कोरोना कहर

नेपालगन्जमा दुई दशकअघि डा. धवल शम्शेर राणा नगर प्रमुख हुँदाका उपप्रमुुख सम्सुद्दिन सिद्दीकी यतिबेला नेकपाका नेतामात्रै छैनन्, इस्लामिक धार्मिक संस्थाका अध्यक्ष छन् । उनै सम्सुद्दिन अध्यक्ष रहेको अन्सारी मस्जिदका एक जना सहयोगीलाई कोरोना संक्रमण देखिएपछिको अवस्थाबारे दैनिक नेपालगन्जले सम्यक संवादका लागि सम्पर्क गर्दा उनले भने, नेपालगन्जका मेरो घर पनि अन्सारी टोलकै छेउमा रहेको छ । त्यसैले म पनि यहीं रहेको छु । पत्रकार झलक गैरेले गरेको संवाद आजको विशेष ।

बाँकेमा पहिलो संक्रमित भेटिएको ठाउँमा हुनुहुन्छ ? यतिबेला तपाईको टोलको अवस्था के हो ?
हाम्रो टोलका अवस्था त नाजुक नै रहेको छ । मैले नै दुई जनालाई कोरोना भनेको सामान्य हो भनेर सम्झाएर चेकजाँच गर्न पठाएको थिएँ । सबै मस्जिद, मदरसाको नमाज पढाउने हेल्पर जसले माइकमा अजान दिन्छ, उहाँलाई मोअज्जिन भनिन्छ । जसमध्ये मोअज्जिनको पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाँकेबाट जानकारी पाएँ । त्यसपछि स्वास्थ्य कार्यालयलाई सघाउन तयार भएँ । मोअज्जिनलाई आइसोलेसनमा जानका लागि सम्झाए । सामाजिक दुरी कायम राख्दै मैले उहाँलाई सम्झाएर जान भने । उहाँले पनि सम्झाएपछि मलाई केही समस्या छ भने जान तयार छु भन्नुभयो । तर, उहाँ डराउनु पनि डराउनु भयो । त्यो दिन उहाँलाई पठाइयो ।


उहाँलाई पठाएपछि उहाँको कन्ट्याक्ट टे«सिङ्ग गर्नका ३२\३४ जना प्रहरी र आर्मीका अधिकारी आउनु भयो । त्यसपछि मैले भने ३२\३४ मात्रै होइन मस्जिदमा अरु पनि नमाज पढ्छन् अरुको पनि चेक गराइहाल्नुस् । वडाध्यक्षले त्यो जिम्मेवारी पूरा गर्न सक्दैनन्, त्रासले हो कि । मैले जनताको ज्यान ठूलो हो, सबभन्दा ठूलो मानवता हो । अनि प्रहरीले टेन्ट लगायो, सबै मान्छेहरु, त्यो टोलका साथै नमाज पढ्ने जतिपनि देखेको थिएँ सबैको चेकअप गराइयो । एक घरका ५ जना, एक ठाउँबाट ४ जना, एक घरबाट ३ जना ससना बच्चाहरुलाई पनि मोअज्जिनले पढाउँथ्ये, त्यसबाहेक छेउछाउमा बस्ने, पसलेलाई पनि चेक गराएँ । किनभने छोइएर संक्रमण सरेको हुनसक्छ । भगवानको कृपाले बाहिरीलाई देखिएन नजिकको नातेदारमा देखियो ।


त्यो घटनाले मेरो टोलमा आतंक नै मच्चियो । प्रहरी, सेना, जनस्वास्थ्यले भनिसकेपछि उहाँहरुलाई सम्झाएँ आइसोलेसनमा जान । आइसोलेसनमा गएपछि झन् राम्रो हुन्छ भनेर सम्झाएँ । मान्नुभयो र जानुभयो । आइसोलेसनमा गैसकेपछि एक\दुई जनाको पनि फोन आउँथ्यो । एक बर्षको बच्चा रहेको आमा, रोजा नमाजको अवस्था समस्या भयो भनेर पनि फोन आयो । मैले नआत्तिन सम्झाएँ, १४ दिनको कुरा हो । १४ दिनमा चेकअफ भएर नेगेटिभ आएपछि तपाईहरुलाई रिलिज गर्छ र तपाईहरु घर फर्किन पाउनुहुन्छ भनें ।


