देशको वर्तमान अवस्था

महामारीको रुपमा विश्वभर फैलिईरहेको नोबल कोरोना भाईरस (कोभिड—१९) रोगका कारण अहिले विश्व नै भयभित अवस्थामा रहेको छ । अहिले विश्वभरीका प्रत्येक नागरिकको मन, मस्तिष्कमा कोरोना भाईरसकको डर छाएको छ । सरकार, सरोकारवाला निकाय र व्यक्ति महामारी रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापना अहोरात्र खटिएका छन् ।

कोरोना भाईरसको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारको निर्णय बमोजिम करिव दुई महिना देखि नेपाल लकडाउन (बन्दावन्दी) को अवस्थामा छ । अझै कतिदिन सम्म लकडाउनको सामना गर्नुपर्ने हो ? अनिश्चित छ । अत्यावश्यकीय खाद्यान्न, तरकारी, औषधी पसल बाहेकका अन्य व्यापार व्यवसाय, उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय सवै बन्द अवस्थामा छन् ।


कोरोना भाईरसको संख्या र क्षेत्र दिनप्रतिदिन बढ्दै गईरहेको देखिएकोले यो महामारी कतै काबुभन्दा बाहिर जान्छकी ? भन्ने चिन्ता पनि त्यत्तिकै मात्रामा बढेर गएको छ । प्रयाप्त मात्रामा साधन, श्रोतको अभाव रहेको, पूर्व तयारी पनि नरहेको र सामूहिक एवं प्रभावकारी योजना समेत नभएका कारण यसरी नै महामारी बढ्दै गयो भने नेपाल र नेपालीले ठूलो जन, धनको क्षति व्यहोर्नुपर्ने निश्चित छ ।

कोरोना परीक्षण (पिपिई) लाई अझै व्यापक र अनिवार्य बनाउन सकिएको छैन । विदेशमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई आफ्नो देशमा ल्याउन सकिएको छैन । लामो समय देखि सिमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई सुरक्षित ढंगबाट नेपाल भित्राउन पनि सकिएको छैन । भारतीय सिमाक्षेत्रबाट लुकीछिपी दिनहु नेपाल प्रवेश गरीरहेका नागरिकको रोकथाम, नियन्त्रण र सुरक्षित साथ राख्न सकिएको अवस्था छैन । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको मापदण्ड अनुसार नागरिकलाई सुरक्षित साथ क्वारेन्टाईनमा राख्न सकिएको छैन । नागरिकहरु स्वयंले पनि लकडाउन र सामाजिक दुरीको पूर्णत परिपालना गरेको अवस्था छैन । निष्पक्ष, प्रभावकारी र सुरक्षित ढंगबाट राहत वितरण गर्न सकिएको छैन । दैनिक ज्यालादारीमा कामगरी जीविकोपार्जन गर्ने श्रमिक तथा आर्थिक रुपमा विपन्न व्यक्ति तथा परिवारका लागि तत्कालै कुनै विशेष कार्यक्रम लागू गरिएको अवस्था छैन । लकडाउन समाप्त भएपछि श्रमिक, किसान, व्यपारी व्यवसायीले राज्यबाट के कस्ता सेवा सुविधा पाउने भन्ने विषयमा समेत कुनै ठोस कार्यक्रम घोषण गरिएको छैन । लकडाउनको समाप्ती पश्चात देशको आर्थिक, सामाजिक, सांस्कृतिक, पारिवारिक अवस्थामा के कस्ता चुनौतिहरु ऋाउन सक्छन् भन्ने विषयमा पनि कुनै खास अध्ययन र तयारी गरिएको देखिदैन । यि र यस्तै कारणहरुले गर्दा आगामी दिनहरुमा के कसरी जीवन गुजारा गर्ने, व्यापार व्यवसाय कसरी संचालन गर्ने भन्ने विषयमा नेपाली नागरिकहरु चिन्तित छन् । सो सम्वन्धमा अझै पनि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गम्भीर देखिएका छैनन् ।

