नेपालगन्जमा यसरी मनाइँदैछ, ईद

शाहिदा शाह

घरमैं ईदको नमाज

इस्लाम रिति र आदेश अनुसार यस दिन नुवाइ धुवाई गरी वृद्ध वृद्धा, वयस्क, बच्चा, महिला पुरुष सबैले आफ्नो हैसियत अनुसार राम्रो भन्दा राम्रो नयाँ लुगा जुत्ता चप्पल चुरा गरगहना लगाइ, श्रृंगार पटार गरी, इत्तर लगाइ र पुरुषहरु ईदगाहमा गई ईदुलफित्रको नमाज पढ्ने अनि महिलाहरु घरमा नफल नमाज पढ्छन् ।
ईदको दिन खास परिकारको रुपमा बनाइने सेवईं, दहीवडा, छोयला, रोस्टेड, बिर्यानी जस्ता परिकार बनाएर र आफन्त ईष्ट मित्र नातागोता साथीभाईहरुलाई घरमा दावत (भोज)मा बोलाइन्छ, आफु पनि उनीहरुकोमा गइन्छ । ईदको दिन विगतका मनमुटाव बिर्सेर एक अर्कालाई अंगालो हालेर ईदुलफित्रको शुभकामना र ईदी स्वरूप हैसियत अनुसार केही दक्षिणा दिइन्छ ।

ईदको खुशी साट्दै दुई बालिका । (तस्वीर: कबिर अन्सारी)

यो सब तब सम्भव थियो र हुन्छ जब अवस्था सामान्य रहेको हुन्छ । तर अहिले विश्व व्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण संसारनै लकडाउनमा छ । सबैको कारोबार ठप्प छ । अरु बेला हुने खानेलाई त्यति समय हँुदैंनथ्यो । तर, यो लकडाउनको कारण तिनीहरुलाई पनि आर्थिक मन्दीको सामना गर्नु परेकोछ । अझ हुँदा खानेहरुका लागि त यो अवस्था काल नै साबित भएको छ । जो दैनिक ज्याला मजदुरी गर्ने साना व्यवसायी आदि थिए तिनीहरुलाई भोकमरीबाट जुध्नु पर्ने समस्या सृजना भइ सकेको छ । धेरै ठाउँमा अधिकांश परिवार भोकमरीका सिकार छन् । भोकमरीबाट आफु र आफ्नो परिवारलाई बाँंच्न र बचाउन नसक्ने सन्त्रासमा छन् ।
लकडाउनको बेला मुस्लिम समुदायको महान पर्व ईद पर्न गएको छ । त्यसकारण ईद बारे पनि छलफल गरिएको छ । उहाँहरुसँग पहिलाको ईद र अहिलेको ईद मनाउने क्रममा के कस्ता भिन्नता छ अर्थात विगतको ईद र यस पालिको ईद कसरी मनाउने भनी केही महत्वपूर्ण व्यक्तित्वहरुसंग संक्षिप्त संवाद पनि गरिएको छ ।
बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राई अरुबेला जस्तो हर्षोल्लासका साथ ईद नमनाइने बताउँछन् । अहिले धेरै परिवार यस्ता छन् जोसंग नयाँ कपडा राम्रो खानेकुरा छैन् तिनीहरुको चित्त न दुखोस् उनीहरुलाई कमी महशुस न होस् भनी यसपालि एकदमै सादगीका साथ ईद मनाउंछु, पूर्वमन्त्री राईले दैनिक नेपालगन्जसँग भने, यसपालि सार्वजनिक दावत गर्दिन् र सामाजिक संजालमा ईदको फोटोहरु शेयर गर्दिन् अनि आवश्यक परेका व्यक्ति वा परिवारहरुलाई सहयोग गर्छु ।

नेपाली कांग्रेसका मुस्लिम नेता, पूर्व सभासद अब्दूल हमीद सिद्दीकÞी यस वर्षको ईद पहिले जस्तो खुशियालीमा नबित्ने बताउँछन् । उनी भन्छन्, हामी धर्म गुरुहरु अपील र सल्लाह अनुसार घर भित्र ईदको दिन नमाजे नफल वा चास्त आदि पढ्नेछौं । हामी ईदगाह जाँदैनौं अंगालो हालेर ईद मिलन गर्दैनौं, भीडभाडमा जाँदैनौं, भीडभाड गर्दैनौं, पुरै परिवार हामी पुरानै कपडालाई आइरन गरी लगाएर ईद मनाउंछौं ।

त्यस्तै भनाइ न्यायाधीश अब्दुल अजीज मुसलमानको छ । सामान्य तरिकाले ईद मनाउने योजना सुनाउँदै मुसलमान भन्छ्न, खानेकुरा पनि पहिला जस्तो भेराइटी हुँदैंन, त्यसको सट्टा आवश्यक कुरा बनाएर खाइन्छ । घरभित्र नमाज पढिन्छ बाहिर गइँदैन् । साथीभाईसंग भेटघाट गरिदैन् न उनको घर जाने र कसैलाई बोलाउने यसपालि लाकडाउनको पालना गर्दै सामाजिक दुरीका साथ टाढा रही ईद मनाउंछौं ।

नेकपा प्रदेश नं. ५ को सचिवालय सदस्य अत्तहर हुसैन फारुकीले यसपालि ईदको नमाज मस्जिदमा र ईदगाहमा नहुने भएकाले मुस्लिम समुदायको लागि दुखद घडी भएको बताए । महामारीसंग लड्नका लागि हामी लकडाउन र सामाजिक दुरीको पालना गरी घरमा नमाज पढ्छु । यसपालि अवस्था सामान्य नरहेको हँुंदा कपडा जुत्ता आदि किनिएन, राजनीतिकर्मी फारुकी भन्छन्, साथीभाईलाई ईदमा दावतमा बोलाइदैंन् आफु पनि गइँदैन । सरकारले जनहितमा लागु गरेको लकडाउनको पुरै पालन गर्नेछु । साथै नमाज पढी दुआ गर्छु की यो कोरोना महामारीबाट हामी सबै देशबासीलाई मुक्ति मिलोस् ।

केन्द्रीय हज समिति सदस्य मेराज अहमदले यसपालि ईद सामान्य तरिकाले मनाउने बताए । गरीबहरुको पनि ईद होस् भनेर ५ सय परिवारलाई ईदी स्वरूप केही खाद्यान्न बाडेंको जानकारी दिंदै मेराजले भने, ताकि उनीहरु ईदको दिन भोको बस्न नपरोस् ।
पुरा रमजानको महिना भरी हामी घरमा इबादत गरी राज्यलाई सहयोग गर्यौं, ईदको दिन पनि हामी कुनै यस्तो कार्य गर्दैनौ कुनै इभेन्ट गर्दैनौं जसले गर्दा सरकारको बर्खिलाफ होस्, मेराजले दैनिक नेपालगन्जसँग भने, किनभने इस्लाम भन्छ महामारीको बेला भेला नहुने मस्जिदमा नगएर घरमा नमाज पढ्ने गर्नुपर्छ । यदि कसैले ईदगाह वा मस्जिदमा नमाज पढ्ने ढिपी गर्छ भने ऊ इस्लाम विपरीत कार्य गर्छ । यसपालि ईदको नमाज सरकारले भने अनुसारका व्यक्तिहरु जस्तै मस्जिदमा बस्ने इमाम मोअज्जिन र कर्मचारी बाहेक सबै घरमा पढ्नेछौं ।

प्रतिक्रिया

प्रतिक्रिया