
आजभोलि जताततै बलात्कार जस्तो जघन्य अपराधिक घटनाको खबर आइरहेको हुन्छ । कानूनी शासन व्यवस्था हुंदाहुदैं बलात्कारका घटनाक्रम दिनदिनै बढ्नुको कारण आखिर के त । कसैले चांसो लिदैंन् न यस बारे कुनै खोजिनीति नै हुन्छ ।दिनदिनै बलात्कार जस्तो जघन्य अपराधको खबर आउंछ केही दिनमै सेलाएर जान्छ । एउटा घटना सेलाउन पाउदैंन् कि एक पछि अर्को घटना दोहोरिदैंछ । घटना पछि न पीडितले न्याय पाउछिंन् न दोषीले सजाय । बरु महिलाकै गल्ती रह्यो होला, उसले अर्धवस्त्र लगाएर हिडिहोली , उत्ताउली भए होली वा एक्लै अबेर राति हिडि होली, शोशल मीडियामा दिनरात आनलाईन बस्थिहोली अबेर राति सम्म च्याट र गफ गर्थिहोली । अनि यो घटना त हुनु नै थियो भनी पीडितमाथि नै दोषारोपण गरिन्छ ।
लेखको प्रारंभमा नै यो प्रष्ट गरिन्छ कि यो लेख पुरुषलाई आरोप लगाउने आशयले लेखिएको होईन् । जसरी सबै पुरुष दुष्ट हुदैन्न् त्यस्तै सबै पुरुष सज्जन हुदैन्न् सज्जनहरुलाई सम्मान छ । महिलालाई सम्मान गर्ने पुरुषहरुलाई सलाम छ तर यस लेखमा आजको यथार्थलाई कोरिएको छ । वर्तमान समयमा बढ्दो बलात्कारको घटनाले समाजमा एक खालको त्रास फैलिएकोछ । मान्छे देखि मान्छे डराउने अवस्था सृजना भएको छ । यौनदुर्व्यहार ,यौनहिंसा र बलात्कार विभिन्न कारण छन् त्यस मध्ये शोशल मीडिया पनि प्रमुख कारण हो ।
यस कारण साचों कुरा गरौं भने आजभोलि शोशल मीडियाले झन् महिलाहरुलाई असुरक्षित बनाएको छ र बलात्कार जस्ता घटना निम्तियाएको छ । जहां शोशल मीडिया मार्फत साथी बनेर विभिन्न बहानामा रकम अशूलीका साथै मित्रता गहिरो हुदैं प्रेमजालमा पार्न सफल भइ बलात्कार गर्ने सम्म पुगेका घटना सुन्छौं । त्यहीं शोशल मीडियामा कसैलाई साथी नबाउंदा वा हरेक महिलाको अस्मिता तपाईको परिवारका महिलाहरु अस्मिता सरह नै अनमोल हुन्छ उनीहरुको पनि आफ्नो दिदी बहिनी सरह इज्जत गर्न सक्नुपर्छ भनी कुनै महिलाले भन्छिन् भने के नतिजा आउंछ त्यो हामी अगाडि लेख पढेर थाहा पाउनेछौं । हुन त तल लेखिएको यो काल्पनिक कथा हो तर यस्ता घटना दिनहुं घट्दैछन् भन्नुमा दुई मत छैन् । शोशल मीडियामा फ्रेन्ड रिक्वेस्ट पठाएपछि हाय हेलोबाट सुरु हुन्छ कुराकानीको सिलसिला ।
पहिलो घटना ः
केटाले हाय साथी कुरा किन गर्दैनौ मलाई कति रहर छ तपाई संग कुरा गर्न । अर्को दिन फेरी जवाफ न आएपछि मेसेज आउंछ किन जवाफ नदिएको व्यस्त नै हो वा मसंग रिसाएर हो कुरा नगरेको । केही दिनपछि केटीले जवाफ दिन्छिन् मलाई कुरा गर्नु छैन् अन्जान व्यक्ति संग सो मलाई मेसेज नगर्नु अब देखि । उताबाट फेरी मेसेज आउंछ मलाई तपाईको पोस्ट , अभिव्यक्ति अनि तपाई पनि मन खुबै