धेरैको आशंका र सन्त्रास बीच नेपालगन्जमा कोरोना संक्रमण देखिएको छ । पछिल्ला दिनमा नेपालगन्जमा गरिएको धार्मिक संस्थामा बस्नेहरुको स्वाब टेष्टका क्रममा गरिएका ११ वटा नमूना संकलन मध्ये १ जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । यसबारे आधिकारिक रुपमा कुनै पनि निकायले औपचारिक जानकारी गराएका छैनन् ।
‘स्वास्थ्य मन्त्रालयले आधिकारिक रुपमा यसबारे जानकारी गराउने छ’, स्वास्थ्य स्रोतले भन्यो, ‘सबै कुराको जानकारी स्वास्थ्य मन्त्रालयले गर्ने पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिनेछ ।’
नेपालगन्जको एउटा मस्जिदका मोअज्जीनको Oropharyangeal swab Or nasopharyngeal swab पोजेटिभ रिपोर्ट आएपछि उनलाई खजुरा स्थित आइसोलेसन अस्पतालमा भर्ना गरिएको छ । ६० बर्षका उनी विदेश गएको वा आएको भन्ने कुनै यात्रा विवरणको खोजी भैरहेको छ । सम्बद्ध स्रोतका अनुसार, उनीसँगै एउटा अर्को मस्जिदका धर्मगुरुलाई पनि निगरानीमा राखिएको छ । उनको स्वाब पनि शंकास्पद देखिएपछि पुनः परीक्षण भैरहेको स्रोतको भनाइ छ ।
‘यस्ता संवेदनशिल कुराहरुको घोषणा परिपक्व भएपछि मात्रै गरिनुपर्छ’, एक स्वास्थ्य अधिकारीले नेपालगन्जन्यूजसँग भने, ‘सूचना परिपक्व नहुँदै सार्वजनिक गरिंदा जोखिम झन् बढ्छ ।’ उनका अनुसार, परीक्षणका लागि स्वाब निकालिएका व्यक्ति भाग्न सक्ने जोखिम हुन्छ भने अर्कोतिर आशंकामा हटअट्याक समेत हुनसक्ने सम्भावना हुन्छ । त्यसैले सूचनालाई परिपक्व बनाएर मात्रै सार्वजनिक गर्ने गरिएको हो ।

परीक्षणको नतिजालाई लिएर विभिन्न अड्कलबाजी बाहिर आएपनि सम्बन्धित अधिकारीहरुले यसबारे कुनै धारणा दिन चाहिरहेका छैनन्, नेपालगन्जका उपप्रमुख उमा थापामगरले आफ्नो ट्वीट मार्फत नेपालगन्जमा कोरोना भित्रिएको संकेत गर्दै पोष्ट गरेपछि काँग्रेस युवा नेता सुधांसु कोइरालाले नेपालगन्जमा दु्ई जनामा कोरोना संक्रमण भएको लगभग पुष्टि भन्दै फेसबुक स्टाटस पोष्ट गरेका छन् । उनले कडा कफ्र्युको माग समेत गरेका छन् ।

‘यसबारे सम्बन्धित निकायले आधिकारिक धारणा सार्वजनिक गर्छ’, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले नेपालगन्जन्युजसँग भने, ‘हामी बैठकमै रहेकाले थप कुरा त्यसपछि थाहा हुन्छ ।’
मस्जिदमा बसेका मोअज्जीनलाई कोरोना पुष्टि भएपछि शुक्रबार सुरक्षा बैठक बसेको छ । बैठकले नाका शिल गर्ने, चेकजाँचलाई तिव्र पार्ने लगायतका योजनामा छलफल गरिरहेको बताइएको छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा कोरोना संक्रमणको हल्ला सुनेको र पुष्टिका लागि सोधखोज गरिरहेको जानकारी दिए । ‘यसबारे आधिकारिक बुझ्दैछु, पुष्टि भएपछि सबै कुरा सार्वजनिक गर्नेछौं’, डा. देवकोटाले नेपालगन्जन्यूजडटकमसँग भने ।








