‘अत्यावश्यक काम बाहेक ननिस्क’

बाँकेमा पनि राती हिडडुलमा रोक लगाउने तयारी

सरकारले अत्यावश्यक कामबाहेक अरु बेला बाहिर ननिस्कन सबै नागरिकलाई पुनः आग्रह गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को शुक्रबार बसेको बैठकले बाहिर निस्किनुपर्दा अनिवार्य मास्क प्रयोग गर्न र अनावश्यक भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको छ ।


बैठकले महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्यांकन गर्दै आगामी दिनमा थप समन्वय गर्दै लैजाने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।


बैठकले देशैभरका क्वारेन्टिनलाई थप व्यवस्थित गर्दै लैजाने तथा त्यसको अनुगमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने, क्वारेन्टिनमा रहेकाहरुको शीघ्र स्वास्थ्य परीक्षण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय परीक्षण निर्देशिकानुसार गरेर त्यहाँ बसेको दुई हप्ताभित्र सक्ने निर्णय गरेको छ ।

सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । त्यस्तै, विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला हुन निषेध गरिएको छ । उत्पादनमूलक क्रियाकलाप, उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माण लगायतमा एक स्थानमा एक पटकमा १० जनाभन्दा बढी भेला हुन नपाइने पनि भनिएको छ ।


गृहको निर्णय कार्यान्वयनका लागि आज शनिबार कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठक बस्न लागेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बताएका छन् । ‘रातीमा मनपरी हिड्दा जोखिम हुने भएकाले राती हिड्न रोक लगाउने तयारी गर्न लागिएको हो’, प्रजिअ कुरुम्वाङले भने ।

प्रतिक्रिया

प्रतिक्रिया