कोरोना कहर

जब देखि टोलमा पोजेटिभ देखा परेको छ तब देखि एक खालको अफरातफरीको माहोल छ । मानिस देखि मानिस डराइ रहेका छन् । चारैतिर त्रासको वातावरण छ टोल भित्रका मानिसहरु परिक्षण नगराएका परिवार माथि पोजेटिभ हुने शंका र डर छ भने टोल बाहिर हामी सबैमाथि त्यही शंका र डरका साथ घृणा गरिने हँुदा आ आफ्नै घरभित्र बसेका छौं । कैदी सरह जीवन जीउन बाध्य छौं । घरमा रहेको खाद्य सामग्रीबाट पाकेको खाना खाने, इबादत गर्ने र रोजा बस्ने यही दिनचर्या छ किनभने घरका सदस्य घरमा नहुँदा चिन्ताले निद्रा लाग्दैन ।

कोरोना पोजेटिभ भेटिएको ठाउँ दुई साता अघि सम्म एकदमै सुनसान हुन्थ्यो । मानिस देखेर मानिस डराउनु पर्ने अवस्था सृजना भएको थियो । जताततै यही हल्लाखल्ला मात्र थियो कि फलाना टोल रेडजोनमा परेछ । हल्ला सुनेर तरकारी, फलफुल र दूध बेच्नेहरु समेत टोलभित्र छिर्दैनथे र सम्बन्धित टोलका व्यक्ति कतै देखिए भने उनलाई लखेटिन्थ्यो त रेडजोनमा परेको व्यक्ति टोल बाहिर किन आइस् भनेर । अझ यति मात्र कहाँं थियो र त्यही टोलका केही तरकारी र फलफुल बेच्नेहरु जो नेगेटिभ थिए तिनीहरुबाट किनमेल समेत गर्दैनथे । टोल भित्र पनि एक खालको सन्नाटा छाएको हुन्थ्यो कोही घर बाहिर निस्किदैनथे घर भित्र बसी नजरबन्द कैदी सरह दिन काट्दै थिए किन भने टोलभित्र पनि एक छुट्टै त्रास सृजना भइसकेको थियो । पछिल्लो दुई साता यस्तै रह्यो ।

बिस्तारै अवस्था फेरिन खोज्दैछ । यतिबेला टोलभित्र केही हदसम्म जनजीवन सामान्य हुन खोज्दैछ । धार्मिक आस्थाको केन्द्र मस्जिद अहिले पनि बन्द नै छ तर, सबै जना नमाज पढिरहेका छन् । घरमा नै पढिरहेको नमाजमा दुवा केवल मानव हित र सुस्वास्थ्यको छ । टोल बाहिर आवतजावत अझै छैन । दैनिक नेपालगन्ज प्रतिनिधि पुग्दा पनि पुरै टोल सूनसान देखियो । तर, अब टोलका मानिसहरु आपसमा एक अर्काको हाल खबर लिइरहेका भटिए । सांँझतिर सामाजिक दूरी कायम गरी आफ्नो आफ्नो घर अगाडिको चौतारामा बसेर भए पनि भलाकुसारी गरेका देखिए । आफ्ना दुःखपीडा मनका वेदना साटासाट फेरि शुरु भएको छ । हिजो जुन घृणा र शंकाको माहोल थियो आज त्यस्तो छैन् अहिले टोलबासीले एक अर्को प्रति सहानुभूति व्यक्त गर्छन् । अब बिस्तारै उनीहरु बीच कायम रहेको शंका र घृणा हटेको छ ।