पर्नुहुन्छ । केटीले जवाफ दिन्छिन् मन पर्छु त मसंग बिहे गर्न सक्छौ । उताबाट जवाफ आउंछ बिहे त कहां गर्न सक्छु मेरो त बिहे भइसकेछ वा मेरो त बिहे यही महिनामा हुनेवाला छ । केटीले जवाफ दिन्छिन् उसो भए आफ्नो पत्नी वा हुनेवाली पत्नी संग कुरा गर्नुस् । उताबाट जवाफ आउंछ मेरो कुलघरानमा छोरी मान्छेले मोबाईल चलाउने अनुमति छैन् यो शोशल मीडिया प्रयोग गर्ने छाडापनको इजाजत हाम्रो घर परिवारमा छैन् । उसो भए तपाईको नजरमा मोबाईल चलाउने केटीहरु छाडा हुन्छन् उनीहरुको मान सम्मान हुदैंन् । होईन् हजुर मेरो भनाइ यो मात्र कि साथी त बन्न सकिन्छ नि । जब मोबाईल चलाउने जति महिला छाडा हुन् भने त्यस्ता संग केको मित्रता । उताबाट जवाफ आउंछ अरे हामी आफ्नो कुरा गरौंला आफ्ना सुखदुख साटौंला केही समयका लागि ब्वॉयफ्रेंड बनूंला अरु के । केटीको जवाफ आउंछ मलाई यो फाल्तु काममा कुनै लगाव छैन् म धेरै व्यस्त हुन्छु मेरो पढाई गर्नुको साथै मलाई अरु नि काम हुन्छन् । उताबाट जवाफ आउंछ तिमी जस्ती केटीसंग कुरा गर्ने मलाई कुनै शोख छैन् दिनभरी शोशल मिडियामा हजारौंसंग कुरा गर्ने अनि मेरो सामु बडा पवित्र बन्न खोज्ने । भाई म त मेरो इच्छको कुरा गरें मलाई मन छैन् मित्रता गांस्न तपाईको आफ्नो घरमा नि दिदी बहिनी होलिन् के तिनका लागि नि ब्वॉयफ्रेंड खोज्न रुचाउनु हुन्छ । उताबाट जवाफ आउंछ एक त म तिम्रो दाई भाई होईन् अर्को कुरा मेरी दिदी बहिनीको विरुद्ध बोलिस् भने मुख भाचिदिन्छु मेरो घरकी महिलाको विरुद्धमा एक शब्द बकवास गरिस् भने जानेछु तलाई । त जस्ति छाडा केटीहरुलाई राम्ररी चिनेछु मैले दिनभरी मोबाईल खेलाउने गफ र च्याट गर्ने अनि मेरो अगाडि सतिसावित्री बन्ने । पख तलाई त म जानेछु ठीक पार्न ।
अनि सुरु हुन्छ बदलाको भावना किनभने पुरुषको आत्मसम्मान जागेर आउंछ उसको पुरुषत्व उसको गैरत र जमीर जाग्छ किन भने कसरी कसैले उसको परिवारका महिला सदस्य बारे सांचो कुरा बोल्ने हिम्मत गर्न सक्यो । अनि उसले विभिन्न तरिका सोच्न थाल्दछ महिलालाई हानी नोक्सानी पुर्याउने र परिणाम अपहरण ,चरित्रहत्या , ऐसिडअटैक र बलात्कार जस्ता जघन्य अपराध सम्म पुग्ने गर्छ ।
भने अर्को घटना फ्रेन्डरिक्वेस्ट स्वीकार गरेपछि हुन्छ त्यस बारे पनि अलि चर्चा गर्नु आवश्यक छ । घटनाको सुरुआत हुन्छ एडरिक्वेस्ट स्वीकार गरेपछि ।
दोस्रो घटनाः
