एउटै टोलमा २३ जना संक्रमित देखिएपछि संक्रमण फैलिनुको कारण खोज्न छुट्टाछुट्टै विज्ञहरुको टोली नेपालगन्ज आइपुगेको छ । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोली त्यसका लागि नेपालगन्ज आइपुगेको छ । टोली आवश्यकता अनुसार फिल्डमा समेत जानेछ ।
एउटै टोलमा २२ जना सहित २३ जनामा कोरोना भाईरस कोभिड–१९ को सङ्क्रमण भेटिएपछि टोली नेपालगन्ज आइपुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पसर्न नरेशमान श्रेष्ठले जानकारी दिएका छन् । ‘उहाँहरुले हामीलाई टेक्निकल सर्पोट पनि गर्नुहुनेछ’, उनले भने, ‘सङ्क्रमण रोकथाम र नियन्त्रणमा टोलीले सपोर्ट पाउने छौं ।’ विश्व स्वास्थ्य संगठनको टोलीले क्वालिटि मेन्टेनमा पनि आवश्यक सहयोग गर्नेछ ।
नेपालगन्जमा समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम देखिएको छ । कोरोना भाइरसको संक्रमणबाट जोगाउन लकडाउन गरिएको ३८ औं दिन शुक्रबार नेपालगन्जमा संक्रमण देखिएको थियो । नेपालगन्ज ८ स्थित जोलाहनपुरवास्थित अन्सारी मस्जिदका मोअज्जीन (नमाज पठाउने व्यक्ति) मा संक्रमण पुष्टि भएपछि पुरै टोल सिल गरेर ९० स्वाब संकलन गरिएको थियो ।
उक्त ९० स्वाब परिक्षण थप २२ जनामा कोरोना भेटिएको हो । संक्रमण पुष्टि भएकामा सबैभन्दा कम ७ बर्षकी बालिकादेखि ६० बर्षका वृद्धसम्म छन् । यद्यपि, एकाघरका उनको परिवारमा भने कोरोना पोजेटिभ भेटिएको छैन । ‘त्यसैले कसरी, को बाट, क–कसलाई सर्यो भनेर हामीले जाँचबुझ गरिरहेका छौं’, स्वास्थ्य कार्यालय नेपालगन्जका फोकल पर्सन नरेश श्रेष्ठले भने ।
बाँकेमा कन्ट्याक्ट टे«सिङ्ग गरी पुनः स्वाब संकलन सुरु
बाँकेमा दोस्रो चरणमा फेला परेका १५ जनाको कन्ट्याक्ट टे«सिङ्ग गरी स्वाब संकलन सुरु भएको छ । मंगलबार साँझ स्वाब संकलन सुरु गरेको स्वास्थ्य कार्यालय नेपालगन्जका जनस्वास्थ्य अधिकृत अंगद शाहीले जानकारी दिएका छन् । ‘महेन्द्र पार्क नजिक करिब ५६ जनाको स्वाब संकलन गरिएको’, जनस्वास्थ्य अधिकृत शाहीले भने ।’ ७१ जनाको स्वाब लिन गएको टोलीले बाँकी स्वाब आज बुधबार लिने भएको छ ।
तेस्रो चरणमा भेटिएका सात जनाको कन्ट्याक्ट टे«सिङ्गका लागि आज बुधबार संक्रमितसँग कुरा गरिने भएको छ । ‘प्रत्येक संक्रमित सँग आधा घण्टा इन्टरभ्यू गर्नुपर्छ’, शाहीले भने, ‘भोलि उनीहरुको इन्टरभ्यू सकेर लिष्ट तयार गरी स्बाब संकलनको तयारी अघि बढाइने छ ।’ आज ७ बजेदेखि १ बजेसम्म कन्ट्याक्ट टे«सिङ्गको काम सक्ने सम्भावना रहेको उनले बताए ।
खजुरा आइसोलेसन अस्पतालमा ४९ वटा बेड हो । ‘२३ जनालाई खजुरामा राखिसकिएको छ, अब २ जनामात्र राख्न सकिने अवस्था छ’, जनस्वास्थ्य अधिकृत शाहीले भने, ‘त्यसैले थप बेडहरुको पूर्वतयारी आवश्यक रहेको छ ।’ खजुरामा ४९ बेड भनेपनि कोरोनाका बिरामीले प्रयोगका लागि २५ बेड मात्रै रहेका छन् । उनीहरुको व्यवस्थापनका लागि खटिने कर्मचारी पनि सोही ठाउँमा बस्नुपर्ने भएकाले पनि बिरामीका लागि बेड संख्या कम हुन लागेको हो ।
प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले समेत बाँकेमा आएर कोरोनाका लागि बाँकेमा रहेको तयारी, पूर्वाधारहरु, स्वास्थ्य सामाग्री लगायतका बारेमा जानकारी लिएका थिए । मन्त्री बरालले स्थानीय तह, प्रशासन, स्वास्थ्य कार्यालय, भेरी अस्पताल, खजुरा कोरोना अस्पतालका प्रतिनिधि सँग छलफल गरेका थिए ।
बाँकेमा कोरोनाका बिरामी राख्नका लागि ६ वटा अस्पताल व्यवस्थापन गरिएको छ । जसमा कोभिडका लागि १ सय २६, आइसियु बेड संख्या ५३, भेन्टिलेटरको संख्या २१ रहेको जनस्वास्थ्य कार्यालय नेपालगन्जका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । भेरी अस्पताल नेपालगन्ज, नेपालगन्ज र कोहलपुर मेडिकल कलेज, साइनिङ्ग अस्पताल नेपालगन्ज र डेन्टल अस्पताल नेपालगन्जमा कोभिडका बिरामीका लागि बेडको व्यवस्था गरिएको छ ।
अब खजुरामा २ जना बिरामी राखेपछि थप बिरामीका लागि कोहलपुर वा नेपालगन्ज मेडिकल कलेजमा राख्नुपर्ने जनस्वास्थ्य अधिकृत शाहीले बताए । ‘नर्मल केस र क्रिटिकललाई छुट्याएर एक÷दुई दिनमै व्यवस्थापन गर्नका लागि छलफल भैरहेको छ’, प्रदेश ५ सरकारले पनि त्यसबारे थप निर्देशन र सहजीकरण गर्ने जानकारी दिंदै उनले भने ।








