नेपालगन्जमा अर्काे तरकारी बजार निर्माण थालिएको छ । नेपालगन्ज १८ मा वडाले नयाँ तरकारी बजार बनाउन लागेको हो ।

यो कोरोना महामारीले सिकायो, आफ्ना उब्जनीका लागि व्यवस्थित बजार चाहिने रहेछ, शनिवार नेपालगन्ज १८ को कारकादोमा तरकारी बजार निर्माणस्थल शिलन्यास गर्दै वडाध्यक्ष दीपक कुमार बर्माले भने, यो त्यही सिकाइको प्रतिफल हो ।
३० लाखबढी लागत अनुमानका साथ शुरु भएको आधुनिक तरकारी बजारका लागि जग्गा विवाद भएपछि क्षेत्रफल घटेकाले निर्माण लगानीमा बजेट फेरि डिजाइन गर्न लागिएको छ । नेपालगन्ज १८ का वडाध्यक्ष बर्माले साविकको नेपाल खाद्य संस्थान र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बीचमा रहेको ऐलानीपर्ती जग्गामा वडाले तरकारी बजारको योजना अघि सारेपछि विवाद सिर्जना गरिएको थियो । तर, नापीपछि बाँके जिल्ला प्रशासन कार्यालयको समन्वयात्मक भूमिकामा काम अगाडी बढाइएको हो ।
योजना अनुसारको बजेटमा निर्माण गर्न जग्गा क्षेत्रफल घट्यो, एउटा कित्तामा मात्र निर्माण थालिएकाले बजेटको पुनः रुपरेखा तयार गरिने जानकारी दिंदै वडाध्यक्ष बर्माले दैनिक नेपालगन्जसँग भने, नेपालगन्जमा तरकारी बजारको अभावलाई यसले केही हदसम्म भएपनि कम गर्छ । नेपालगन्जको रानीतलाउपछि बीपी चोकमात्र तरकारी बजारको अस्थायी केन्द्र्र हुन् । तर, नेपालगन्ज १८ ले निर्माण गर्न लागेको संरचना सरकारी जग्गामा बनिरहेकाले स्थायी प्रकृतिको हुने वडाध्यक्ष बर्माको भनाइ छ ।
वीपी चोकदेखि राँझासम्मका जनताका लागि निकै पायक पर्नेगरि केन्द्रभागमा यो तरकारी बजारको परिकल्पना गरिएको हो, वडाध्यक्ष बर्माले शनिवार शिलन्याससँगै कामले तिब्रता पाएको जानकारी दिंदै भने, तमाम चुनौतीबीच पनि समयमै काम सक्नेगरि निर्माणकार्य अगाडी बढाइएको छ । अध्यक्ष बर्माले खासगरि स्थानीय उत्पादनको बजारिकरणलाई प्रोत्साहनको नीति लिइने तरकारी बजारमा व्यवस्थित र सहुलियतको सहजिकरण पनि गरिने बतनाए । नेपालगन्ज १८ वडा कार्यालयले लकडाउनका तमाम चुनौतीबीच पनि विकास निर्माणका कामलाई प्राथमिकता साथज अगाडी बढाइएको जनाएको छ ।








