लकडाउनमा दिवस

दिपेश आचार्य

आज मे १, अर्थात् मजदुर दिवस । आजको दिन मजदुरहरुका हकहितका सवालमा विभिन्न कार्यक्रमहरु गरेर मनाउने गरिन्छ । तर, यसबर्ष कोरोना भाइरसको जोखिमका कारण भैरहेको लकडाउन कारण मजदुर दिवसको कार्यक्रम प्रभावित भएको छ ।


लकडाउनबाट पीडित छन् मजदुरहरु । धेरै किसिमका मजदुर रहेपनि दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने मजदुर बढी पीडित छ । उद्योग, कलकारखाना ठप्प छन्, बैंक, वित्तिय तथा व्यापार, व्यवसाय चलेका छैनन् । तीनै काम गरेर जीविकोपार्जन गर्ने मजदुर वर्गलाई आर्थिक अभावले पिरोल्न थालेको छ । स्थानीय तहले मजदुरलाई खाद्यान्न सहयोग गरिरहेका छन् । यद्यपि, सबै मजदुरमा राहतको पहुँच रहेको छैन ।


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश नं. ५ का अध्यक्ष हरि कार्कीले लकडाउनले अधिकांस मजदुर घरमै बस्न बाध्य भएको बताउँछन् । ‘अत्यावश्यकीय कार्यमा खटिएका मजदुर बाहेक अरुले लकडाउनको पालना गरी घरमै बस्न बाध्य हुनुहुन्छ’, उनले भने ।

जिफन्ट प्रदेश अध्यक्ष कार्की लकडाउनले दैनिक ज्यालामजदुरी गर्ने मजदुर बढी प्रभावित भएकाले राहतका लागि स्थानीय तहसँग अनुरोध गरेको जानकारी दिए । ‘यद्यपि, पक्षपातको गुनासोहरु आइरहेको छ’, उनले भने, ‘त्यसैले श्रमिकको रेकर्ड राखेर राहत बाँढ्न अनुरोध गरेका छौं ।’

सरकारी क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि राजपत्रमै उल्लेख गरी सबै श्रमिकहरुलाई लकडाउन अबधि भरीको समयलाई सार्वजनिक बिदा मानी सम्पूर्ण तलब भत्ता उपलब्ध गराउने निर्णय भएको उल्लेख गर्दै प्रदेश अध्यक्ष कार्कीले अन्य क्षेत्रका मजदुरले लकडाउन अवधीको तलब पाउनु पर्ने माग रहेको बताए ।

यसबर्ष अन्य बर्षजस्तो औपचारिक कार्यक्रमको आयोजना गर्ने अवस्था नरहेको प्रदेश अध्यक्ष कार्कीले जानकारी दिए । ‘१३१ औं श्रमिक दिवस घरमै बसेर मनाउनु पर्ने अवस्था छ’, उनले भने, ‘दिवसको अवसरमा आज ११ः२० बजे नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल (आइटीयुसी–एनएसी) संयोजक समेत रहेका विनोद श्रेष्ठले नेपाल टेलिभिजन मार्फत श्रमिकका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।’ उनले मजदुर दिवस मनाउनका लागि सामाजिक सञ्जालको प्रयोगको आव्हान पनि गरे ।

त्यस्तै अखिल नेपाल ट्रेड युनिय महासंघ प्रदेश नं. ५ का अध्यक्ष दानबहादुर वलीले कार्यरत र घरमा रहेका मजदुरको पहिचान गरी राहतको प्याकेज सरकारले ल्याउनु पर्ने बताए । ‘त्यसका लागि नजिकको स्थानीय सरकारले जिम्मेवारी लिनुपर्छ’, उनले भने, ‘लकडाउनले मजदुर बेरोजगार भएकाले सरकारले तत्काल राहत घोषणा गर्नुपर्छ ।’

राहात वितरणलाई सहजका लागि युनियनकै केन्द्रीय समितिमा रहेका जय कार्कीको नेतृत्वमा समिति बनाई वडा र नगरसँग पहल गरिरहेको जानकारी समेत अध्यक्ष वलीले जानकारी दिए । मे दिवस राज्यले अपनाएको लकडाउनको नीति अनुसरा पालनागरी घरमै बसेर मे दिवस मनाउने र सामाजिक सञ्जालबाट शुभकामना आदानप्रादा गर्न उनले बताए ।

मजदुर नेता नेपाल टे«ड युनियन काँग्रेस प्रदेश नं. ५ अध्यक्ष मुकुन्द अर्यालका अनुसार, सबै श्रमिक लकडानमा छन् धेरैजसो राहात नपाएर समस्यामा छन्, उचित व्यवस्थापन हुनु पर्ने आवज उठाइराखेका छौं । अति विपन्न श्रमिकहरुका निम्ती काम गरिरहेका उनले जानकारी दिए । ‘राहतका लागि सहजीकरण गरिरहेका छौं’, उनले भने । मे दिवसको अवसरमा आज शुक्रबार विहान ११ बजे इमेलबाट सरकारलाई ज्ञापन पत्र बुझाउले, सबै श्रमिकहरुको घरघरमा साँझ ७ बजे सम्पूर्ण दिप प्रज्जवलन गरी मनाउने उनले बताए ।

पुराना मजदुर नेता पूर्णचन्द्र उपाध्यायले न्यून आयस्रोत भएका मजदुरको पहिचान गरी राहत नदिए भोकै बस्नुपर्ने अवस्था आइसकेको बताए । ‘निष्पक्ष रुपमा मजदुरको विवरण तयार गरी राहत दिनु अहिलेको आवश्यकता हो’, उनले भने । खजुरा गाउँपालिकामा रहेको मजदुर तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको डाटाको आधारमा केही वडामा सहजीकरण गरिरहेको उनले बताए ।

अर्का मजदुर नेता पूर्ण केसी श्रमिकहरुको दैनिकी जीवन कष्टकर रहेको बताउँछन् । राहत पनि मतदाता नामावली हेरेर दिने भएकोले भाडामा बसेर दैनिक काम गरी गुजारा गर्ने मजदुर वर्ग बढी प्रभावित रहेको केसी बताउँछन् । ‘अप्ठ्यारोमा परेका मजदुरलाई जिफन्ट आवद्ध घटक युनियनका नेताहरुलाई सहजिकरण गर्न लगाएको उनी बताउँछन् ।

प्रतिक्रिया

प्रतिक्रिया