भारतले कालापानी देखि लिपुलेक जोड्ने ट्रयाक खोलेपछि नेपाल तरंगित भएको छ । कालापानी विवाद रहेकै अवस्थामा भारतले नयाँ नक्शा बनाएर त्यो क्षेत्रलाई भारतमा रहेको देखाएपछि भारतको दादागिरीलाई लिएर अनेकौ आशंकाहरू गरिएको थियो, जुन आशंकाको एउटा अध्याय भारतले लिपुलेक जोड्ने सडक प्रकट भएको छ । शताब्दियौंदेखि मानसरोबर र कैलाश जाने तीर्थयात्री र पश्चिम भारत र तिब्बत विचमा ब्यापार गर्ने ब्यापारीहरु माझमा प्रचलित यो मार्ग भारत चिन युद्ध पछि लामो समयसम्म बन्द रहेको थियो । सन् १९८१ देखि भारतीय तीर्थयात्रीको लागि नियन्त्रित रुपमा खुलेको यो नाका पछिल्ला वर्षहरुमा भारत र चीनले ब्यापार मार्गको रुपमा विकास गर्ने प्रयास गरिरहेका छन् । यसको आर्थिक, सामरिक र साँस्कृतिक महत्व भएकोले भारत सरकारले नेपालले आफ्नो भुमि भनेर दावी गरिरहेको विवादित भूमिमा सडक खनेको छ । भारतको यस्तो रवैयाले नेपालीलाई आक्रोशित तुल्याएको छ । कालापानी क्षेत्रमा भएको अतिक्रमणले भुमि गुम्ने चिन्ताले नेपालीलाई दुखी बनाएको छ ।
व्यापारिक र सामरिक स्वार्थ भएपनि भारतले धार्चुला– लिपुलेक सडकलाई कैलाश मानसरोवर मार्गको रुपमा प्रस्तुत गरेर बहुसंख्यक भारतीय हिन्दुहरुको मन जित्न खोजेको छ । अहिले भारतबाट सडकमार्ग हँुदै मानसरोवर जाँदा नाथुला भन्ज्यांग हुदै लामो दुरी पार गरेर जानु पर्छ । नाथुला –मानसरोबर यात्राको ८० प्रतिशत दुरी तिब्बतमा पर्छ । उत्तराखण्डबाट छोटो दुरीमा रहेको मानसरोबर जाँदा ५ दिनको कठोर पैदल यात्रा गर्नु पर्छ. कालापानी– लिपुलेक सडक बनेपछि सडकमार्ग हुदै मानसरोबर जाँदा ८५ प्रतिशत यात्रा भारतमा नै हुने र यात्रा अवधि ८० प्रतिशत छोटिने भारत र्सरकारको दावी छ ।
लाखौ भारतीय हिन्दुहरुले कैलाश मानसरोवर दर्शन गर्न चाहने भएपनि उनीहरुको लागि त्यहाँसम्मको यात्रा सहज छैन । भारतले सन् १९८१ देखि सरकारी तवरमा तिर्थयात्रीलाई मानसरोबर लैजाने गरेको छ । निकै लामो प्रक्रियापछि छनौट भएका व्यक्तिहरुलाई उत्तराखण्डको कुमायँु मण्डल विकास निगमले नियन्त्रित रुपमा कालापानी –लिपुलेक हुदै मानसरोबर लैजाने गरेको छ । सन् २०१५ देखि नाथुलाबाट समेत भारतीय तिर्थालुहरुलाई भारत सरकारले लैजाने गरेपनि दुवै नाकाबाट मानसरोवर जान पाउनेहरुको संख्या १४८० जना मात्र रहेको छ । भारतीय मार्गबाट मानसरोवर जान खोज्दा छनौटमा नपरिने, झन्झटिलो प्रक्रिया पुरा गर्नुपर्ने र लामो र कठिन यात्रा गर्नुपर्ने भएकोले कैलास मानसरोवर दर्शन गर्न चाहने धेरै भारतीयले नेपाली बाटो रोज्ने गरेका छन् । नेपालबाट काठमान्डौ –केरुंग तथा नेपालगन्ज–सिमिकोट– हिल्सा हुदै भारतीय तिर्थयात्रीहरु मानसरोबर गैरहेका छन् ।
भारतको राजधानी दिल्लीदेखि नजिक रहेको र हवाई तथा रेल यातायातले नजिक रहेको नेपालगन्ज धेरै भारतीयहरुको लागि मानसरोवर प्रवेश गर्ने उपयुक्त विन्दु बनेको छ । नेपालगन्ज आएर जहाजमा हुम्लाको सिमिकोट पुगी ७ दिनको पैदल यात्रा वा एक घण्टा भन्दा कमको हेलिकप्टर यात्राबाट हिल्सा नाका पुगिन्छ र त्यहाबाट छोटो यात्रामंै ताक्लाकोट हँुदै मानसरोबर पुग्न सकिन्छ । खर्च गर्न सामथ्र्य भएकाहरु त नेपालगन्ज– हिल्सा रुट हँुदै एकै दिनमा मानसरोबर नजिक पुग्न सक्छन् । विगतमा सिमिकोटबाट पैदल यात्रा गरेर हिल्सा पुग्नुपर्ने भएपनि गत वर्ष हिल्सा– सिमिकोट सडक ट्याक खुलेर सवारी साधन चल्न शुरु गरेकोले अब एकै दिनमा हिल्सा पुग्न सकिने भएको छ । यिनै सहजताले गर्दा नेपालगन्ज धेरै भारतीयहरुको यात्रा प्रस्थान विन्दु भएको छ ।
गतवर्ष केहि कम भएपनि त्यसभन्दा अघि वार्षिक १२ हजार भारतीयहरु नेपालगन्ज– हुम्ला हँुदै मानसरोबर जाने गरेको पर्यटन व्यवसायीहरुको दावी छ । नेपालगन्ज हुदै मानसरोबर जाने भारतीयले कम्तिमा ६ दिन नेपालमा बिताउने र औषतमा एक लाख रुपैया नेपालमै खर्चने गरेका छन् । भारतीय तीर्थयात्रीले गर्दा नेपालगन्ज र हुम्लाका होटेल, ट्राभल एजेन्सी, हवाईसेवा कम्पनि रामरी चलेका छन् । नेपालगन्जमा २ वटा ५ तारे, २ वटा ४ तारे ३ वटा ३ तारे गरि उच्च पर्यटकीय सत्कार दिन सक्ने १६०० बेड क्षमताका एक दर्जन होटेलहरु रहेका छन् भने त्यति नै संख्यामा पर्यटकीय सुविधा दिन सक्ने होटेलहरु रहेका छन् । सुविधासम्पन्न होटेलहरुको संख्या यहाँ वर्षेनी थपिदै छ । हुम्ला हिल्सा खण्डमा पनि होटेलहरु थपिने क्रम बढेको छ । नेपालागन्ज– हुम्ला –मानसरोबर यात्राको प्रभावले कर्णालीको आन्तरिक पर्यटनमा मद्दत पुगेको छ । रारा जाने भारतीय पर्यटकहरुको संख्या पनि बढिरहेको छ । भारतीय पर्यटकहरुलाई मानसरोबर पु¥याउने मात्र हैन नेपालमै घुमाउने गरि नेपालगन्जको पर्यटन उद्योगले प्रयास पनि गरिरहेको छ । पूर्ण रुपमा भारतीय पर्यटकमा आधारित रहेको अवस्थामा भारतले भारतीयहरुलाई सहज किसिमले कैलाश मानसरोबर यात्रा गराउनको लागि लिपुलेकको बाटो खोलेपछि नेपालगन्जको पर्यटन उद्योगमा पराकम्पन महसुस भएको छ ।
अहिले लिम्पियाधुरासम्म नेपालको सिमाना कायम गर्ने र कालापानी अतिक्रमण हटाउने कुराकै सबैको ध्यान केन्द्रित भएकोले कालापानी–लिपुलेक सडकले पार्नसक्ने आर्थिक र सामाजिक असरको बारेमा खासै बहस हुन् पाएको छैन । राजनैतिक र भौगोलिक रुपमा लिपुलेक सडकले सम्पूर्ण नेपाललाई नै प्रभाव पार्ने भएपनि आर्थिक रुपमा नेपालका अन्य सहर भन्दा नेपालगन्ज बढी प्रभावित हुने निश्चित देखिएको छ । नेपालगन्जका केहि पर्यटन व्यवसायीहरुसंग कुराकानी गर्दा कालापानी– लिपुलेक सडक बन्दैमा नेपालगन्जको पर्यटनमा खासै असर नपर्ने बताउने गर्छन । अहिले त्यो बाटो हँुदै सानो संख्यामा भारतीय तिर्थयात्रीहरु कैलाश –मानसरोवर यात्रामा जाने गरेकोले भविस्यमा पनि त्यो बाटोबाट धेरै भारतीयहरु नजाने भएकोले नेपालको बाटो भएर जाने पर्यटकको संख्यामा कमि न आउने उनीहरुको लाटो अनुमान हो यो । यस्तो अनुमानले नेपालगन्जको पर्यटन उद्योगलाई माथि उठ्नै नसक्ने गरि धराशायी पार्नेछ ।
अहिलेसम्म भारतको बाटो हँुदै मानसरोबर जाँदा धार्चुला माथिको तावाघाटसम्म सवारी साधनमा गएर त्यहाँदेखी पैदल यात्रा गरि लिपुलेक हुँदै ताक्लाकोट जाने गरिन्छ । र अर्कोबाटो सिक्किमको नाथुला हुँदै जाने गरिन्छ । कालापानी क्षेत्रको बाटो निकै कठिन भएकोले पैदल यात्रा गर्न नचाहनेहरुले नेपालकै बाटो रोज्ने गरेका हुन् । भारतले सिमित संख्यामा मात्र मानसरोबर लैजाने भएकोले पनि सरकारी प्रक्रियाबाट कठिन यात्रा गरि लिपुलेक हँुदै जानेहरुको संख्या कम भएको हो ।
भारत र चीनले लिपू भन्ज्यांगलाई व्यापारिक नाका बनाउने सम्झौता गरिसकेकोले भविस्य यो नाका हँुदै चिनतर्फको यात्रा गर्न चीनले भारतलाई सहज गराउने सम्भावना रहेकोले भविस्यमा अहिलेको भन्दा ठुलो संख्यामा भारत सरकारको औपचारिक माध्यमबाट नै लिपुलेक हँुदै मानसरोबर जान सक्छन् । त्यसैगरी आफ्नै भूभागमा सडक बनेपछि भारतीयहरुले भारतकै बाटो हुँदै जान रुचाउनेछन् । भारतका विभिन्न प्रदेश सरकारहरुले आफ्ना नागरिकलाई तीर्थयात्रा गराइरहेका छन्, उनीहरुले पनि निश्चयपनि भारतीय मार्गलाइ नै यात्राको लागि रोज्नेछन । यस्तो अवस्थामा हाल नेपालगन्ज–सिमिकोट– हिल्सा मार्ग हुँदै मानसरोबर जानेवर्गका धेरै तिर्थयात्रीहरु भारतकै बाटो जाने सम्भावना धेरै हुन्छ, जुन नेपालगन्जको पर्यटन उद्योगको लागि निकै असरदायी हुने निश्चित छ ।
चीनले सहज ढंगले भारत प्रवेश गरि समुन्द्रसम्म सहज पहुँच बनाउने चाहना राखिरहेको अवस्थामा कालापानी –लिपुलेक मार्ग हँुदै धेरैभन्दा धरै तिर्थयात्रीलाई मानसरोवर प्रवेश गर्न दिने सम्भावनालाई नकार्न सकिंदैन । अहिले नेपाल सरकारले कालापानी क्षेत्र फिर्ता ल्याएरै छोड्ने बताइरहेपनि त्यो निकै टाढाको कुरा हो । कथंकदाचित भुमि फिर्ता भएछ भनेपनि त्यो मार्ग भारतीय तीर्थयात्रीको लागि अझ सहज हुनेछ । त्यसैले कालापानी– लिपुलेक सडक बन्दैमा नेपालगन्ज हँुदै हुम्लाको बाटो हुँदै मानसरोबर जाने तीर्थयात्रीको संख्या घट्ने छैन भन्ने सोंच्नु अदुरदर्शिता हुनेछ र यस्तो जान्दाजान्दै पनि पर्यटन उद्योगले वैकल्पिक पर्यटक नखोज्नु मुर्खता हुनेछ ।
नेपालगन्जले पर्यटन उद्योगमा ठूलो लगानी गरेको मात्र छैन, भारतीय पर्यटन बजारमा राम्रै उपस्थिति समेत देखाइसकेको छ । मानसरोबर घुम्न जाने भारतीय तिर्थयात्रीहरु मात्र नभई छोटो समय नेपालगन्जको सेरोफेरोमा घुम्न, बस्न चाहने भारतीयहरुले पनि नेपालगन्जलाई आधार बनाउन थालेका छन् । नेपालगन्जको लागि यो सुखद कुरा हो । अब नेपालगन्जको पर्यटन उद्योगले कैलाश –मानसरोवर तिर्थयात्रीलाई विशिष्ट सेवा प्रदान गरेर नेपालगन्जकै बाटो उपयुक्त भएको सन्देश भारतमा पु¥याउने काम र नेपालभित्र नै उनीहरुलाई घुम्न मन लाग्ने वातावरण तयार गर्नुपर्छ । भारतीय पर्यटकहरुलाई रारा, वर्दिया, बाँके र शे–फोक्सुण्डो राष्ट्रिय निकुन्ज घुमाउने प्याकेज तयार गरेर युवा पर्यटकहरुलाई आकर्षित गर्नुपर्छ । कैलास पर्वत जस्तै भारतीयहरुले पशुपतिनाथ, गोसाईकुण्ड , मुक्तिनाथ र स्वर्गद्वारीलाई श्रद्धा गर्छन र त्यहाँ जान चाहन्छन् । त्यसैले नेपालगन्जदेखि ति ठाउँको दर्शन गर्ने प्याकेज तयार गर्नुपर्छ । भेरी र कर्णाली नदीमा ¥या्िफ्टंग गराउने, नेपालगन्जदेखि छोटो दुरिमै रहेको रुकुममा रहेका हिमाली क्षेत्रमा पदयात्रा र हिमाल आरोहणको अवसर प्रदान गर्ने सकियोभने धेरै साहसिक पर्यटनमा रुची राख्ने भारतीयहरुलाई आकर्षित गर्न सकिन्छ । भारतको सिपाही विद्रोहको बेलामा अंगेज र लखनउका विद्रोहीहरु विचमा अन्तिम युद्ध राप्तीको सिधनिया घाटमा भएको मानिन्छ । त्यहाँको पुरातात्विक खोजी गर्ने र युद्ध स्मारक बनाएर प्रचार गर्ने हो भने लखनउको इतिहास र सिपाही विद्रोहप्रति रुची राख्ने भारतीयलाई आकर्षित गर्न सकिन्छ । कनिंघमले भारतमा बौद्धकालिन श्रावस्ती पर्छ भनेर प्रचार नगर्दासम्म नेपालगन्ज नजिकको बालापुर क्षेत्र श्रावस्ती भएको विस्वास गरिन्थ्यो । त्यसको विस्तृत पुरातात्विक र ऐतिहासिक खोजी गर्ने हो भने बौद्धमार्गीहरुलाई पक्कैपनि नेपालगन्जमा ल्याउन सकिनेछ ।
नेपालगन्ज सम्भावनाको सहर हो । कैलाश– मानसरोवर यात्राको प्रस्थान विन्दु भएकोले यो सहरले पर्यटनको राम्रो सम्भावना देखेको थियो र त्यसै अनुसार लगानी पनि गरिरहेको छ । अहिले भारतले निर्माण गरेको लिपुलेक मार्गले गर्दा नेपालगन्जको पर्यटन उद्योगमा अप्रिय संकेतहरु देखिएका छन् । कालापानी– लिपुलेक सडकका सम्भावित प्रभावहरुको वेवास्ता गरियो भने नेपालगन्जको पर्यटन उद्योगले ठूलो मुल्य चुकाउनुपर्नेछ । लिपुलेकको पराकम्पनलाई सानो नठानी नेपालगन्जले पर्यटन सेवामा विविधिकरण, विस्तार र गुणस्तरियतामा ध्यान दिन सक्यो भने नेपालगन्ज सधैभरी भारतीय र अन्य विदेशी पर्यटकहरुको हब बनिरहन सक्नेछ ।