नेपालगन्ज ८ को अन्सारी टोलमा इफ्तारको बेला भएपछि सबै आफ्नो घरभित्र परिवार संग बसेर इफ्तार गर्छन् । सबैको मनमा एउटै जिज्ञासा छ आखिर एउटै समुदायमा किन बढी पोजेटिभ देखियो ? जबकि अहिले कोही कतै गएको पनि थिएन् लाकडाउन भए देखि र त्यो भन्दा अघिबाट घरभित्र बस्दै आइरहेका थिए फेरि किन यस्तो अवस्था सृजना भयो ? यही बहानामा एउटा समुदायलाई बदनाम गराउने प्रयासरत देखिन्छ, तिनीहरु प्रति सरकारले कारबाही कहिले गर्ने होला ? अस्पताल पुगेका आफ्ना परिवारका सदस्यहरुको घर वापसी कहिले हुने होला ? यो पाली ईदमा सबै जना संगै बस्न पाउने होला नि नाइ ? यिनै प्रश्नहरु मनमा खेलाउदैं बसिरहेछन् रेडजोनबासीहरु । यही सन्दर्भमा केही पीडित परिवारसँग दैनिक नेपालगन्जका लागि शाहिदा शाह बाहिदीले गरेको कुराकानी आजको अंकमा ।

तपाईको परिवारमा कोरोना पोजेटिभ रहेको कुरा कसरी थाहा पाउनुभयो ?

हाम्रो टोलकै मस्जिदका मोअज्जिन पोजेटिभ आइसकेपछि उनको सम्पर्कमा आएका व्यक्ति वा परिवारको खोजि गर्ने क्रममा टोलमा परिक्षण हुँदा मेरो पुरै परिवारको परिक्षण भयो त्यसपछि थाहा पाइयो कि परिवारका सदस्यलाई पोजेटिभ आएको छ ।

परिवारको सदस्यलाई पोजेटिभ देखाएपछि परिवार भित्र कस्तो माहोल थियो ?

परिवार भित्र घरमुलीलाई नै पोजेटिभ देखाए पछि एकातिर पुरै घरमा रुवाबासी थियो भने अर्को तिर समाजले हामीलाई हेर्ने दृष्टिकोण नै फरक थियो । उनीहरु हाम्रो परिवारलाई घृणा र अछुत भनी हेला गर्नुका साथै हामीलाई अपराधीको रुपमा परिभाषित गर्दै हिड्थे कि फलानाको घरमा पोजेटिभ देखियो रे । जब कि बुझ्नु पर्ने कुरा हो कि यो एक सरुवा रोग हो जुन कि जो कसैलाई नि लापरवाही गर्दा लाग्न सक्छ ।

तपाईको चिन्ताको विषय के छ अहिले ?

मेरो परिवारको सदस्य नै पोजेटिभ आउनु मेरा लागि सब भन्दा बढी चिन्ताको विषय हो । त्यसपछि जसको परिवारलाई परिक्षण गरिएको छैन् तिनीहरुमा कोही पोजेटिभ छ कि उसबाट अरुलाई सर्ने हो कि भनी चिन्ता छ किनभने परिक्षण हुन बाँकी रहेकाहरुको परिक्षण गर्न जरूरी छ तर भएको छैन । यसका पनि चिन्ता छ । अर्को सब भन्दा ठुलो चिन्ता र शंकाको विषय यो कि अहिले सम्म देखा पर्नेहरुमा एउटा समुदाय विशेषका व्यक्ति मात्र किन पोजेटिभ अरुलाई परीक्षण गर्दा उनीहरुको नेगेटिभ किन जबकि सबै एउटै समाजमा संगैं बसिरहेछन् । यदि यो सरुवा रोग नै हो भने यसले एउटै समुदाय चिनेर किन बस्यो । सामाजिक संजाल र केही अनलाइन मीडियाले जसरी मोअज्जिनलाई अपराधी ठहराउने घृणित र मर्यादा विपरीत कार्य गरे त्यो अमानवीय हो । यदि मोअज्जिनले रोग फैलाउन दोषी भए उनको आफ्नो परिवार किन नेगेटिभ उनले पढाउने बच्चा र ती बच्चाका परिवार किन नेगेटिभ आए । यसको मतलबकी स्वास्थ्य परीक्षण टीम अझै टारगेट सम्म पुग्न सकेको छैन् की ? त्यसको लागि अझै प्रयास गर्न जरूरी छ ।

परिवारको सदस्य आइसोलेसनमा बसिरहँदा केही समस्या भएको जानकारी वा गुनासो आएको छ ?

