विकास संवादः नेपालगन्ज उपमहानगरपालिका

लकडाउनका कारण विकास निर्माणको बजेट फ्रिज नहोस् भनेर काम गरिरहेका छौं । खासगरी काम नहुँदा फ्रिज हुने खालका बजेट नफर्कियोस् भनेर त्यस्ता काममा ध्यान दिएका छौं । संघ र प्रदेशबाट प्राप्त बजेटहरु फ्रिज नहोस् भनेर दु्रत काम गरिरहेका छौं ।

कोरोना भाइरसको महामारी फैलन नदिन सक्रिय भएका जनप्रतिनिधिहरु क्रमशः विकासका गतिविधिमा केन्द्रीत हुन थालेका छन् । असार लागेसँगै नयाँ आर्थिक वर्षका योजना तर्जुमा पनि गर्नुपर्ने बेला विकासका बाँकी काम सक्न जनप्रतिधिलाई उत्तिकै दबाब छ । यसै दबाबबीच विकासका काममा सक्रिय नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक कुमार बर्मासँग गरिएको संक्षिप्त विकास संवाद आजको अंकमा ।

लकडाउनबीच वडा नं. १८ मा विकासका कस्ता काम भैरहेका छन् ?

समग्र अप्ठ्यारो अवस्थामा पनि हामीले काम गरिरहेका छौं । म मात्रै नभएर वडाका जनप्रतिनिधि, कर्मचारीले काँधमा काँध मिलाएर काम गरिरहनु भएको छ ।
अहिले विकास निर्माणका काम भैरहेको छ । लकडाउनका कारण विकास निर्माणको बजेट फ्रिज नहोस् भनेर काम गरिरहेका छौं । खासगरी काम नहुँदा फ्रिज हुने खालका बजेट नफर्कियोस् भनेर त्यस्ता काममा ध्यान दिएका छौं । संघ र प्रदेशबाट प्राप्त बजेटहरु फ्रिज नहोस् भनेर दु्रत काम गरिरहेका छौं ।


अहिले तीन वटा मन्दिर निर्माणका क्रममा छौं । बाटा, घाटा पनि बनिरहेको छ । वडा कार्यालय बनाउने काम पनि गरिरहेका छौं । नागरिक टोलमा शिलान्यास गरेर ५ सय मिटरको पिच बाटो निर्माण अगाडि बढाएका छौं । वडा नं. १८ मा तरकारी बजार निर्माण कार्य अगाडि बढाएका छौं । जसको शिलान्यास भैसकेको छ । जुन कामहरु असार मसान्त भित्र सक्ने योजना रहेको छ । तरकारी बजार बनाउनुको उद्देश्य भनेको मनिकापुर र एयरपोर्टसम्म हाम्रो सीमाना पर्छ ।

विपीचोक यता कुनै पनि व्यवस्थित तरकारी बजार नभएकाले वडा नं. १८ मा तरकारी बजार बनाउन लागेका हौं । त्यसको मूल उद्देश्य नेपालमै उत्पादित तरकारीको बजारी करण गर्नु हो ।
त्यसबाहेक स्वास्थ्य चौकी व्यवस्थापनमा हामी लागेका छौं । हामी निर्वाचित हुँदा अगाडि वडा कार्यालयमा एउटा स्वास्थ्य चौकी थियो । सानो कोठामा रहेको थियो स्वास्थ्य चौकी । त्यसैले प्रा.वि. स्कुलमा व्यवस्थापन गर्यौं । वडाबाट बजेट व्यवस्थापन गर्यौं । टिनको छाना भएको ठाउँमा स्वास्थ्य कार्यालय रहेकाले औषधी बिग्रने, बिरामी बस्ने, पार्किंग नहुने, पाटेसन नभएकाले उपभोक्ता समिति बनाएर ती काम पनि गरिरहेका छौं ।


वडाको विभिन्न टोलका विभिन्न ठाउँमा बाटो ग्रोभलको काम भैरहेको छ । तेज नगरमा बाटो पिचको काम भैरहेको छ । असार दोस्रो साता सम्म सक्ने लक्ष्य रहेको छ ।

विकास बजेट सबै खर्च हुन्छ त यसपटक ?