केटाको मेसेज आउंछ हाय साथी के छ खबर । केटीले जवाफ फर्काउछिन् र भन्छिन् । म सन्चै छु तपाई भन्नुस् के छ खबर । सामान्य कुराकानी बीच केही दिनमै यताबाट मेसेज जान्छ हामी यति समय देखि साथी छौं तिमीलाई हेर्ने इच्छा छ एउटा फोटो पठाउन त । उताबाट फोटो पठाईन्छ फोटो हेरेर यताबाट जवाफ जान्छ फोटो त दामी छ तर म तिम्रो प्रशंसा फोनबाट गर्न चाहन्छु के फोन नम्बर दिन्छौ यति त विश्वास छ नि ममाथि । उताबाट फोन नम्बर सहित जवाफ आउंछ विश्वास भएर त फोटो पठाएकी हुं । यताबाट जवाफ जान्छ अनि फोन र च्याटको मित्रतालाई अलि गाढा बनाउनु पर्दैन् अब त हामी यति मिल्ने साथी भइसकेछौं । उताबाट जवाफ आउंछ नांई भेट्न डर लाग्छ म भेट्दिन् । यताबाट जवाफ जान्छ उसो भए अहिले सम्म तिमीले ममाथि विश्वास गर्न सकेछैनौ भो अब कुरा गर्न पर्दिन् भनि रिसाए झैं गरी । उताबाट जवाफ आउंछ विश्वास छ म भेट्न आउंछु ल । पहिलो पटक भेट्दा राम्ररै कुराकानी हुन्छ खुशगवार महोलमा अनि यो भेटघाटको सिलसिला दोहोरिन्छ तेहेरिन्छ । त्यसपछि एक दिन साथीको साथीले साथीकै फोनबाट कल गर्छ कि तिम्रो साथीलाई सन्चो छैन् धेरै बिरामी छ भेट्न आउन सक्छ्यौ ? बिचरा यति मात्र सोध्न सक्ने गरी बोल्छिन् कहां छ अहिले ऊ म भेट्छु । फोनमा ठांउ बताईन्छ केटी भनेको ठांउमा पुग्छिन् त्यहांको महोल हेरेर उनी हक्का बक्का हुन्छिन् साथी सही सलामत आफ्नो साथीहरुसंग हासी हासी कुरा गरिरहेको हुन्छ र तिनलाई मुर्ख बनाएर आफुले चाहेको ठांउमा बोलाउन सफल हुदां सम्मको सबै घटनापक्रम सिलसिलेवार रुपले ती साथीहरुलाई मज्जाले सुनाइरहेको हुन्छ । उनी त्यहांको सबै अवस्था नियत बुझिसक्दा भाग्ने प्रयास गर्छिन् तर त्यहां रहेका अरु पांच सात जनाले उनलाई समातेर कोठाभित्र थुनिदिन्छ । कोठामा थुनिसकेपछि उनी सामुहिक बलात्कारको सिकार हुन पुग्छिन् ।
हुन् त माथिका दुबै घटना काल्पनिक हुन् जसमध्ये एउटा घटनामा केटीले शोशलमीडियमा साथी बन्न अस्वीकार गरेपछि रिस र आवेगमा आएर घटना घटाइने कुरा उल्लेख छ भने अर्को घटनामा केटीलाई शोशलमीडियमा साथी बनाएर विश्वासघात गरी घटाईने घटना उल्लेख गरिएको छ । यसो भन्दा त यी दुइटै घटना काल्पनिक नै हुन् तर हुन सक्छ यस्ता घटनाले कैयौंलाई पीडित बनाएको हुन सक्छ । यस कारण शोशल मीडियमा अन्जान व्यक्तिसंग टाढा रहनु नै बेस ।
यो कस्तो समाज बनिसकेछ कि जहां नियत पुरुषको खराब हुने घुम्टो महिलाले ओढ्नु पर्ने , आंखा पुरुषले लाउने लाज महिलाले छोप्नु पर्ने , नियतमा खोट पुरुषको हुने आवश्यक कामले पनि राति महिलाले हिड्न नहुने , विश्वास घात पुरुषले गर्ने र दोषीपीडित महिला हुनु पर्ने । वाह बडो शानदार समाज छ हाम्रो जहां महिला मात्र घटनाको दोषी पुरूष दूधमा नुहाएर पवित्र भइ आकाशबाट झरेका छन् जो हरेक दोष र आरोपबाट मुक्त छन् ।
