देबेन्द्र राज पौडेल
सुरुमा नेपालमा कोरोना देखिंदा आम जनमानसमा अब के हुने हो भन्ने भयको अवस्था थियो । चीनको बुहानबाट विश्वमा फैलन सुरु भएको यो रोगको जोखिम नेपालमा देखिन थालेपछि सरकारले चैत्र ११ गतेदेखि देश नै लकडाउन गर्यो ।
मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ रहेको छ । जसमा कोभिडका कारण मृत्यु हुनेको संख्या ८ रहेको छ । विश्वसँग तुलना गर्ने हो भने कोभिडका कारण मृत्युहुने दर नेपालमा एकदमै कम रहेको छ । विश्वमा कोरोना संक्रमितको संख्या ६,३८३,८०५ रहेको छ । जसमा २,७३१,८०२ निको भएका छन् भने ३८०,३३१ ले ज्यान गुमाएका छन् ।
तर, कोरोना एकले धेरैलाई सार्न सक्छ भन्ने देखिएपनि ज्यान नै जान्छ भन्ने त्रास भने जनमानसबाट हट्दै गएको छ । नेपालमा मंगलबारसम्म २ सय ६६ जना कोरोना निको भएर घर फर्किसकेका छन् । जसमा पुरुषहरु २ सय १२ र महिला ५४ जना रहेको स्वास्थ्य मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. विकास अधिकारीले जानकारी दिएका छन् । मंगलबार मात्रै ४५ जनाले कोराना जितेका हुन् । ९ दिनमै पनि कोरोना नेगेटिभ भएर घर फर्किएको उदाहरण नेपालमा रहेको छ । यसले कोरोना संक्रमणलाई जित्न सकिन्छ भन्ने सन्देश पनि आम नागरिकमा पुगेको छ ।
काखे बालकदेखि ६० बर्षसम्मका ज्येठ नागरिकले कोरोना जितिसकेका छन् । यसको उदाहरण बाँकेमै पनि रहेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या २ सय १३ रहेको पुगेको छ । जसमध्ये २९ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।
बाँकेको नरैनापुरमा एक कोरोना संक्रमितको निधन भएपनि अन्यको अवस्था हालसम्म सामान्य नै रहेको छ । बाँकेमा आइसोलेसनमा रहेका कसैमा पनि गम्भीर खालको स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठ बताउँछन् ।
नेपालमा प्रत्येक दिनजसो कोरोना संक्रमित थपिएपनि गम्भीर लक्षण नदेखिएकाले आइसोलेसनमा रेखदेखपछि निको हुनका लागि समस्या नरहेको चिकित्सकहरुले बताउँदै आएका छन् । हाल बाँकेका विभिन्न १४ आइसोलेसन सेन्टरमा १ सय ८८ जना राखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
नेपालमा हालसम्म १ लाख ४५ हजार ३ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहने धेरैजसो व्यक्ति भारतबाट आएका नेपाली हुन् । देशभर आइसोलेसनमा बसेर उपचार गराउनेको १ हजार ८ सय २५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
भारतबाट आउने नेपालीको संख्या बढेसँगै हालसम्म क्वारेन्टाइनको संख्या पनि बढेको छ । बाँकेमा १ सय १ वटा क्वारेन्टाइनमा ४ हजार ३ सय ३९ जना क्वारेन्टाइनमा रहेकोमा आधा बढी परीक्षण पश्चात घर फर्किसकेका छन् । जसमध्ये अधिकांस भारतबाट आएका नेपाली नागरिक थिए । जनस्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले २ हजार ८ सय ४ जना क्वारेन्टाइनबाट घर फर्किएको जानकारी दिएका छन् ।