यसरी एकातिर कोरोना भाईरसको आक्रमण बाट आक्रान्त भईरहेको अवस्थामा नेपाली भू—भाग (कालापानी, लिपुलेख, लिम्पियाधुरा समेत) लाई भारतले अतिक्रमण गरी सडक विस्तार गरेको\गरिरहेको भन्ने घटनाले नेपाललाई थप पिडा दिएको छ । नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो । नेपालको कुनै पनि भू—भाग, कुनै पनि बहानामा, कुनै पनि छिमेकी राष्ट्रले अतिक्रमण गर्न र उपभोग गर्न पाउदैन, यो राष्ट्रिय एवं अन्र्तराष्ट्रिय मान्यता हो । तर आफ्नो भू—भाग अतिक्रम हुन दिनमा हाम्रो सरकार र नेपालका राजनीतिक पार्टी कति जिम्मेवार छन् ? भन्ने विषयमा पनि समिक्षा हुन आवश्यक छ । जुन क्षेत्र भारतले अतिक्रम गर्यो भनेर अहिले मौसमी रुपमा राष्ट्रवादी आवाज उठाउने हामीले उक्त क्षेत्रलाई हाम्रो (नेपालको) नक्शामा नै राखेका छैनौं । यसबाट हामी कति गैरजिम्मेवार छौं भन्ने कुरा प्रमाणित हुन्छ ।

नागरिकको जनस्वास्थ्य, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको नियन्त्रण, देशको आर्थिक अवस्था, नागरिक र देशको भविष्य प्रति सरकार सम्वेदनशील छैन भन्ने कुरा वेमौसमी रुपमा हातार हतारमा ल्याएको दुईवटा अध्यादेश (संवैधानिक निकायको गठन र दल फुटाउन पाउने प्रतिशत) बाट पुष्टि हुन्छ । सर्वत्र विरोध भएपछि मात्रै आफैले ल्याएको उक्त अध्यादेश नेपाल सरकारले फिर्ता लिन बाध्य भयो । देश नै संकटमा परेको समयमा सरकारका मन्त्री नै भ्रष्टाचारमा मुछिनु कुनै पनि सभ्य राष्ट्रका लागि सोभनीय विषय हुन सक्दैन । यिनै कारणहरुले गर्दा प्रधानमन्त्रीका आफ्नै पार्टीका जिम्मेवार नेता, प्रतिपक्षी दल र नागरिक स्तरबाट समेत प्रधानमन्त्रीको नैतिकताको प्रश्न उठाई राजिनामा माँग हुनु पनि गम्भीर विषय हो । यसतर्फ पनि सरकारको ध्यान पुगेको अवस्था छैन ।


नागरिकको कर्तव्य ः
हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका सार्वभौम नागरिक हौं । प्रत्येक नेपाली नागरिकको जीवन, स्वतन्त्रता र व्यापार व्यवसायको संरक्षण एवं सुरक्षा गर्नुपर्ने परम कर्तव्य लोकतान्त्रिक सरकारको नै हुन्छ र हुनुपर्दछ । नेपालको संविधानले मौलिकहरु र सो हकलाई कार्यान्वयन गर्नका लागि निर्माण भएका सम्पूर्ण कानूनहरुले प्रत्याभूत गरेका नागरिकका सम्पूर्ण (स्वतन्त्रता, शिक्षा, स्वास्थ्य, रोजगार, सूचना, खाद्य आदि) अधिकारको संरक्षण र प्रचलन गर्नुगराउनुपर्ने कर्तव्य सरकारको नै हो । तर अहिले देश नै संकटमा परेको अवस्थामा नागरिकका पनि परिवार, समाज र राष्ट्रप्रति कर्तव्य र जिम्मेवारी रहेका हुन्छन् । हामीले पनि आफ्ना कर्तव्य र जिम्मेवारीलाई इमान्दारीतापूर्वक परिपालना गरी आफू, आफ्नो परिवार, समाज र सिंगो राष्ट्रलाई जोगाउनमा यथासक्य सहयोग गर्नुपर्दछ ।


