स्थानीय तहको बजेट : स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता

बाँकेका स्थानीय तहहरुले असार १० गतेसम्म बजेट ल्याउने भएका छन् । स्थानीय तहले आगामी आ.व.का लागि स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । कोरोना कहरका कारण परेको शिक्षा, स्वास्थ्य र रोजगारीमा परेको नकारात्मक प्रभाव कम गर्ने प्रयास तर्फ स्थानीय तहको बजेट केन्द्रित हुने गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय सचिवालय सदस्य किस्मत कुमार कक्षपति बताउँछन् । बाँकेका सबै स्थानीय तहको बजेटको आकार भने चालु आ.व.को भन्दा कम हुने निश्चित छ । कोरोनाका कारण चालु आ.व.मा राजश्वमा परेको प्रभाव आगामी आ.व.मा पनि पर्ने देखिएपछि त्यसको प्रभाव बजेटमा पर्ने भएको हो । त्यसबाहेक केन्द्र र संघबाट समेत बजेट बढेर नआउँदा बाँकेका स्थानीय तहको बजेट चालु आ.व.को भन्दा कम हुने नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर बताउँछिन् ।


नेपालगन्ज उपमहानगरपालिकाले आगामी असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिरहेको उपप्रमुख थापा बताउँछिन् । ‘दैनिक बजेट केन्द्रित छलफलमा व्यस्त रहेका छौं’, उनले भनिन्, ‘गत बर्ष भन्दा ३० प्रतिशत भन्दा कम बजेट बन्ने अनुमान छ ।’ उपमहानगरपालिकाको बजेट १ अर्ब २० करोडसम्मको हुने अनुमान गरिएको छ । कोरोनाले पारेको प्रभावलाई कम गर्न युवा रोजगार कार्यक्रमलाई प्राथमिकतामा राखिएको उपप्रमुख थापाले बताएकी छन् ।


खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले पनि असार १० गते बजेट र नीति तथा कार्यक्रम ल्याउने तयारी रहेको जानकारी दिएका छन् । उनले कृषि, रोजगार र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताएका छन् । ‘विकास भनेको बाटोघाटो मात्रै होइन’, उनले भने, ‘त्यसैले अन्य क्षेत्रलाई पनि उत्तिकै महत्व दिएर बजेटमा सम्बोधन हुनेछ ।’


कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावत पनि असार १० मै बजेट ल्याउने बताएका छन् । उनले बजेट बनाउँदा कोभिडले पारेका प्रभावका क्षेत्रमा विशेष ध्यान दिइने बताएका छन् । उनले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताएका छन् । रोजगारी सिर्जना र आयस्तर वृद्धिका लागि कृषिमा पर्याप्त बजेट विनियोजन गरिने प्रमुख रावतले बताएका छन् ।


कोेहलपुर नगर प्रमुख रावतले भारतबाट फर्किएका युवाहरुलाई समूहगत वा व्यक्तिगत कृषिमा आकर्षित गर्ने नीति नगरपालिकाले लिने बताएका छन् । उनले गत बर्षको भन्दा झण्डै १६ करोड कमको बजेट बन्ने जानकारी दिएका छन् ।


बैजनाथ गाउँपालिकाले असार ९ गते नीति तथा कार्यक्रम र १० गते बजेट ल्याउने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचालले आयआर्जनका लागि कृषि र पशुपालनको क्षेत्रमा आकर्षित गर्ने खालको बजेट ल्याइने बताएका छन् ।


नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह पनि कृषिलाई प्राथमिकता दिएर बजेट बनाउने बताएका छन् । उनी भारतबाट पालिकामा फर्किएका युवाहरु पुनः भारत जान नपरोस् भनेर कृषि तर्फ आकर्षित गर्ने नीति बनाउने बताउँछन् ।


डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले असार १० गते पालिकाले बजेट र नीति तथा कार्यक्रम ल्याउने जानकारी दिएका छन् । उनले बजेटमा कोभिड लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा दिने बताउँछन् । अध्यक्ष चौधरीले पालिकाले आगामी आ.व.मा स्वास्थ्य र रोजगारी सिर्जना गर्ने खालका कार्यक्रममा पर्याप्त बजेट विनियोजन गर्ने बताएका छन् । कृषिमा आत्मनिर्भर बनाउने तथा आयआर्जन गर्ने खालका कार्यक्रमहरुलाई बजेटले सम्बोधन गर्ने उनले बताएका छन् ।

आज नीति तथा कार्यक्रम ल्याउँदै जानकी

बाँकेको जानकी गाउँपालिकाले आज सोमबार नीति तथा कार्यक्रम ल्याउने भएको छ । त्यसलाई पास गरेपछि असार १० गते आगामी आ.व.को आय, व्याय प्रस्तुत गरिने प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले जानकारी दिएका छन् । उनले नीति तथा कार्यक्रमले कोभिडका कारण परेको संकटलाई सम्बोधन गर्ने बताएका छन् ।


स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार जानकीको विकासको मूल आधार भन्ने नारा दिएर ल्याउन लागिएको नीति तथा कार्यक्रममा नागरिकलाई स्वरोजगार बनाउने खालका कार्यक्रमहरु समावेश हुने प्रमुख प्रशासकीय अधिकृत खत्री बताउँछन् । उनले अहिलेसम्म सडक मात्रै बनाउने काम भएकोमा अबदेखि सडकसँगै ग्रिनरी पनि गरिने बताएका छन् ।


‘युवालाई स्वरोजगार बनाउने, ग्रिनरी सडक बनाउने, कोभिडसँग लड्ने र त्यसका कारण बेरोजगार युवालाई स्वरोजगार सिर्जना गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ,’ प्रशासकीय अधिकृत खत्रीले भने । उनले पालिकामा प्राविधिक बनाउने विषय पनि नीति तथा कार्यक्रममा समावेश हुने बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया