नेपाली मात्रै हुनुपर्छ भन्ने मान्यता राख्नेहरु र नेपाललाई वैश्विक सभ्यताको केन्द्र बनाउन नेपालको इतिहास, यहाँको पौराणिकता र यहाँको भाषाहरु, धर्मसँस्कृतिका बारेमा गहिरो गरि अध्ययन र अनुसन्धान हुनुपर्छ भन्नेहरुका लागि ओलीको यो कदमले पककै पनि नयाँ बाटो खोलिदिएको छ ।
त्यति मात्रै होइन कि ओली लहडै लहडमा आफ्नो सत्ता टिकाउन या अन्य कुनै कारणले यस्ता कुराहरु गर्दै र बोल्दै जान्छन् भन्ने पनि होइन । उनको यो अभिव्यक्तिको साइड इफेक्ट नै मान्न पर्छ कि इण्डियाको अयोध्यामा भव्य राम मन्दिरको शिलन्यासमा भएको ढिलाइको आइसब्रेक भएको छ । अस्ति मात्रै अयोध्यामा राम मन्दिरको शिलन्यास गर्ने मिति तय गरिएको आउने अगस्त ५ तारिखका लागि । त्यो दिन इण्डियाका प्रधानमन्त्री देखि रक्षा मन्त्री र सन् १९९२ मा बाबरी मस्जिद भत्काउँदाका अगुवाहरु मुरलीमनोहर जोशी र लालकृष्ण आडवानी समेत त्यहाँ पुग्ने तय भै सकेको छ ।
ओलीले आफ्नो सत्ताका लागि नै यसो गरेका हुन भन्नेहरुका लागि र जीन्दगी भरि माक्र्स लेनिन स्टालिन र माओको आर्दशलाई मानेर भौतिकताबाद नै सबथोक हो भन्ने र उनीहरु मात्रै सर्वशक्तिमान हुन भन्ने भ्रम समाजमा छरेर नेपाली अस्मिताको उछितो काढ्नेहरुका लागि ओलिले नयाँ पाठको अध्याय नै खोलिदिएका छन् । आफै पनि जिवनभर माक्र्सवाद र भौतिकतावादको सर्मथक रहेका ओली अहिले नास्तिकबादी पार्टी नेकपाका सर्वशक्तिमान अध्यक्ष मात्रै छैनन् निर्वाचित प्रधानमन्त्री पनि छन् । उनको जीवनको उत्तरार्धमा फर्केको मतिले उनका लाखौं नास्तिक प्रशंसकहरुलाई हजारौं पटक रामको नाम लेख्न र बोल्न बाध्य बनाएको पनि छ । यसबाट केहि भएपनि नास्तिकहरु माथि आस्थिकहरुको बिजयका रुपमा लिनै पर्छ । जसले आजसम्म भगावान रामको अस्तित्वलाई अस्वीकार गर्यो, जसले नेपाली अस्मिताको सधैं उछितो काढ्न मै आफ्नो जित ठान्यो उसैका अगुवाबाट रामको जन्म र उनको अस्तित्वका बारेमा चर्चा गरिनु यो कुनै चानचुने साहस मात्रै होइन नेपाली मौलिकतामा भगवान प्रति आस्था राख्ने परम्पराको बिजय पनि हो ।
नेपालको निर्णय क्षमतामा जुन ह्रास पछिल्लो दिनमा २०४६ साल यता आएको थियो त्यसको कसीमा हेर्ने हो भने यसले नेपालको सार्वभौमसत्ताकुनै इण्डियनहरुको बन्धकी होइन भन्ने सन्देश पनि ओलीले दिएका छन् । यत्रो साहस कि त राजा महेन्द्रमा नै थियो या फेरि उनी पछि ओलीले नै जुटाएका छन् । २०२८ सालमा राजा महेन्द्रको देहवसान पछि नेपालीको नाम चलेको भनेको मात्रै वर्तमान प्रधानमन्त्री ओलीका कारण नै हो । त्यो अलग पाटो हो कि त्यसबेला राजा महेन्द्रले नेपालको शिर ठाडो पारेका कारणहरुसँग ओलीको कर्मलाई तुलना गरेर उनको दाँजोमा उभ्याउन भने किमार्थ सकिँदैन । तरपनि ओलीले नेपालको दिल्ली परस्त लम्पसारबादी नीतिमा परिवर्तन ल्याउने प्रयास पक्कै गरेका छन् ।
नेपालको प्रधानमन्त्री आफ्ना निर्णयहरु गर्न कुनैपनि छिमेकी राष्ट्रको ढोका ढक्ढक्याउन जानुपर्दैन आफै आफ्नो विवेकले निर्णय लिन सक्छ र स्वतन्त्र छ भन्ने सन्देश पनि ओलीका पछिल्ला कामहरुले दिएको छ । यो कुरा नेपालका लागि अर्को गतिलो पक्ष हो । यसमा उनका निर्णयहरु कस्ता भए या यसले कस्तो असर पार्यो भन्ने बारेमा छुट्टै बहस गर्न सकिन्छ । यहाँ उनको आन्तरिक शासन प्रशासन र कामको शैलीको बारेमा सहमतिराखेको पनि होइन । उनको बिरोध गर्ने खालका काम पनि भएका छन् ।उनको अमेरिकी प्रेम र होलीवाइन प्रेमलाई पनि कुनैपनि अर्थमा मुक्त कण्ठले प्रशंसा गर्ने ठाउँ छैन, तर उनले नेपालको सम्प्रभूताको बारेमा र नास्तिकहरुको छाडापनमा कटाक्ष गर्दै दिन खोजेको सन्देशको पक्कैपनि ठूलो अर्थ छ । आजसम्म नेपालका प्रधानमन्त्रीहरुले नेपालका आरध्यदेव भगवान पशुपतिनाथको बिशेष पूजा गरेको र नेपाली जनताले यसको आनन्द लिएको र गर्व गरेको दिन आएको छैन । नेपालको अस्मिताको लागि प्रधानमन्त्री ओलीबाट यो काम पनि गरेमा नेपाल वास्तविक रुपमा सहि मार्गमा लागेको अर्को सन्देश दिन प्रधानमन्त्री ओली सफल बनुन् भन्ने शुभकामना सहित नेपाल र नेपालीको पुर्नजागरणको यूगको निरन्तरता होस् र हरेक नेपालीले आज नगरे पनि भोली उनको यो सत्कर्मको गर्व गर्ने अवसर प्राप्त होस ।