भनिन्छ गर-गहनाले सिङ्गारिएकी भन्दा नम्रता, लज्जा र सालिनताको गहनाले सजिएकी स्त्रीहरु कैयौं गुणा श्रेष्ठ हुन्छिन् । यदि सुकिलो लुगा लगाउने , राति आवश्यक कामले निस्किने शोशलमीडियमा आनलाईन रहने महिला मात्र बलात्कार हुने दोषी हुन् भने दूधमुखे दुई महिना देखि छ महिना कि बालिका बलात्कृत हुनुको कारण के ? वयस्क महिला मात्र नभइ साठी भन्दा माथिकी वृद्धाआमा बलात्कृत हुनुको कारण के ? राति असुक्षित ढंगले हिड्दा बलात्कार हुन्छ भन्नेहरुसंग एउटा प्रश्न कि सुरक्षाका जिम्मेवारहरुको बीच आफु नि सुरक्षा दस्ताको हिस्सा हुदांहुदैं व्यारेक भित्र महिला बलात्कृत हुनुको कारण के? खेतमा काम गर्दा होस् वा घांस दाउराका लागि जंगल मात्रको के कुरा गर्ने आफ्नै घरमा नि महिला सुरक्षित हुदैनिन् कारण के? वैवाहिक समारोह बीच पनि महिला र बालिका बलात्कृत भ एका कैयौं घटना सुनियो । महिलाको मात्र के कुरा गर्ने पुरुष समेत बलात्कृत हुनुको कारण के? यहां त महिला पुरुष मात्र नभइ तेस्रोलिंगी समेत बलात्कृत भएका छन् त्यसको कारण के? मानवजाति लाई छाडौं जनावरलाई समेत छाड्दैन्न् जनावरको बलात्कार हुनुको पछाडि कारण के? महिलाभित्र मात्रै नम्रता हुनु पर्ने पुरुष चाहि छाडा र क्रुर भए नि हुने ? लज्जाले महिला मात्रै श्रिंगारिएकी हुनु पर्ने पुरुष लज्जाले श्रिंगारिनु पर्दैन्? सालिनताको उदाहरण महिला मात्रै बन्नु पर्ने पुरुष सालिनताका उदाहरण बन्न सक्दैन्न् ?
हेर्ने हो भने दिनकै घटिरहेका घटनाहरु मध्ये राजनीतिकर्मी र संचारकर्मी महिलाका लागि एकथरी चुनौती त छदैंछ । तर एउटी सामान्य महिला आफ्नो परिवार पाल्न कतै नोकरी गर्न जान्छिन् भने त्यहां पुरुष सहकर्मीहरुद्वारा पटक पटक यौनदुर्व्यवहारको सिकार हुनुपर्छ । भने शिक्षक त भगवानका अवतार हुन्छन् जसले अरुलाई सभ्य समाज बनाउन शिक्षा दिन्छन् ज्ञान दिन्छन् तर तिनैबाट बालिका विद्मार्थी बलात्कृत हुन्छिन् ।अझ सार्वजनिक स्थलमा महिलाहरुले दिनहुं भोग्नु पर्ने यौनहिंसा र यौनदुर्व्यहारका त कुरै न गरे हुन्छ कति हो कति । डाक्टर जो बिरामीलाई जीवनदान दिन्छन् जसलाई मसीहा भनिन्छ तिनले महिला बिरामीलाई गर्ने गलत व्यवहार बारे पनि खबर आएकै हुन्छन् । कोरोनाबाट सुरक्षित राख्ने क्वारेन्टाईन समेत बलात्कारको घटनाबाट चोखो रहेन् । कामदारलाई यौनदुर्व्यहारको सिकार बनाईयो भने कहीं कामदारले बालिकालाई यौनदुर्व्यहार गरेका अनेक घटना साझा भएकैछन् ।
के उल्लिखित यी घटनाले अझै हाम्रो मुटुमा हरकत गरेन् अहिले पनि हाम्रो आत्मा जागेन् अहिले पनि हाम्रो अन्तरात्मा बिउझेन् अझै हामी सोच्न सकेनौं कि आखिर दिन प्रति दिन बलात्कारका घटनाक्रम बढ्नुको कारण के हो । के साच्चिकै हाम्रो शरीर मात्र जीवित र आत्म मृत भइसकेकै हो त ?