मोअज्जिनको १४ दिनपछि पनि पोजेटिभ आएको थाहा छ । उहाँलाई जतिखेर पनि सर्दीजुखाम लागिरहन्थ्यो । उहाँको त्यो जेनेटिक हो कि के हो ? नियमित रुघाखोकी लाग्थ्यो । अहिले देखिएका २३ जना हाम्रो टोलका हुन् । थप २३ को कन्ट्याक्ट टे«सिङको लिष्ट पनि म कहाँ आयो । वरिपरिका टोलमा पनि चेक जाँच गराइएको त्यहाँ पनि २ जना भेटिए । उहाँहरु आफै आइसोलेसन अस्पताल जानुभयो ।


टोलमा धेरै पोजेटिभ केस देखिएपछि टोल बदनाम भयो भनेर थप चेकजाँच गर्न दिनुभएन भन्ने सुनिन्छ नि ?

 त्यस्तो हुन्थ्यो भने म त्यत्रो मान्छेको किन चेकअप गराउँथें र ? कसले के भन्यो म त्यतातिर जान चाहन्न । मेरो टोलमा करिब सबैको चेकजाँच भएको छ । २÷३ जनाले मेरो छुट्यो भनेका छन्, मैले परीक्षणका लागि पठाउने पहलमा छु । टोलका बासिन्दा छुटेका छन् भने उहाँहरु आफै मेरो चेकजाँच गर्नुपर्यो भनेका छन् ।


जोलाहनपूर्वा, टांगा स्टेशन सहित तीन वटा टोलमा स्वाब परीक्षण गराइएको हो । टाँगा स्टेशनमा १ सय ६२, जोलाहनपूर्वाको ९० जना र अर्काे टोलामा पनि ८५÷९० चेक भएको छ । जसमध्ये दुईको पोजेटिभ भेटिएको हो । अब कसैले अफवाह फैलाउँछ, नचाहिने कुरा गर्छ भने म त्यसमा जान चाहन्न । मुखले बोलेर मात्रै हुँदैन, मैले अण्डरग्राउण्ड काम गरिरहेको छु । मलाई पनि आफ्नो ज्यानको माया त छ नि हजुर ।

तपाईंको स्वाब परिक्षण भयो ?

भयो, म रिजल्टको पर्खाईमा छु, इश्वरले चाह्यो भने नेगेटिभ आउँछ ।

टोलमा अबको समस्या के हो ?


यति धेरै दिन भैसक्यो । समस्या छ । टोलका बासिन्दाले लिखित रुपमा लिएर आएका छन्, म सँग । १८÷१९ दिन भैसक्यो, त्राहिमाम छ । खानापानीको समस्या भैसकेको छ । मैले वडाध्यक्षलाई उपमहानगरपालिकामा मिटिङ्ग छ, टोलबासीको यो समस्या छ, जानकारी गराउनु होला भनेको छु । उपमहानगरपालिकाले हाम्रो टोलमा एक पटक राहत दिएको छ । म धन्यवाद दिन्छु । नगर प्रमुखले म सँग सोध्नु भएको थियो, मैले राहत आवश्यक छ भनेपछि १५ केजी चामल, १ केजी दाल, १ लिटर तेल, १ किलो सोयबिन राखेर ८५ परिवारलाई राहत दिनुभयो । तर, रोजाको बेलामा के हालत छ, कसैले साेंचेको छैन ।

अब के गर्यो भने टोलबासीलाई राहत हुन्छ ?

कसैलाई पनि त्यस्तो अवस्था नआओस् । मेरो चाहना यही हो । तर, त्यो विचरा कोरोनाबाटै मर्छ भने मिडियामा फोटो अपलोड गर्दिन्छन् । त्यो नगर्नु पर्ने चिज हो । सोसल मिडियामा फोटो कति धेरै आएको छ, मृतक महिलाको ? त्यो गलत भयो । हाम्रो टोल बदनाम गर्ने काम भयो ।
अहिलेको समय भनेको एकलेअर्कोलाई हौसला दिने समय हो नि । तर, ओहो के के नै भयो भन्दै भिड लगाउने गर्नुहुँदैन । फिल्डमा स्वास्थ्यकर्मी खटिएका छन्, प्रहरी, सेना खटिएको छ । अब मर्छम् भनेर सबै घरमा बस्यो भने विरामीले महामारीको रुप लिन्छ । अहिले त शंका लागे चेक गराउने हो । एक अर्कालाई त्यसको लागि हिम्मत दिनुपर्छ । उपचार गर्नुपर्छ, स्वास्थ्य लाभको काम गर्नुपर्छ ।