यस्तो बेला समस्याको कुरा के गरौं र ? रोग नै यस्तो फैलिएको छ कि पोजेटिभ देखिनेलाई समाजबाट टाढा राखिन्छ । हाम्रो परिवारका सदस्य हरुलाई पनि राखियो । तर, आज १४ दिन भइसक्यो अब बिरामीलाई रिकभरका थप ब्यालेन्स डाइट दिनु पर्छ । तर आइसोलेसनमा त्यसको व्यवस्था छैन् । न लेगुलर चेकजाँंच हुन्छ न तन्ना फेरिएछ । एउटा अरु कुरा पनि गर्न चाहें जब कुनै लक्षण नै देखिएको छैन् भने आइसोलेसनमा राख्नुको औचित्य के ? बरु घर पठाइ दिए हामीले खानपानमा विशेष ध्यान दिई उनीहरुको रोगसंग लड्ने प्रतिरक्षा शक्ति त बढाउने थियौं ।

तपाईको टोलमा पोजेटिभ देखापरिसकेपछि त्यसको असर कस्तो देखियो ?

मेरो टोलमा संक्रमित छन् भनी खबर पुरा जंगलको आगो सरह चारैतिर फैलाइयो यसरी खबर फैलाउनुको एउटा कारण यो पनि हुन सक्छ कि यो टोलमा मुस्लिम बाहुल्यता बढी छ त्यसकारण मुस्लिम समुदायलाई बदनाम गराउन केही मुस्लिम विरोधीहरु बढी सकृय भए । जसको असर यो देखा पर्यो कि एरियालाई “रेडजोन“ अर्थात खतरनाक ठाउँ नै घोषणा गरियो । जसले गर्दा हामीलाई हेर्ने नजरिया (दृष्टिकोण) नै बदलियो छरछमेकका टोलबासी बीच ।

हाल तपाईको टोल “रेडजोन“भनी घोषणा गरिएकोछ यसरी रेडजोन हुँदा तपाईहरुको दैनिकी कसरी बितिरहेको छ ?

हाम्रो टोलमा सबै तप्काका परिवारहरु बस्छन् गरीब छन् जसलाई दुई छाक टार्न नै गाह्रो भइरहेको छ । भने एउटा अर्को तप्का छ जसलाई सब थोक पुगेको छ घरमा सब स्टाक छ कुनै चिन्ता नै छैन् । त्यही एउटा यस्तो तप्का पनि छ जसलाई छाक टार्न चाहिने सामान उपलब्ध छैन् पसल बन्द छन् । टोलबासीलाई बाहिर जान दिइदैंन् भित्र कोही आउन मान्दैनन् । त्यस कारण समस्यासंग जुध्दै गरेको अवस्था छ । मुस्लिम समुदाय को यो पवित्र महिना रमजान चलिरहेछ रोजा बस्न कम्तीमा आवश्यक सामानहरु उपलब्ध गराउन स्थानीय सरकारले व्यवस्था त गर्नुपर्छ ।

तपाई अब स्थानीय सरकारसंग के चाहनुहुन्छ ? के गरिदिंदा तपाई र तपाईका टोलबासीलाई सजिलो होला ?

टोल बाहिर जान सकिदैन् भने बाँंच्नका लागि चाहिने आवश्यक खाद्यान्न, औषधी, तरकारी, फलफूल र दूध आदि टोल भित्र पाउने व्यवस्था मिलाईदिनुपर्ने यति गरिदिए हामीलाई धेरै सहज हुनेछ । अनि मेरो एउटा आग्रह छ मुख्य टारगेट खोज्नेतिर बढी केद्रित होस् एउटा समुदाय विशेषलाई बदनाम गराउन व्यक्ति र मीडियाहरुको पहिचान गरी आवश्यक कारबाही गरोस् । जब सम्म कारबाही हुँदैंन् तब सम्म तह लाग्दैन्न् यस्ता अराजक व्यक्ति तथा तत्वहरु त्यसकारण राज्यले यस तर्फ पनि ध्यान पुर्याउनुपर्छ ।

तपाईंहरु पुरै घरभित्रै हुनुहुन्छ । लकडाउनको बेला होम क्वारेन्टाइनमा दैनिक रुप गरिने कृयाकलापहरु के के छन् ?