गत बर्ष हामीले ९८ प्रतिशत बजेट सकेका थियौं । तर, यसबर्ष लकडाउनले अन्य वडा जस्तै हाम्रो वडा पनि प्रभावित भएको छ । उपमहानगरपालकाका सबै वडामा धेरै रकम खर्च नहुने अवस्था छ । तर, फर्कदैन, सञ्चिति कोषमा रहनेछ । उक्त बजेटलाई आगामी आ.व.मा सोही शिर्षकमा छुट्याएर काम गर्नेछौं । सोंचे अनुसार खर्च नभएपनि सकभर काम गरिरहेका छौं । ठूला कामहरु भने गर्न सकेका छैनौं ।

आगामी आ.व.कालागि कसरी योजना बनाउँदै हुनुहुन्छ ?

आगामी आ.व.का लागि हामीले चालु आ.व. मै के गर्ने भन्ने सोचिसकेका थियौं । दीर्घकालीन सोंच बनाएकाले आगामी बर्षहरुमा के के काम गर्ने भन्ने एउटा सोंच हामीसँग पहिल्यैदेखि रहेको छ । म पहिले देखिनै खटेर लागेको छु वडाको विकास निर्माणमा । त्यसैले तराई मधेस समृद्धि कार्यक्रम अनुसार दुई वटा बाटो हामीले पाएका छौं । दुई वटा बाटो अझै पनि पाउने सम्भावना छ । सिद्धार्थ भ्यूको पूर्वपट्टी, सिद्धार्थभ्यूको पछाडि पट्टीको बाटो पिच गर्ने हाम्रो लक्ष्य रहेको छ । वडाबाट पनि एउटा बाटो पिच गरौं भन्ने लक्ष्य रहेको छ । हेरौं, हामी कति बजेट पाउँछौं ।
हाम्रो वडामा ढल निकासको ठूलो समस्या भएकाले राष्टिय योजना आयोगबाट पनि एउटा बाटो ल्याउनु पर्छ । जानकी र उपमहानगरपालिकाको सीमानाबाट दुई मिटरको पक्की नाला सहितको बाटो ल्याउने, बाइपास विशालचोक भन्दा अगाडि नाला जोड्ने योजना छ ।

लकडाउनमै बस्यौं भने जनताले हामीलाई दिएको जिम्मेवारी कसरी पूरा गर्ने । हामीले जनतालाई बाचा गरेर आएका छौं । लकडाउन र कोरोनाबाट डराएको भए काम गर्न सक्दैनथ्यौं । कोरोनाका बेला सचेतनामूलक कार्यक्रम गर्यौं । टोलमा हात धुने व्यवस्था गर्नुका साथै राहतका कामहरु गर्यौं ।

आरयुडिपीबाट पीसीसीको योजना छ । ती योजनाका लागि १७ वटा समिति गठन गरेर पठाइसकेका छौं । अब आउने हाम्रो योजनामा कारकाँदो चोक, बुद्धिचोकमा हाइमाष्ट राख्ने योजना छ । तरकारी बजार बनाउन लागेको पश्चिम पट्टी पार्क बनाउनका लागि माटो पटान गरिसकेका छौं ।

गत बर्ष चालु आ.व.का लागि वडा नं. १८ मा तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत २५९ घर परिवारलाई ४५ लाख बराबर (थप ५ लाख हाम्रो) को सुकुम्बासी, दलित, मधेसी बस्तीहरुमा सोलार बत्ती जडान भनेर योजना पठाएका थियौं । त्यो योजनाको लागि समिति बनाएर पठाएका छौं । प्रक्रिया पूरा गरेपनि जडान भने गर्न सकेका थिएनौं । लकडाउनकै बेला ती २५९ घरपरिवारलाई सोलार जडान गर्न गैरहेका छौं । सायद असार २० सम्म जडान गर्नेछौं ।

वडामा ठूलो योजना भनेको तेजनगरमा पीच बाटो हो । जुन कालोपत्रे हुन तयार छ । तरकारी बजार, सोलार बत्ती पनि ठूलो योजना हो । ५ सय मिटरको पीच बाटो बनाउँदै छौं त्यो पनि ठूलो योजना हो । हाइमाष्ट पनि ठूलो योजना हो । तर, मेकानिक नेपाल बाहिरबाट ल्याउनु पर्ने भएकाले जडान गर्न सकेका छैनौं । यीनै योजना सक्ने र पुरा नहुने योजनालाई सहयोग पुग्ने गरि नयाँ योजनामा पनि जोड दिनेगरि छलफल भइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया