बाँकेमा कोभिडका बिरामीको उपचारका लागि नेतृत्व लिएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले बाँकेमा तयारी अवस्थामा रहेका आइसोलेसन अस्पतालले धान्न नसक्ने अवस्था सिर्जना हुँदै गएको भन्दै ‘कम्युनिटी आइसोलेसन’मा जान जोड दिएका छन् ।
खजुरा स्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा ४० शैय्याको क्षमता रहेकोमा २६ जना उपचारार्थ रहेको जानकारी दिंदै डा. थापाले भने, ‘आपतकालीन अवस्थाका लागि केही शैय्या राखिनुपर्छ ।’ अर्को विकल्पका रुपमा खजुरारोड स्थित लायन्स डेन्टल अस्पतालमा २६ बेडको आइसोलेसन तयारी अवस्थामा रहेको डा. थापाले जानकारी दिए । ‘तर, यसरी संक्रमित संख्या बढ्दै गयो अस्पताल व्यवस्थापन सम्भव नै हुँदैन’, दैनिक नेपालगन्जको एउटा प्रश्नमा डा. थापाले भने, ‘तपाईकै पत्रिकामा केही दिनअघि डा. बद्री चापागाईले आलेख मार्फत दिएको सुझाव अत्यन्तै मननीय छ ।’ बैशाख २५ गतेको दैनिक नेपालगन्जकै मुखपृष्ठमा डा. चापागाईले ‘समुदाय स्तरमा व्यवस्थापनको विकल्प’ शिर्षकको आलेखमा सुझाव दिंदै भनेका छन्, ‘लक्षण नै नभएकाहरुलाई अस्पतालमा भर्ना नै गर्नुपर्छ भन्ने छैन ।’
‘हाम्रो जस्तो प्रणालीमा उपलब्ध स्रोतको प्रयोग विविकेपूर्ण हिसाबले गर्नुपर्ने हुन्छ’, उक्त आलेखमा डा. चापागाईले भनेका छन्, ‘सयौंको संख्यामा संक्रमित भेटिन थाले भने हाम्रा अस्पतालहरुका क्षमताले नधान्न पनि सक्छ ।’ ‘सबैलाई भर्ना गर्दा अस्पतालमा भर्ना गरेर औषधीउपचार गर्ने व्यक्तिहरुलाई समेत कठिन हुनसक्छ, सबैलाई भर्ना गरेर राख्नु व्यवस्थापकीय हिसाबले पनि चुनौति हो’, उनले भने, ‘कुनै समस्या नभएका तर टेष्टमा पोजेटिभ देखिएकाहरुलाई घरमै बस्नमै बस्न पनि प्रोत्साहन गर्न सकिन्छ ।’ (डा. चापागाईको आलेख
http://www.nepalgunjnews.com/main-news/20200543659/?fbclid=IwAR0QzV4V_llTrn4FaGJs2LutlV7KWI-zTEZmVdqKgU7y9aOFyLTsLt6fESE मा पढ्न सकिन्छ)