आफ्नो छोरीबेटी आफ्ना दिदी बहिनीको बारे कसैले नराम्रो दृष्टि राख्दा वा नराम्रा शब्द बोल्दा बडो हाई भोलटेजको गैरतको आत्मसम्मानको करेन्ट लाग्छ नि । हो त्यही हाईभोल्टेजको गैरतको करेन्ट अर्काकी छोरीबेटी र दिदी बहिनीका लागि पनि लाग्नु पर्छ । संधै महिलालाई दोषी ठहराउने गरेको समाजले जहां महिलालाई आ आफ्नो धर्मकी पवित्र महिला सतिसीता, सतिसावित्री , मरियम यशोदा झै बन्न उदाहरण दिन्छन् । यहां सम्म कि कुरानपाकमा पवित्र वाणी अर्थात पर्दाको शिक्षा दिन्छ भनी सन्देश दिन्छन् । तर त्यही समाजले कुरानपाक त्यो पवित्रवाणीलाई किन नजर अन्दाज गर्छ जसमा पुरुषका लागि आदेश छ । त्यही पवित्र कुरानपाकमा जहां महिलाका लागि पर्दाको आदेश छ त्यो आदेश भन्दा अघिल्लो पवित्रवाणीमा पुरुषको लागि यो आदेश छ कि “परनारीलाई एक नजरको (एकपल्टको हेराइको) माफी छ अर्को नजर (अर्को पल्ट हेर्ने ) इजाजत छैन् ।” आफ्ना सन्तानलाई यी पवित्र ग्रन्थका पुरा जानकारी किन गराउदैनौं किन अधूरो जानकारी दिएर उनीहरुलाई पापको भागीदारी बन्न उत्प्रेरित गर्छौं । यसकारण बच्चाहरुमा जहां छोरीलाई सालिनताको पाठ सिकाउंछौं त्यही छोराहरुलाई नारीको सम्मान गर्न, सभ्यता र नैतिकताको पाठ सिकाउनु जरुरी छ । यस्ता घटनाका अपराधीलाई सजाय र पीडितलाई न्याय हुनुपर्छ । कहिलेकाही त वास्तविक अपराधीलाई छाडेर समाजको कुनै निर्बल वा गरीब यहां सम्मकी मन्दबुद्धिलाई फसाएर अपराधीलाई विभिन्न दबाब , लोभ र घरौटीमा छाडिने गरिन्छ । यसार्थ जब सम्म यस्ता घटनाका वास्तविक अपराधीहरुलाई कडा सजाय हुदैंन् तब सम्म यस्ता अपराध माथि लगाम लाग्दैन् ।
यस कारण हाम्रो पहिलो कर्तव्य नै आफ्ना सन्तानलाई नैतिक शिक्षा दिनु हो । हामीले आफ्ना सन्तानलाई अरुको छोरीबेटीको सम्मान गर्न सिकाउनु पर्छ । बलात्कार जस्तो संगीन अपराधको दोष महिलामाथि थुपार्नुको सट्टा बरु यस्ता अपराध रोक्न सचेत नागरिकको हैसियतले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ ।
तब मात्र बलात्कार जस्तो जघन्य अपराधको निर्मूल हुन्छ र महिलामैत्री सभ्य समाजको निर्माण हुनेछ ।