हो, रोगले कसैलाई चिन्दैन । तर नेपालगन्जमा जोलाहनपूर्वाबाट संक्रमण सुरु भयो, त्यसपछि एउटा कम्युनल फिलिङ्ग दिन खोजिएको हो ?
मैले जिल्ला प्रशासन कार्यालयको मिटिङ्गमा यो कुरा उठाएको हुँ । शायद लकडाउन नभएको भए यो सहरमा ठूलो साम्प्रदायिक दङ्गा हुनसक्थ्यो । तर, यो लकडाउनको देन हो यो सहरमा दंगा भएन । यस्तो कुराबाट सुरक्षा निकाय सजग हुने कि नहुने । हिजो मोबाइलमा मोदीले थाली बजा, बत्ती जला, बुझा भन्दा पटका पट्काउने त्रिभुवन चोकमा कसले थाहा पाएको छैन ? आज हाम्रो देशमा आपत पर्दा खै तिनीहरु कहाँ गए सबै ?
हिजो सम्म जहाँ चेकजाँच भएको थियो त्यो मुस्लिम बस्ती थियो र चेकजाँच हुँदा मुस्लिममा देखा पर्यो । हिन्दु बस्ती हुन्थ्यो भने हिन्दुमा देखा पथ्र्यो । आज देशभरी नै चेकजाँच बढाइएको छ । संक्रमित बढ्दैछ । कति जना मान्छे हवाईजहाजबाट आएका छन्, उनीहरुमा पनि देखिएको छ । काठमाडौं कहाँ बाहिरबाट मान्छे पुग्यो, त्यहाँ पनि देखियो त । त्यसैले यस्तो कुरालाई भ्रम नफैलाएर राम्रोसँग बढी भन्दा बढी चेकअप गराऔं । जसलाई पनि रोग लाग्न सक्छ । पैसा वालालाई मात्र हार्ट अट्याक हुने होइन लेबरलाई पनि हुन्छ ।

लकडाउन पालनामा नेपालगन्ज अझै अटेरी देखिएको छ ? यो अवस्थालाई कसरी नियमन गर्ने होला ?
यो पुलिस प्रशासनले डण्डा लगाएर जनतालाई सम्झाउन सकिंदैन । डण्डा लगाएर हुने भए दुनियाँको कुनै पनि आन्दोलनले सफलता प्राप्त गर्दैनथ्यो होला । त्यसकारण जनताको अवायरनेशलाई कसरी डेभलप गर्ने ? खाद्यान्न बाहेक अन्य पसल खुल्छ भने त्यो पसल तु बन्द गराइदिनु पर्छ । केही ठाउँमा मात्र दुकान खुल्दा बढी भिड हुने हो । सोसल डिस्टेन्स पनि हुँदैन ।


राजनीतिकर्मी के गर्दैछन् ?
केही साथीहरुले राम्रै काम गरिरहनु भएको छ । जुन तरिकाले राजनीतिक दलहरु घरघरमा भोट माग्न आउँछन्, त्यस्तै प्रत्येक वडामा सबै दलहरुको त्यो मुद्दा हुनुपर्छ । अहिले देशका जनतालाई महामारीबाट जोगाउने भन्ने हो । तर, अहिले कुनै दलको अस्तित्व नै म हेर्दिन । जनताबाट चुनिएका नेताहरु खै कहाँ गए ? सांसद कहाँ गए ? यसबाट जनता रुष्ट छन् । जनताको पीडा नेताले बुझेनन् । मैले सम्झाउने गरेको छु, अहिले राजनीति गर्ने बेला होइन । मैले समाजमा सबैभन्दा राम्रो उपाय कोरोनाबाट बच्ने भनेको सबैभन्दा ठूलो सचेतना र सामाजिक दुरी कायम गर्नु हो ।


यो सन्त्रासको बेला जनप्रतिनिधिको भूमिका के हुनुपर्छ ?
सम्पूर्ण वडामा निर्वाचित वडाध्यक्ष छन् । उहाँहरुले जनताको मतको कदर गर्नुपर्छ । उहाँहरु आफुलाई सुरक्षित गरेर जनता बीचमा जानुपर्छ । म जान्न, गर्दैन भन्नु हुँदैन । अहिले सबै कुरा ख्याल गर्नुपर्ने हो । जनताले जनप्रतिनिधि ताकेर बसेका छन् । यो प्रश्न जनप्रतिनिधिसँग आगामी निर्वाचनमा गर्ने नै छन् ।

प्रतिक्रिया

प्रतिक्रिया