‘लापरवाहीबाट बिरामीको मृत्यु भएको आधार प्रमाण देखिएन’
वेष्टर्न हस्पिटल प्रा.लि. नेपालगञ्ज, बाँकेमा भर्ना भई उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जमा मृत्यु भएको विरामी नारायणी कुमारी बोहराको उपचार प्रक्रियाका सम्वन्धमा अनुसन्धान गर्न गठित छानविन समितिले मंगलबार प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग समक्ष प्रतिवेदन बुझाएको छ ।
छानविनका क्रममा उपचारमा संलग्न चिकित्सक र अस्पताल व्यवस्थापन पक्षबाट बिरामीको स्वास्थ्योपचारमा सक्दो प्रयास गरेको तर विरामीको स्वास्थ्य अवस्थामा अकस्मात जटिलता देखिन गएको र सोही अनुसार चिकित्सकबाट तत्काल उपयुक्त ठहर्याइएको उपचार पद्धति तथा औषधी प्रयोग गरिएको पाइएकोले विरामीको मृत्यु चिकित्सक वा अस्पताल व्यवस्थापनको लापरवाहीबाट भएको भन्न सकिने आधार प्रमाण नदेखिएको छानविन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले जानकारी दिए ।
जिल्ला बर्दिया राजापुर नगरपालिका वडा नं. १० कोठियाघाट बस्ने मोहन कुमार बुढाथोकीले निजको पत्नि निर्मला कुमारी बोहराको वेष्टर्न हस्पिटल प्रा.लि. नेपालगञ्जमा उपचार गराउने क्रममा सो उपचारमा संलग्न चिकित्सक उक्त हस्पिटलले आवश्यकता भन्दा बढी औषधी लगायतका सामग्री खरिद गर्न लगाएको, बाहिरबाट सामान खरिद गरी ल्याउदा रिसाएको, कमिसन आउने ठाउँमा एमआरआई लगायतका परीक्षण गर्न लगाएको, बेड चार्ज लगायतका अन्य चार्जका विषयमा पूर्व जानकारी नदिइएको, अपरेसन पछि बाकि रहेको औषधीजन्य सामग्री फिर्ता नगरेको भन्ने आरोप र चिकित्सक तथा हस्पिटलको लापरवाहीले विरामीको ज्यान गएको आसय सहित विभिन्न ५ बुँदे माग सहित आवश्यक अनुसन्धान गरी कारबाही गरी पाउँ भनी जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएका थिए ।
त्यस पश्चात जिल्ला प्रशासन कार्यालय बाँकेले सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिवक्ता वसन्त गौतम, भेरी अस्पतालका डा. उर्मिला पराजुली र नेपालगंज मेडिकल कलेजका डा प्रकाश नाग रहेका थिए ।
‘मृतकका पतिको निवेदन र त्यसमा औंल्याइएका विषय, समितिसँग छलफल हुँदा निजबाट ब्यक्त प्रतिक्रिया र चिकित्सक एवं वेस्टर्न हस्पिटल प्रालि प्रशासनको लापरवाहीले विरामीको मृत्यु भएको शंका गरिएको भनी निजबाट व्यक्त आधारहरूलाई उपचारमा संलग्न चिकित्सकहरू एवं अस्पताल व्यवस्थापनसँग छलफल गर्दा प्राप्त तथ्य र समितिलाई उपलब्ध गराइएको लिखित जानकारी तथा मेडिकल रिपोर्टहरूका आधारमा समितिबाट प्राविधिक(मेडिकल) र व्यवस्थापकीय पक्षको विश्लेषण गर्दा उपचारमा संलग्न चिकित्सक र अस्पताल व्यवस्थापन पक्षबाट बिरामीको स्वास्थ्योपचारमा सक्दो प्रयास गरेको तर विरामीको स्वास्थ्य अवस्थामा अकस्मात जटिलता देखिन गएको र सोही अनुसार चिकित्सकबाट तत्काल उपयुक्त ठहर्याइएको उपचार पद्धति तथा औषधी प्रयोग गरिएको पाइएकोले विरामीको मृत्यु चिकित्सक वा अस्पताल व्यवस्थापनको लापरवाहीबाट भएको भन्न सकिने आधार प्रमाण देखिएन’ समितिद्धारा बुझाएको प्रतिवेदनमा भनिएको छ ।
छानविन समितिले दिएका सुझाव तथा सिफारिसहरु : छानविन समितिले प्रस्तुत घटनासँग सम्बन्धित प्रत्यक्ष सरोकारबालाहरूसँग गरिएको छलफल, प्राप्त लिखित तथा मौखिक प्रतिक्रिया एवं पेश गरिएका रिपोर्टहरू र समितिले गरेको छानविन एवं विश्लेषणका आधारमा देहाय अनुसारको सुझाव तथा सिफारिस प्रस्ताव गरेको छानविन समितिका सदस्य अधिवक्ता वसन्त गौतमले जानकारी गराएका छन् ।
१. अस्पतालमा विरामीको उपचार गर्दा विरामीको स्वास्थ्य अवस्था र अवलम्बन गर्न लागिएको उपचार पद्धति तथा उपचारमा लाग्ने अनुमानित खर्चका बारेमा विरामीका आफन्तलाई सकेसम्म छिटो जानकारी गराउनु पर्ने ।
२. जुनसुकै अस्पतालमा विरामीको उपचार हुँदा विरामी, निजका कुरुवा (आफन्त) र चिकित्सक बिच हुने अन्तरक्रिया र जानकारी आदान प्रदानलाई सघन र प्रभावकारी बनाउने ।
३. विभिन्न अस्पतालहरूमा अस्पताल परिसर भित्रका औषधी पसलबाट मात्र औषधी किन्नुपर्ने अभ्यासले उपभोक्ताको हक र अधिकारको हनन हुने भएकोले विरामीका आफन्तले आफूले चाहेको पसलबाट औषधी किन्न पाउनुपर्ने व्यवस्था सबै अस्पतालहरूमा अनिवार्य रुपमा लागु गर्ने ।
४. वेस्टर्न हस्पिटलमा उपचार गर्न आउने विरामीहरूको प्रवाह हेर्दा प्रायशः दुर्घटनामा परेका र स्वास्थ्य अवस्था नाजुक भईसकेका विरामी समेत उपचार गर्न आउने भएको हुँदा कम्तिमा एउटा भेन्टिलेटर सहितको क्ष्ऋग् बेडको व्यवस्था गर्दा उपयुक्त हुने ।
५. अनुसन्धान र कानूनी बाटो हुदाँहुदै सो अवलम्वन नगरी भावना र आवेगमा आएर चिकित्सक तथा अस्पतालविरुद्ध नाराबाजी र गाली गलौज गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने ।
यसै बिच छानविन समितिको पहलमा दुवै पक्ष बिच गराईएको छलफलमा मृतक पक्ष र वेष्र्टन अस्पताल पक्ष बिच आईतवार सहमति भएको थियो । जसमा उजुरकर्ताले आवेगमा आएर डाक्टर उपर आक्षेप लगाएको बताउदै मुद्धा मामिला नगर्ने र अस्पतालले पनि लापरवाही गरेको नभएता पनि सामाजिक उत्तरदायित्व अन्तरगत औषधी गर्दा लागेको खर्च मिनाहा गरि क्रिया खर्च उपलब्ध गरि सहमति कायम भएको थियो । यसै गरि उजुरकर्ता मोहन बहादुर बुढाथोकीले श्रीमतीको मृत्यु भएको सन्र्दर्भमा जुलुस प्रदर्शन गर्दा आवेशमा आई चिकित्सकहरु प्रति अर्मयादित, अभद्र टिप्पणी हुन गएको हुँदा सो शब्द फिर्ता लिएको भनी लिखित रुपमा जनाएका छन् ।








