नेगेटिभ नतिजा आउने घर फर्किए
नेपालगन्जमा एक जना कोरोना संक्रमित पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङ गर्दै जाँच पडतालका क्रममा एउटै टोलका २३ जनालाई संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट टे«सिङका क्रममा भएको स्वाब संकलनको मंगलबार आएको पछिल्लो ४५ जनाको नतिजामा ७ जनालाई संक्रमण पुष्टि भएको हो । सबैलाई आइसोलेसन अस्पतालमा भर्ना गरिएको अस्पताल प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।
नयाँ संक्रमण पुष्टि हुनेमा एकै परिवारका सदस्य समेत छन् । त्यसअघि ७ बर्षीया बालिकामा संक्रमण पुष्टि भएकोमा उनकी आमाको नतिजा पनि पोजेटिभ आएको सम्बद्ध स्रोतले जनाएको छ । आमा पनि पोजेटिभ भएपछि बाबु, आमा र छोरीलाई एउटै क्याबिनमा राखिएको छ । ‘परिवारका तीनै जना सदस्यलाई अस्पतालले एउटै क्याबिनमा बन्दोबस्त मिलाएको रहेछ’, मुस्लिम आयोगद्वारा गठित जिल्ला स्थित अनुगमन समितिका सदस्य शक्ति कुमार बंशकार मो. अब्दुल कविले आइसोलेसन अस्पतालको अनुगमन पछि दैनिक नेपालगन्जसँग भने, ‘अस्पतालमा रहेका सबै बिरामीहरुको अवस्थामा सामान्य छ, कुनै किसिमको गुनासो अनुगमन समक्ष व्यक्त भएन ।’ अब्दुल कविले अस्पतालको व्यवस्था आफुले राम्रो पाएको बताए ।
यसैबीच, नेपालगन्जमा देखिएका २३ जना कोरोना संक्रमितलाई सोही अस्पतालमा भर्ना गरिएपछि खजुरामा केहीले संक्रमण जोखिमका बारेमा प्रश्न उठाएपछि खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको ध्यानार्कषण भएको छ । कक्षपतिले कोरोना विशेष आइसोलेसन अस्पताल खजुरामा खानपान बसाई, सरसफाईको ब्यबस्थापन ब्यबस्थित भएको बताएका छन् । अस्पतालमा पोजेटिभ केस आउँदैमा त्रसित नहुन उनले स्थानीयसँग आग्रह गरेका छन् ।
अध्यक्ष कक्षपतिले सामाजिक सञ्जालमा अनाधिकृत खबरहरु पनि पोस्ट नगर्न नगराउन अनुरोध गर्दै लकडाउनलाई पूर्ण रुपमा पालन गर्दै कोभिड १९ विरुद्धको लडाइमा एकमना एकताका साथ अगाडि बढन आग्रह गरेका छन् ।
‘क्लोज कन्ट्याक्ट नभएसम्म कोरोना भाइरस नसर्ने हुँदा यसखालका भ्रममा नपर्नु हुन हामीले सार्वजनिक आग्रह गर्दै आएका छौं’, आइसोलेसन अस्पतालका प्रमुख डा. प्रकाश थापाले दैनिक नेपालगन्जसँग भने, ‘समुदायलाई सुसूचित गर्दै अगाडि बढ्न जरुरी रहेको छ ।’
महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा राखिएका ११ जनालाई मंगलबार घर फर्काइएको छ । ‘स्वाब परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइनमा रहेका घर फर्काएका छौं’, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरले भनिन् ।
मुस्लिम आयोगले गठन गरेको जिल्ला स्तरीय अनुगमन समितिले यसअघि सरोकारवालाहरुसँग भेटघाट गरी नेगेटिभ आएकाहरुले रोजा बस्ने हुँदा घरमै सेल्फ क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएको थियो । ‘चिकित्सकहरुको सुझावका आधारमा सबै जना घरमै क्वारेन्टाइनमा बस्नुहुनेछ’, अनुगमन समितिका सदस्य शाहिदा शाह वाहिदीले भनिन् ।