अहिले संसारमा चर्चा नै कोरोना भाईरस (कोभिड–१९) को छ । रेडियो, टिभी, एमएम, पत्रिका, अनलाइन, फेसबुक लगायत विभिन्न सञ्चारमा यसैको चर्चा छ । जताततै कोरोना कै कुरा छ । गफगाफदेखि च्याट यसैमा केन्द्रित छन् । केही जान्ने उत्सुकता, केहि डर, तनाव र के–के हुने हो ? के–के हुन्छ र कहिले सम्म हुने हो ? मरिन्छ कि बाचिन्छ कि ? जस्ता अनेकन विषयले खुल्दुली छ सबैमा । कसैमा कम कसैमा ज्यादा होला तर सबैलाई सताएको यसैले छ सबै तिर ।
केन्द्र प्रदेश स्थानीय सरकार कसरी कोरोना रोकथाम र व्यवस्थापन गर्ने र आर्थिक स्थितिलाई कसरी सम्हाल्ने भन्नेमा छ । सञ्चारकर्मीलाई समाचार सहि वास्तविक र सहजै जनमानसमा पुर्याउनेमा छ । सुरक्षा निकायलाई लकडाउन सफल पार्ने र शान्ति कायम राख्नेमा छ । स्वास्थ्यकर्मीहरू पहिलो लाईनमा रहेर कोरोना शंकास्पदको स्वाब लिने चेक गर्ने रिपोर्ट दिनेमा छन् ।
सरकारले केही गरेन भन्ने एक थरि एकातिर छन भने राम्रो गरि रहेको छ भन्ने अर्को तिर नभएका पनि होइनन् । सरकारले यो भन्दा राम्रो गर्न सक्थ्यो तर केही कुरामा चुकेको छ भन्ने नभेटिएका पनि होइनन् । कुरा काट्न र कमजोरी देखाउन या समर्थन गर्न कुनै ठुलो कुरा भएन । वास्तविक कुरा राख्न या सल्लाह दिन हामी चुकेका पनि हुन सक्छौ जसको हेक्का कसैले राख्दैनन् । के हामीले यो महामारीमा कसैलाई खाना दिएका छौं ? केही आर्थिक सहयोग गरेका छौ ? के लकडाउनको पालना भने जसरी गरेका छौ ? सामाजिक दुरि सहि तरिकाले कायम राखेका छौं ? मास्क सहि तरिकाले प्रयोग गरेका छौ ? कतैबाट सिकाउने कोसिस भए त्यसतर्फ ध्यान दिएका छौ ? यसतर्फ हाम्रो धेरै चासो छैन । अझ कत्तिलाई त मैले जति जानेको को होला ? आफैमा फाईफुर्ति कम छैन ।
यो रोगको चर्चा जब चीनतिर थियोे त्यति बेला देखि विभिन्न देश हुँदै भारत र हाम्रो देशमा लक डाउनको दुई महिना पुग्ना लाग्दा धेरै कुरा हेर्दैछु सुन्दैछु भोग्दैछु । आफ्नो तर्फबाट जानेको सिकाउने कोशिस पनि गर्दैछु । ती कुराका केही राख्ने कोशिश गर्दैछु । मैले माथी उल्लेख गरेका केही विषयमा सबैभन्दा सानो सोच डर र कुरा काट्ने, फाईफुर्ति बढी देखाउने उच्च बर्ग र आर्थिक रुपमा ठिक र विभिन्न संघ सस्थामा रहेकामा बढी देख्छु । अहिले सबैभन्दा बढी स्वास्थ्यकर्मी त्यसपछि सुरक्षाकर्मी अति आवश्यक जस्तै औसधी पसलमा काम गर्ने व्यवसायी र व्यक्ति, खाद्यान्न पसलमा काम गर्ने व्यक्ति एम्बुलेन्स चालक, संचारकर्मी उच्च जोखिममा छन् । उनीहरुले उच्च सावधानीपूर्वक सेवा सहित काम गर्न जरुरी छ । उनीहरुलाई आवश्यक राम्रो मास्क, पन्जा, सेनिटाईजर हरेक समय साथमा हुन जरुरी छ । यहाँ जो मै हु भन्नेले यस्ता समान प्रयोग गरेको देखिन्छ यसमा कुनै मेरो आपत्ति भने होइन तर मास्क लगाएर हरेक समय तलमाथि गरि राख्नु । मास्कमा हातले बारबार छुने आधा मुखमात्र छोप्ने नाक नछोप्ने, आँखा छुने मिच्ने । बजारमा समान खरिद गर्दा भिडमा जबर्जस्ती कोचिएर समान खरिद गर्ने जहाँ पायो त्यही छुने । तरकारी फलफूल खरिद गर्दा बिक्रि कर्तासङ्ग जोडिएर खरिद गर्ने कुरा गर्ने ।