संकटको समयमा विभिन्न दुःख, कठिनाई भोग्नु पर्दछ । यस्ता दुःख र कठिनाईलाई केही समयको लागि संयमिमता अपनाएर सहनु बाहेक हामी संग अर्को विकल्प छैन । लकडाउन (बन्दाबन्दी) नागरिकको जीवन रक्षाका लागि घोषणा गरिएको हो सरकारका लागि होइन । विश्व स्वास्थ्य संगठन (डब्लएचओ), स्वास्थ्य सम्वन्धी विशेषज्ञ, सरकार लगायत सरोकारवाला निकाय र अधिकारी सवैले कोरोना भाईरसकको नियन्त्रण र नागरिक सुरक्षाको लागि नागरिक स्वयं नै सुरक्षित रहनु पर्दछ, यो नै अचुक औषधी हो भनेर सल्लाह सुझाव दिईरहेका छन् । हामीले पनि रेडियो, टेलिभिजन, मोवाईल आदिबाट दैनिक रुपमा सो सम्वन्धी सूचना पाईरहेका छौं । नागरिक आफै सुसूचित हुने, आफै सतर्क हुने, सामाजिक दूरी कायम गर्ने, मास्क र पन्जाको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने, अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर नजाने, नियमित व्यायाम गर्ने, खानपिनमा विशेष ख्याल राख्ने, सरसफाईलाई विशेष ध्यान दिने आदि लकडाउनका सामान्य नियम हुन् । तर हामीले हाम्रै जीवन रक्षाका लागि बनाईएका उक्त नियमहरुको पूर्णरुपमा परिपालना गर्ने गरेका छैनौं जस्का कारण हामी स्वयं संक्रमणको जोखिममा छौं । हाम्रै लापरवाही र असावधानीका कारण हाम्रो परिवारका सदस्य तथा समाजमा समेत महामारी फैलिने क्रम जारी छ । यसको जिम्मेवारी कस्ले लिने ? यस्को क्षति कस्ले व्यहोर्ने गम्भीर प्रश्न हामी नागरिक प्रति रहेको छ ?
जहाँ अधिकार हुन्छ त्यहाँ कर्तव्य पनि सन्निहित हुन्छ । अधिकार उभोग गर्न चाहनेले आफ्नो कर्तव्य पनि निर्वाह गर्नुपर्दछ । संविधान, कानून र सामाजिक मूल्य र मान्यताको पनि नागरिकले अनुसरण गर्नुपर्ने हुन्छ । देश नै संकटमा परेको अवस्थामा प्रत्येक नागरिकले आ—आफ्नो तर्फबाट राज्यलाई आवश्यक सहयोग गर्नुपनि पर्दछ । विडम्वना नै भन्नु पर्दछ अहिले पनि हामीले हाम्रै लागि लागू गरिएको लकडाउन र सुरक्षाको परिपालना गर्ने गरेका छैनौं । अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर निस्कन हुदैनभन्दा भन्दै पनि अलिकता खुकुलो हुनेवित्तिकै नागरिकहरु जथाभावी घरवाहिर निस्कने र अनावश्यक रुपमा भिडभाड गर्ने गरिएको छ । सवैकुरा बुझेका नागरिकहरुले पनि बाहिर निस्कदा मास्क तथा पंजा समेत लगाउने गरेका छैन् । खाद्यान्न र तरकारी किन्दा तथा बैंकिङ्ग सेवा लिँदा समेत सामाजिक दुरी कायम नगरी अनावश्यक रुपमा भिडभाड गर्ने गरिएको छ । छिमेकी मुलुक भारतबाट कुनै तवरले नेपाल प्रवेश गरेपछि स्थानीय तह तथा प्रहरी प्रशासनलाई जानकारी गराई निश्चित समय क्वारेन्टाईनमा वसी चेकजाँच पछि मात्रै घरमा जानुपर्नेमा सो कुरा जानकारी नै नगराई आफूखुशी घरमा तथा आफन्तकहाँ गई जोखिम बढाउने कार्य भईरहेको छ । क्वारेन्टाईनमा निश्चित अवधिसम्म वसी चेकजाँच पश्चात मात्रै घरमा जानुपर्नेमा त्यहीबाट भाग्ने गरेको भन्ने घटनाले त हामीलाई दुःखित तुल्याउने गरेको छ ।


विश्वव्यापी रुपमा फैलिएको कोरोनो भाईरसको हालसम्म पनि औषधी पत्ता नलागेको अवस्थामा यस रोगलाई रोकथाम तथा नियन्त्रण गर्न र आफू सुरक्षित हुनको लागि सामाजिक दुरी, सरसफाई, मास्क र पंजाको प्रयोग, साबुन पानीले हातधुने आदि कार्यलाई अनिवार्य रुपमा परिपालना गरी आफू, आफ्नो परिवार र समाजलाई जोगाऔं, आफ्नो नागरिक कर्तव्य पूरा गरौं । (लेखक शाह अधिवक्ता हुन्)

प्रतिक्रिया

प्रतिक्रिया