कोभिड ( १९ लाई नियन्त्रणमा राख्न सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा कोरोना बिशेष आइसोलेसन अस्पताल स्थापना गरिएको छ । हाल त्यहाँ २३ जना संक्रमितहरुलाई राखिएको छ । सबै व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको छ । वहाँहरुमा कुनै पनि लक्षण देखिएको छैन ।
परिक्षण बढाउँदै जाँदा थप संक्रमित पत्ता लाग्न सक्ने र उनीहरुलाई अस्पतालमा भर्ना गर्नु पर्ने आँकलन गरि बुधवार मात्र प्रदेश नं ५ सरकारले कोरोना भाइरस ( कोभिड ( १९) को उपचारका लागि क्षमता विस्तार गर्नुपर्ने देखिएकोले बाँकेको नेपालगन्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई समेत आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय गरेको छ । तर, जुन हिसाबमा बिश्वमा साथै नेपालगन्जमा संक्रमितहरुको संख्या बढिरहेको छ त्यसलाई विचार गर्दा व्यवस्थापन र उपचारमा केहि नयाँ उपायहरुको बारेमा पनि साेंच्दै राख्नु पर्ने अवस्था आएको छ ।
लक्षण नभएकाहरुलाई अस्पतालमा भर्ना नै गर्नुपर्छ भन्ने छैन । सिमित श्रोत भएको हाम्रो जस्तो प्रणालीमा उपलब्ध श्रोतको प्रयोग विवेकपूर्ण हिसाबमा गर्नु पर्ने हुन्छ । सयौंको संख्यामा संक्रमितहरु भेटिन थाले पनि हाम्रा अस्पतालहरुको क्षमताले नधान्न पनि सक्छ । सबैलाई भर्ना गर्दा अस्पतालमा भर्ना गरेर औषधोपचार गर्नु पर्ने व्यक्तिहरुलाई समेत समेट्न कठिन हुन सक्छ । सबैलाई भर्ना गरेर राख्नु व्यवस्थापकीय हिसाबमा पनि चुनौति हो ।
कुनै समस्या नभएका तर टेस्टमा पोजेटिभ देखिएकाहरुलाई घरमै बस्न पनि प्रोत्साहन गर्न सकिन्छ । आफुलाई कसरी एकान्तबासमा राख्ने, सुरक्षाका के के उपायहरु अबलम्बन गर्ने, व्यक्तिगत सरसफाइ साथै संक्रमण नियन्त्रणको निम्ति के के गर्ने, रोगका लक्षणहरुको निगरानी कसरी गर्ने र कस्ता समस्या भेटिएमा स्वास्थ्यकर्मीलाई सम्पर्क राख्ने भनेर स्पष्ट रुपपा सुसुचित भने गराइनु पर्छ ।
अस्पतालमा बस्नु भन्दा आफ्नो घर समाजमा बस्दा व्यक्तिलाई खानपिन साथै देनिक जीवन यापनमा सहजता हुन्छ । समय कटाउन कठिन हुन्न । अस्पतालमा लगेर कडा निगरानीमा राख्लान् भन्ने भयले स्वाब परिक्षणको लागि सशंकित हुने अवस्था रहँदैन ।
घरमा छुट्टै कोठा व्यवस्था गर्न सक्ने व्यक्तिलाई घरमै र सो उपलब्ध नभएमा मठ मन्दिरका धर्मशाला, मदरसा, मस्जिद वा सामुदायिक भवन र होटेलहरु समेत प्रयोग गर्न सकिन्छ । यो बिचमा पहिचान गरिएका क्वारेन्टाइनहरुलाई समेत यस्ता आइसोलेसनमा स्तरोन्नती गर्न सकिन्छ ।
आइसोलेसनमा बस्न पर्नेहरुको निगरानीको निम्ति प्रविधिको समेत प्रयोग गर्न सकिन्छ । मोबाइल फोन मार्फत लोकेसन ट्रयाक गरेर समेत सम्बन्धित व्यक्ति निश्चित परिधिका रहेको वा नरहे्को यकिन गर्न कठिन हुने छैन । तर, यसरी घरमै वा समुदायमै राख्दा संक्रमित व्यक्तिका साथै वरपरको समुदाय सजग भने रहनुपर्छ ।
यो विधि चीन र ताइवानमा व्यापक प्रयोग गरिएको थियो । अमेरिकामा समेत सबै बिरामीलाई भर्ना गरिन्न । अवस्थाको “ट्रायज” गरेर मात्र आबश्यक बिरामीलाई अस्पतालमा राखेर अवस्था अनुसारको उपचार गरिन्छ । (भेरी अस्पतालमा कार्यरत डा. चापागाईं कोरोना भाइरस विरुद्धको उपचार र व्यवस्थापनमा सक्रिय छन्)









