त्यो ईद, यो ईद

आज ईद उल फित्र । अर्थात्, सजिलो भाषामा ईद । इस्लामिक धर्माबलम्बीहरुको महान पर्व । एक महिनासम्म रोजा (उपवास) बसेका ईदुलफित्र रोजेदार अर्थात ती व्यक्ति जसले रमजान करीमको एक महिना रोजा बसे तिनीहरुका लागि अल्लाहको तर्फबाट दिइएको ठुलो उपहारको दिन, ईद । यो दिनलाई उत्सवको रुपमा मनाउन मुस्लिम समुदायले वर्षभरि पर्खिएका हुन्छन् ।
नेपालगन्ज अर्थात् मुस्लिम बहुल सहर ।
सुर्याेदयको केही बेरमैं ईदको नमाज (प्रार्थना) गरिनेछ, नेपालगन्ज १ धम्बोझीका हाजी मो. सरीफ बागवानले दैनिक नेपालगन्जसँग भने, हामी २९ जनाको परिवार छ, घरमैं बिहानै ईदको नमाजपछि उत्सव मनाइनेछ ।

सोमवार आफ्नै घरमा इदको नमाज पढ्दै एक परिवार

त्यही कुरा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दूल बाहिद मन्सुरी र नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय सदस्य मो. जुबेर राईको पनि छ । घरमैं बसेर नमाज पढ्ने, उत्सव मनाउने, उनीहरु भन्छन्, न कसैलाई बोलाउने नकसैकोमा जाने ।
जबकी अघिल्ला ईदहरुमा बिहानैदेखि नेपालगन्जको सुर्खेतरोड चिटिक्क सिंगारिएको हुन्थ्यो । हजारौं मुस्लिमहरु आकर्षक पोशाकमा सजिएर सामुहिक नमाजका लागि विपी चोकस्थित इदगाह पुग्थे । कयौं गैर मुसलमान ईदको शुभकामना दिन इदगाह बाहिर पर्खिरहेका हुन्थे । ईदको नमाज जसै सकिन्थ्यो, अंगालो मारेर (गला मिल्ने) शुभकामना साटासाट हुन्थ्यो । सदियौं देखिको यो मौलकता, संस्कार र संस्कृतिले आज सोमवार निरन्तरता पाउँदैछैन ।
धर्ममा अति कट्टर मानिने इस्लामिक धर्मावलम्बीका लागि धर्मगुरुहरुलेनै विशेष निर्देश गरेकाले यो कुराको पालना हुनेमा विश्वस्त छन्, युवा व्यवसायी जाकीर हुसेन । जो, हरेक ईदमा मुस्लिम, गैरमुस्लिम सयौं आफन्त साथीभाईलाई घरमैं बोलाएर ईदको सेवई खुवाउँथे । ६० वर्षको मेरो जीवनमा यस्तो ईद पहिलो पटक अनुभूति गर्दैछु, नेपालगन्जका साहित्यिक व्यक्तिव्त, उर्दुका वरिष्ठ गजलकार मुस्तफा अहसन कुरेसीले दैनिक नेपालगन्जसँग भने, हरेक ईदमा ५० बढी गैरमुस्लिम साहित्यकार पत्रकारहरुसँग घरमैं ईद मिलनको उत्सव हुन्थ्यो । उनकै सिको छोराहरुले पनि गरेका छन् । यसपटकभने भर्चुअल ईद मिलनको मूडमा छन्, ६० वर्षीय सायर मुस्तफा, हेरौं छोराले जुम मिटिंग एप्सबाट मेसो मिलाएको छ, सकेसम्म सेरोसायरी र शुभकामना आदान प्रदान गर्ने योजना छ । घरभित्र भने कसैलाई बोलाउँदै छैनन् उनी, नत कतै जाँदैछन् ।

इदगाहमा इदको नमाज ।

सायर मुस्तफा जस्तै, पत्रकार देखि राजनीतिक व्यक्ति सबैले ईदलाई यसपाली परिवारभित्रै सिमित राख्दैछन् । सबैले सामाजिक सञ्जालमार्फत शुभकामना दिंदै घरभित्रै ईद मनाउन आव्हान गरेका छन् । यसपटक एकातिर ईदको खुशियाली भएपनि अर्को तिर दुःखको अवस्था छ, दैनिक नेपालगन्जका स्तम्भकारसमेत रहेकी अधिकारकर्मी शाहिदा शाह वाहिदी भन्छिन्, खुशी यो मानेमा कि ईद रोजदारका लागि अल्लाहको उपहार हो यसको कदर गर्नुपर्छ । दुःखको कुरा कोरोना कहरले लकडाउन बढ्दै जाँदा चारैतिर हाहाकार छ ।

इदगाहमा इदको नमाजपछिको इदमिलन ।


मुस्लिम आयोगले गठन गरेको जिल्लास्थित अनुगमन समितिका सदस्य समेत रहेकी बाहिदाले यसपाली ईदमा नयाँ सरसामान पनि किनिनन्, जबकी ईदमा यसको पनि महत्व छ । घरमा रहेका मध्येको सबभन्दा राम्रो लुगा सुन्नत अदा गर्नका लागि लगाउँछु, उनले दैनिक नेपालगन्जसँगको संवादमा भनिन्, साथीभाईकोमा पनि जाँदिन अरुलाई पनि घर बोलाउँदिन ।
यसपटकको ईद लकडाउन र सामाजिक दूरीको पुर्ण पालनामा मनाउने प्रतिबद्धता अधिकाँशको छ । यो ईद जीवनकै यादगार हुनेछ, इस्लामका अनुयायी भन्छन्, पहिलो ईद जुन ईदको उत्सव एक्ला एक्लै मनाइदैछ । यो ईदले हामी सबै एउटा सबक दिएको छ कि हेर तिनको ईद कस्तो हुन्छ जोसंग ईदमा लगाइने कपडा जुत्ता गरगहना किन्ने आर्थिक क्षमता हँुदैंन ।
अधिकारकर्मी शाहिदा भन्छिन्, यो ईदले धनी गरीब सबैको पर्वलाई एकरुपता प्रदान गरेको छ । गरीबले आर्थिक अभावले नयाँ कपडा आदि किन्न सकेन भने धनी वर्गले आर्थिक क्षमता हँुदा हँुदैं लकडाउनको कारण बजार बन्द रहेकोले किनमेल गर्न पाएन । कोरोनाबाट मुक्तिको दुआ गरी ईद मनाउने जानकारी दिंदै उनले भनिन्, यो ऐतिहासिक ईद हुनेछ जस धनी गरीब सबैले पुरानो लुगा लगाएर ईंद मनाउँदैछन् ।

प्रतिक्रिया

प्रतिक्रिया