बिहान हिड्ने morning walk को नाममा ग्रुप लियर हिड्ने । बेलुका १०जना जम्मा गरेर भित्री बाटोमा गफ गर्ने । गफ गर्दा उस्ले यसो गरेन उसो गरेन, सरकारलाई यो त्यो बहानामा गाली गर्ने गरेको देखिन्छ । हामीलाई उच्च खाले मास्क पन्जा सेनिटाईजर चाहिदैन । दुई लिएर मास्क लगाए पुग्छ तर मास्क लगाई सकेपछि त्यसमा हात लगाउने तलमाथि बारबार गर्नु हुँदैन । छुनु पर्यो भने हात राम्रोसङ्ग साबुनपानीले धुनु पर्यो या सेनिटाईजर प्रयोग गरेर हात सफा बनाएर मात्र छुनु पर्छ । सामाजिक दुरि कम्तीमा डेढ मिटर राखेर खरिद बिक्री गर्नु पर्यो । जहाँ पायो त्यहाँ छुन भएन । बजारबाट कुनै पनि काम सकेर घर गए पछि पुरै शरीर सफा गरौ सकिँदैन भने हातखुट्टा राम्रो सङ्ग सफा गरेर कपडा बाहिर सुकायर मात्र भित्र जानु पर्यो । खरिद गरेको खानेकुरा जस्तै तरकारी फलफूल दूध बिस्कुट चक्लेट आदि जस्ता दैनिक प्रयोग हुने वस्तुमा २४ घन्टा सम्म जीवाणु रहन सक्ने कुरा जानकारीमा आको छ। ती वस्तु राम्रोसँग सफा गरेर मात्र प्रयोग गर्नु पर्यो । त्यस्तै सुरक्षाकर्मी सुरक्षा दिने र लकडाउन पालना गराउने नाममा नजीकमा गएर सोधपुछ गर्नु भन्दा डेढ मिटर दुरिबाट गर्नुपर्यो र मास्क कपडाको पुरानो लगाएर कुनै रोगबाट सुरक्षा हुदैन राम्रो मास्कको प्रयोग गर्नु पर्यो । त्यस्तै विभिन्न पसलमा जाँदा सुरक्षा निकायको भने हामी व्यस्त छौं हामीलाई काममा जान छ भनेर अगाडी पालो लिनुपर्यो कोचिएर पालो मिच्ने होइन, त्यसले तपाईहरुलाई नै खतरा हो ।
त्यस्तै केही सञ्चारकर्मी साथीहरु पनि चुकेको देख्छु । तपाईले त्यो संचारको जकेट लगाउँदैमा सबै कुरामा तपाईलाई अघि र छुट हुनुपर्छ भन्ने छैन । तपाईंलाई कोरोनाले यो त्यो त भन्दैन । तपाईहरु पनि बजारमा अव्यवस्थित र रोगको मापदण्ड विपरीत काम गरेको, खरिद गरेको, मास्क सहि नलगाएको सावधानी एकदमै पालना नगरेको देखिन्छ । जुन तपाई आफु लगायत आफ्नो परिवारलाई अप्ठ्यारोमा पार्दै हुनुहुन्छ । समय छ अझै ख्याल गरौ । संचारकर्मीलाई पनि कोरोना पोजेटिभ आको सर्वविदितै छ ।
यो रोग कति समय सम्म रहेने हो र कहिले देखि पहिले जस्तो समान्य हुन्छ अहिलेसम्म कसैले यसै भन्न सकिने अवस्था छैन र सक्दैन । त्यसैले रोगको मापदण्ड अनुसार सामाजिक दुरि कायम, मास्कको उचित सहि प्रयोग, हातको सफाई, नाकमुख आँखा नछुने, खरिद गरेका समानको सफाई र वास्तविक कुरा र सरकारको उचित निर्देशन पालना गरि अगाडि बढन जरुरी छ । अबको समय आत्मनिर्भर हुनका लागि जग्गा भएसम्म तरकारी खेती, फलफूल, खाद्यान्न खेती, घरमा बनाउन हुने बेतका समान, ऊनी कपडा, डोरीको खाट, डोको जस्ता बस्तु उत्पादनमा जोड गर्नु पर्छ । कुखुरा पालन, बाख्रा पालनमा जोड गर्नु पर्छ जुन आज नभए नी भोलिलाई पक्कै काम लाग्छन् ।
त्यस्तै विद्यार्थीहरुले विभिन्न धर्मका किताब, दार्शनिकका कथा, नयाँ नयाँ कुरा सिक्न आफू भन्दा अग्रजसङ्ग विभिन्न माध्यमबाट सिकाई गर्नु । टाईपिङको गति बढाउने । विभिन्न भाषा सिक्ने । घरमा खेल्न मिल्ने खेलकुदमा जस्तो लुडो, क्यारेमबोर्ड, चेस, ब्याडमिन्टन, भलिबल, डोरी नाग्ने खेलमा जोड गर्ने । अक्षरहरु (writings) मा सुधार गर्ने । छिटो लेख्न सक्ने कलाको विकास गर्ने । गाना गाउन, नाच्न , चित्रकला, हस्तकलामा कोशिस गर्ने । बोल्नेकलामा भाषण गर्ने, कार्यक्रम चलाउन सिक्ने राम्रो अवसर छ । यसलाई सहि सदुपयोग गर्ने जसले आउने समय आफ्नो लागि अगाडि बढन सहज हुनेछ ।
यो रोगको कहर कहिलेसम्म जाने भन्नेमा कहि कतैबाट जानकारी आउन सक्ने सम्भावना छैन । लाखौं सक्रमित र लाखौं मर्ने पक्का छ । गरिबी र भोकमरीले विश्व जकडिने पक्का छ । त्यसैले भोजभतेर, पार्टी, जन्म दिन, विवाह, चाडपर्व, न्वारान धर्मकर्म जस्तामा जति सक्दो कम खर्च गरौं । गाडी खरिद गर्ने, घरमा तला थप्ने, नयाँ घर बनाउनेमा अनावश्यक खर्च नगरौ पैसा बचत गरौं । पाईखाई आएको जागिर नछोडौ । अब जागीर पाउन कठिन हुनेछ । भिडभाड क्षेत्रमा नजाऔ र नगरौ । गाडी, प्लेन सञ्चालन भए हुल गरि नचढौ आराम सङ्ग चढौ । एकदिन कोरोनालाई अवश्य हामी जित्नेछौ ।








