कोरोना संक्रमण फैलिएसंगै करोडौको संख्यामा श्रमिकहरु बेरोजगार भएका छन् भने आउने दिनमा विश्वमै आर्थिक मन्दी हुने निश्चित छ । उत्पादन ठप्प छ । उत्पादनमा संलग्न हुनेहरु कोठामा थुनिएका छन् । यस्तो बेलामा मे १ कसरी मनाउने भन्ने प्रश्न श्रमिक र श्रमिकका अगुवाहरुमा मन्थन शुरुवात भएको छ । मैले केही श्रमिक अगुवाहरु र श्रम गरेर खाई रहेका व्यक्तिहरुसंग फोनमा छलफल गरें । विश्व संकटमा परि रहेको बेला यो कुरा कति उचित होला नहोला मलाई नेपालका श्रमजिवीहरुको बारेमा केही कुरा बाहिर ल्याउन मन लाग्यो । म पनि मानसिक श्रम गरेर खाने मान्छे हुँ । यति बेला मेरो पनि गोजीमा दाम छैन । अब सोचौ दैनिक ज्याला मजदुरी गरेर खानेहरुको के हाल खबर होला ?


मैले उपलब्ध श्रमिक नेताहरुसंग फोनबाट छलफल गरें । अहिले श्रमिकहरुको पक्षमा हामी के गर्दैछौं ? केही श्रमिक अगुवाहरु राहत बाँड्ने कार्यमा जुटिरहेको र स्थानीय सरकारसंग समन्वय गर्दै गरेको पाए । केही अगुवाहरुले स्थानिय सरकारले श्रमिकहरुलाई राहत बाँड्नका लागि अपील गरेका कुरा पनि गरे ।

फोनबाट श्रमिक अगुवासंग भएका केही महत्वपूर्ण कुरामा जिफन्ट बरिष्ठ युनियनकर्मी संजालका सदस्य केशवराज गिरी उहाँ पेन्टर हुनु हुन्छ । उहाँसंग मैले सोधे के खबर छ दाई ? उहाँले भन्नु भयो म पेन्टर हुँ सबै काम बन्द छ । कसरी घर चलाउने हो भन्ने समस्या छ, छोराहरु पनि काम गर्थे उनिहरु पनि बेरोजगार छन् । म नियमित हृदय रोगको औषधि खाने मान्छ मलाई ठुलो संकट परेको छ । यस्तो अवस्थामा औपचारिक क्षेत्रका श्रमिकहरुको ज्याला कटौति नगरियोस् । हामी यस्तो संकटमा छौं भने दैनिकी काम गरेर खानेको पहिचान गरेर स्थानीय सरकारले सहयोग राहत बाँड्नु पर्छ । यसै गरि अर्का मजदुर अगुवा बसन्त मल्लसंग कुरा भयो कुरा गर्दा उहाँ राहत बाँडदै हुनु हुन्थ्यो । म ठीकै छु म अहिले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा राहत बाँड्दै छु, तनावपुर्ण जीवन छ, मजदुरले खाद्यान्न पाएका छैनन्, मजदुरले फागुन र चैत महिनाको तलब पाएका छैनन्, मल्लले निरन्तर आफ्ना कुरा राख्नुभयो, म वडा कार्यालय, नगरपालिका, प्रतिष्ठानहरुमा समन्वय गर्दै हिडेको छु ।

नेपाल सरकारले चैत्र १६ गते मन्त्री परिषद्को बैठकले निर्णय गरे अनुसार, चैत्र महिनाको तलब सुविधा उपलब्ध गराउनु पर्ने हो केहीले लागु गरेका छन् केहीमा लागु भएको छैन । धेरै मानिसहरु बेरोजगार हँुदैं छन् राज्यले भौतिक निर्माणका काम भन्दा मान्छे बचाउने काम गर्नु पर्दछ । यो काम योजना बनाएर सरकारले गर्नु पर्दछ, मल्लले भन्नुभयो ।

त्यसपछि मैले जिफन्ट बाँके जिल्ला इन्चार्ज टिए रावतसँग कुरा गरें, उहाँले भन्नुभयो, हामी बाँके जिल्लामा भएका सबै मजदुर युनियन मिलेर स्थानीय निकायसंग हार्दिक अपिल गरेका छौ कि डेरामा बसेका श्रमिकहरु जो अहिले बेरोजगार छन् उनिहरुलाई राहत वितरण गर्नुहोस् । यसै गरी हामी मजदुर युनियनका अगुवाहरुमा समन्वय भइरहेको छ को कहाँ कस्तो अवस्था छ । ज्याला मजदुर गरेर खानेहरुलाई बाँके जिल्लाका आठवटै स्थानीय सरकारले प्राथमिकतामा पारेर राहत वितरण गर्नु पर्छ भनेका छौ उहाँहरुले गरिरहनु भएको छ । कही कतै छुटेमा पनि पालिकाहरुका निवेदन दिई राहत लिन सकिन्छ, इन्चार्ज रावतले भन्नुभयो ।

जिफन्टकै बाँके बर्दिया संयोजक पूर्ण केसीले शुरुमै मे डेको शुभकामना दिनुभयो । मेरो दैनिक जीवन कस्टकर छ संकटपूर्ण छ, मजदूर नेता केसीको कुरा सुन्दै दुखी भएँ, अ‍ैचो पैचो गरेर गुजर बसर चलेको छ । उहाँले भन्नुभयो, दैनिक काम गरेर खानेहरुको अवस्था दयनिय छ । यो पटकको मई दिवश घरमै बसेर मनाउने निर्णय भएको छ । दिउँसो ११ बजे नेपाल टेलिभिजनबाट जिफन्टको अध्यक्षको सम्बोधन आउँदै छ । अब धेरै मान्छेहरु बेरोजगार हुनेछन नेपाल सरकारले आफ्नै देशमा रोजगारी दिने काम गर्नु पर्दछ कृषि क्षेत्रमा योजना बनाएर सरकार लाग्नु पर्दछ ।

अन्तमा यस पटकको मइ दिवश घरमै बसेर परिवारसंगै मनाउने निर्णय भएको छ । मे १ का दिन विहान ११ बजे नेपाल टेलिभिजनमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको सम्बोधन आउने छ । श्रमिकहरुको पहिचान गरी उनीहरुलाई प्राथमिकतासाथ राहत सहयोग स्थानीय सरकारले गर्नु पर्दछ । नेपाल सरकारको निर्णय अनुसार औपचारिक क्षेत्रका श्रमिकहरुका चैत्र महिनाको तलब र लक डाउन अवधिभरको रकम विदामा कट्टा गरी रोजगारदाताले उपलब्ध गराउनु पर्ने छ । श्रमिक र श्रमिक पक्षधरहरुलाई मे १ को हार्दिक शुभकामना छ ।( उपाध्याय जिफन्टका वरिष्ठ नेता हुन्)

प्रतिक्रिया

प्रतिक्रिया