स्वास्थ पूर्वाधारमा सरकारी ध्यानः कोरोनाविरुद्ध कसरत

हिमाल गैरे

भेरीमा पीसीआर ल्याब सञ्चालनमा आएपछि धेरैतिर राहतको महसुस गरियो । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको बेला बाँकेको नेपालगन्जमा रहेको भेरीमा प्रदेश ५ कै स्तरीय ल्याब बन्यो । प्रदेश ५ मा रहेका सरकारी र निजी गरी ५३ वटा अस्पतालमध्ये भेरीले स्तरीय ल्याब स्थापना गर्न सफल भएको हो । केन्द्र सरकारले बुटवलमा ल्याब स्थापना गरिदिएपछि प्रदेश सरकारको सहयोगमा नेपालगन्जमा ल्याब स्थापना सम्भव भएको थियो ।
कोरोना कहरपछि देशका स्वास्थ्य संरचनाहरुमा चर्चा चुलिएका छन् । स्वास्थ्यमा लगानी बढेको छ, स्वास्थ्य पूर्वाधारका लागि समेत प्रदेश ५ सरकारले बजेट पठाएको छ ।

भेरी अस्पताल संघीय सरकारको मातहतमा छ । बाँकेको भेरी अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पतालसँगै दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान संघ मातहतमा छन् । प्रदेश मातहतका १३ वटा सरकारी अस्पतालमध्ये बुटवलको लुम्बिनी प्रादेशिक र दाङको राप्ती प्रादेशिक सुविधा सम्पन्न मानिएका अस्पताल हुन् । त्यसबाहेक नेपालगन्जस्थित भेरीनै सुविधायुक्त अस्पताल हो । हामी थप व्यवस्थित र सुविधाजनक बनाउनेमा केन्द्रीत छौं, भेरीका प्रमुख डा. प्रकाश थापा भन्छन् । भेरीमा ६ आइसीयू बेड र ३ भेन्टिलेटरसहित स्त्री तथा प्रसूति, हाडजोर्नी, नसा, नाककानघाँटी, छाला, मनोरोग लगायतका ८–१० प्रकारका विशेषज्ञ सेवा उपलब्ध छन् । विशेषज्ञ जनशक्ति र पर्याप्त पूर्वाधारका लागि निरन्तर प्रयासरत डा. थापा भन्छन्, यतिबेला पनि जटिल प्रकारका शल्यक्रिया गरिरहेका छौं । जटिल शल्यक्रियामा संलग्न भेरीका चिकित्सक डा. ध्रुब शाहले यसबीच ७ वटा यसप्रकारका शल्यक्रिया गरिएको बतानए ।
भेरी बाहेक नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा आइसियु बेड २० र भेन्टिलेटर ४, कोहलपुरमा आइसियु २५ बेड र ६ बेड भेन्टिलेटर उपलब्ध छ । सरकारले कोरोना सन्त्रासपछि प्रदेश ५ मा ३ वटा कोरोना आइसेलेसन अस्पताल स्थापना गरेको छ । प्रदेश ५ का स्वास्थ्य निर्देशक डा. विनोद गिरिका अनुसार, प्रदेश ५ मा ४ वटा कोरोना आइसोलेसन अस्पताल स्थापना गरि सञ्चालनका लागि प्रदेश सरकारले प्रति अस्पताल २ करोडका दरले रकम पनि उपलब्ध गराएको छ ।

त्यसक्रममा बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा आइसियु बेड ८ र भेन्टिलेटर ३ बेड सहित सहित ५० बेडको आइसोलेसन अस्पताल तयार गरिएको छ । भेरी अस्पतालले त्यसको सञ्चालन गर्नेगरि डा. प्रकाश थापाले अस्पतालको कमाण्ड गरेका छन् । डा. थापाका अनुसार, पोजेटिभ केशमात्र जाने उक्त अस्पताल तयारी अवस्थामा छ । डा. थापाले नेपालगन्जभरिका सबै अस्पतालमा यतिबेला अप्ठ्यारो परिहाल्दा उपयोग गर्न सक्ने ६ सय बेड उपलब्ध छन् । भेरीमा आइसियू, भेन्टिलेटर, ल्याब, प्याथोलोजी, रेडियोलोजी लगायत सेवाको उपलब्धता छ ।
भेरीबाहेक प्रदेश ५ का दुई अस्पतालमा मात्रै आइसीयू र भेन्टिलेटर उपलब्ध छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा चार भेन्टिलेटर, ६ बेडको आइसीयू र ८ बेडको एनआइसीयू छन् । दाङको राप्ती अस्पतालमा दुइटा भेन्टिलेटरसहित तीन बेडको एनआइसीयू छन् । कोरोना लागि बनाइएका बुटवल, भैरहवा, दाङ र बाँकेका कोरोना विशेष अस्पतालमा निजी क्षेत्रको सहयोगमा भेन्टिलेटर र आइसीयूको व्यवस्था गरिएको छ ।

कोरोनाविरुद्ध पर्याप्त कसरत

प्रदेश सरकारले कोरोना जोखिम न्यूनीकरण तथा उपचारका लागि पर्याप्त तयारी गरिरहेको जनाएको छ । मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेर बहादुर केसीका अनुसार, चैत पहिलो साता नै मुख्यमन्त्री कै नेतृत्वमा उच्चस्तरीय समिति गठन गरी काम भएका छन् ।

स्वास्थ निर्देशक डा. विनोद गिरिले आइसोलेसन अस्पताल निर्माण, उपकरण तथा जनशक्ति व्यवस्थापन, कोरोना भाइरस परीक्षण लागि ल्याब स्थापनाका काम भइसकेको बताए । बुटवलको धागो कारखानामा ४८ बेडको आइसोलेसन अस्पताल सञ्चालनमा रहेको जानकारी दिंदै निर्देशक डा. गिरिले दैनिक नेपालगन्जसँग भने, १० वटा आइसीयूसहित पाँचवटा भेन्टिलेटर जडान गरिएको छ । भैरहवाको भीम अस्पतालमा ६ बेड आइसीयू, तीनवटा भेन्टिलेटरसहित २० वटा आइसोलेसन बेड छन् । दाङ बेलझुन्डीको आयुर्वेद अस्पताललाई १० बेडको आइसीयूसहित १ सय बेडको आइसोलेसन अस्पताल बनाइएको छ ।


खजुरास्थित क्यान्सर अस्पतालमा १० वटा आइसीयू र पाँच वटा भेन्टिलेटरसहित ५० बेडको कोरोना विशेष अस्पताल बनाइएको छ । निजी र सरकारी गरी १९ अस्पतालमा थप सय वटा आइसोलेसन बेड पनि तयारी अवस्थामा रहेको बताइएको छ ।

पूर्व तयारी सन्तोषजनक, परिक्षण कमः भारतसँगको खुल्ला सीमानाका कारण पनि थप जोखिम मानिएको प्रदेश नं. ५ तुलनात्मक रुपमा कोरोनाको प्रतिकार्यका निम्ती पुर्र्व तयारी सन्तोषजनक रहेको भए पनि परिक्षण भने अत्यन्त न्युन रहेको पाइएको छ ।


१२ जिल्लाका ३ सय ७४ क्वारेन्टाइन स्थानमा ३ हजार ६ सय १३ व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । सातादिन पुगेका सबैलाई गरिने च्म्त् जाँचलाई तिव्रताका साथ अगाडी बढाइएको प्रदेश नं. ५ का सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख डा. उमा शंकर प्रसाद चौधरीले दैनिक नेपालगन्जलाई जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया