सात वर्ष अघि राप्ती नदीमा आएको बाढीका कारण नजिम नाउका परिवारले जग्गा जमिनसहित सम्पूर्ण श्रीसम्पत्ति गुमाउनु पर्यो । प्रत्येक वर्ष राप्ती नदीमा आउने बाढीको राप्ती पारिका नागरिकका लागि कहर बन्ने गरेको छ । यसको समाधान कसरी हुन्छ स्थानीयलाई थाहा छैन । नाउ परिवार साविकको भगवानपुरबाट नरैनापुर गाउँपालिकामा बसाइ सरेको धेरै भएको छैन । नजिमको परिवारलाई यो वर्ष अर्को अकल्पनिय बज्रपात। शोक पर्यो । परिवारको हातमुख जोड्न मजदुरीका लागि भारत गएका आफ्ना जेठा छोरा भारतको मुम्बईबाट फर्केको केही दिनमै कोरोनाका कारण क्वारेन्टाइनमा मृत्यु भयो ।


कोरोनाका कारण मुलुकमा लकडाउन गरिएको पनि साढे दुई महिना पुगिसकेको छ । कोरोना संक्रमण नफैलियोस् भनी गरिएको लकडाउनको यो अवधिमा संक्रमितको संख्या २ हजार ७ सयको हाराहारीमा पुगेको छ भने १० जनाको मृत्यु भएको छ । दिनप्रतिदिन संक्रमितको संख्या बढ्नेक्रम रोकिएको छैन । सामान्य दिनहरु जस्तै समग्र स्थितिको अध्ययन अनुगमन गर्न लकडाउनका कारण सम्भव छैन । आफै जोखिम व्यहोरेर कतिपय मानवीय कार्यहरुमा संलग्न हुनु, आम नागरिकमा परेका समस्या उजागर गर्नु र उनीहरूलाई थोरै भए पनि सहयोग गर्नु सजिलो छैन । यस्तै अवस्थाका बीच हामी जेठ २२ गते बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ बस्ती पुग्यौँ । जहाँका एक जनाको केही दिन अघि कोरोनाका कारण मृत्यु भएको थियो ।


मृतक परिवारको अवस्था बुझ्न नेपाली सेना, नेपाल प्रहरी लगायत नेपाल बार एशोसियनका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, मेडिकल कलेज नेपालगञ्जका उपनिर्देशक डा. नितेश कनोडिया, सूर्य घर्तीसहित म नयाँबस्ती पुग्दा बस्ती नै रोइरहेको झँै लाग्थ्यो । सुनसान बस्ती, एकातिर कोरोना महामारीको त्रास, अर्कोतिर बिहान बेलुका हातमुख जोड्ने समस्या । र, पनि सहयोगको याचना गर्दै आइरहेका गाउँलेको एउटै स्वर थियो, सबैभन्दा पहिले मृतकका परिवारलाई सहयोग गरिदिनुस् जसको बस्ने बास, खाने गाँससमेत छैन । सामान्य हावाहुरी र पानी पर्दा राम्रोसँग ओत लाग्ने घरसमेत छैन । नयाँबस्तीका अधिकांशका स्थानीय सबै विपन्न छन् । घटनापछि उक्त परिवारका सदस्यहरुको आँखामा आँशु ओभाएको छैन । मृतक नाउकी पत्नी, ५ वर्षीय एक छोरा र एक वर्षीया छोरीसमेतका आँखामा आँशु ओभाएको छैन । हजुरबुवा, हजुरआमा, आमा रुदा उनीहरू पनि सँगसँगै रुन्छन् ।


दुःखमा परेकालाई सहयोग गर्ने नेपालीहरुको संस्कार हो । कोरोना महामारीकै दौरानमा पनि हजारौ अलपत्र परेका नागरिकहरुको उद्दार, बाटोमा अलपत्र परेकाहरुलाई खानपिनको व्यवस्था आदी गरिरहेका हाम्रा समाजसेवी भावनाको कहिले कमी छैन । आफनो क्षमताले भ्याएसम्मका सहयोगहरु भइरहेकै छन । यो दौरानमा नाउ परिवार जस्तै सयौँै नागरिकहरु अफ्ठ्यारोमा परेका होलान्, सहयोगका याचना गरिरहेका होलान् सबैले मनकारी हात अगाडि बढाउनुपर्ने बेला आएको छ । हुनेले नहुनेहरुलाई सहयोग गर्नु हाम्रो संस्कारलाई झनै स्थापित गर्नुछ । कलकलाउँदो उमेरमा नसोचेको महामारीका कारण ज्यान गुमाएका नाउका परिवार अहिले बिहान बेलुकी हातमुख जोड्ने समस्याबाट तड्पिरहेका छन । त्यो परिवारलाई सान्त्वना स्वरुप बाँच्नका लागि मल्हमपट्टी लगाउनु छ, आउनुस् तपाई हामी सबै नाउ र नाउ जस्तै दुःखी गरिब नागरिकहरुको पहिचान गरि सहयोगमा जुटौँ । (स्थलगत अनुगमनपछि इन्सेक प्रदेश ५ का संयोजक महतसँग कुराकानीमा आधारित)

प्रतिक्रिया

प्रतिक्रिया