लकडाउनमा व्यापार बिजनेस त ठप्प थियो नै जेनतेन गरी गुजारा गर्दै थियौं । आफ्नो टाइमपास गर्न कम्तिमा टोलबासी बीच बसी गफसफ गरी समय बिताउथ्यौं । तर, जब देखि टोलमा पोजेटिभ देखा परेको छ तब देखि एक खालको अफरातफरीको माहोल छ । मानिस देखि मानिस डराइ रहेका छन् । चारैतिर त्रासको वातावरण छ टोल भित्रका मानिसहरु परिक्षण नगराएका परिवार माथि पोजेटिभ हुने शंका र डर छ भने टोल बाहिर हामी सबैमाथि त्यही शंका र डरका साथ घृणा गरिने हँुदा आ आफ्नै घरभित्र बसेका छौं । कैदी सरह जीवन जीउन बाध्य छौं । घरमा रहेको खाद्य सामग्रीबाट पाकेको खाना खाने, इबादत गर्ने र रोजा बस्ने यही दिनचर्या छ किनभने घरका सदस्य घरमा नहुँदा चिन्ताले निद्रा लाग्दैन । हरक्षण उनीहरुको सम्झना रहन्छ के गर्दै होलान् ? खाना खाएकी खाएन्न, स्वास्थ्य चेक भयो कि भएन, नियमित तन्ना फेरियो कि अझै त्यसैमा बस्दैछन् ? तिनै चिन्ता, शंका र त्रास बीच बाँच्दैछौं ।

अन्तमा कुनै भनाइ वा सन्देश छ भने ?

हामीहरुको पवित्र महिना रमजान सकिनै लागेछ घरका मुली र सदस्य आइशोलेशनमा छन् सधैं संगै एउटै दश्तरख्वानमा बसेर इफ्तार गर्ने गरिथ्यो । आज १४ दिन भइ सक्यो तिनीहरु घरबाट गएका अब त एक्लै बसेर खान मन नलागेर पकाएका खाना पनि त्यतिकै राखेको हुन्छ । ईदुलफित्रको एक दिन अगाडि उनीहरुको २१ दिन पुरा भईहाल्छ त्यसकारण हामी चाहन्छौं कि जति जना अहिले आईशोलेशन र क्वारेन्टाईनमा छन् तिनीहरुको निरन्तर चेकजांच गरी उनीहरुको आवश्यक उपचार गरेर चांडैं घर पठाईयोस् । हाम्रो मुस्लिम समुदाय को यो वर्षकै सबभन्दा महान चांड हो र यो पर्व हामी आफ्नो परिवारजनसंगै मनाउन चाहन्छौं । यसकारण मेरो भनाइ यो छ कि छिटो भन्दा छिटो चेकजांच गरी आवश्यक औषधी उपचार गरेर आईशोलेशनमा रहेका हाम्रा परिवार सदस्यहरुलाई घर पठाईयोस् । यदि डाक्टर को सल्लाह अनुसार आवश्यक पर्यो भने हामी उनीहरुलाई फुल होम क्वारेन्टाईनमा राख्छौं । आफु पनि सुरक्षित रहन्छौ र अरुलाई पनि सुरक्षित रहने वातावरण सृजना गर्छौं यो मेरो तर्फबाट सम्पूर्ण मुस्लिम समुदायको प्रतिबद्धता छ ।

प्रतिक्रिया

प्रतिक्रिया